ओलीको पछिल्लो कार्ड : अयोध्या र रामको कहानी

– रमेश खड्का

नेपाल यतिबेला कोभिड – १९ को महामारीसँगै वाढी, पहिरो र डुवानको कहरबाट आक्रान्त छ । रोम जलिरहेको बेला त्यहाँका शासक निरोले बाँसुरी बजाएर आनन्द लिइरहे झै प्रधानमन्त्री केपी शर्मा ओली अयोध्या र रामको कहानी सुनाउँदै बसेका छन् । प्रधानमन्त्रीले उनका भक्तहरुलाई रामको कहानी सुनाएर लट्ठायका छन् । उनीहरुलाई लट्ठायएका मात्र छैनन् कसैले उनको विरुद्ध केहि भनिहाले भने त्यस्ता व्यक्तिहरु सँग ती भक्तहरु खरो रुपमा खनिने गरेका छन् । कोरोना महामारीसँगै वाढी, पहिरो र डुवानले जनधनको अपुरणिय क्षति गरिरहेको छ । हजारौं मानिसहरु घरबार बिहिन भई सडकको बास हुनु परेको छ । कोरोनाले भन्दा बाढी पहिरोले धेरै गुना मानिसहरुको अकाल मृत्यु भएको छ, कति वेपत्ता छन् । तर प्रधानमन्त्री ओली असान्दर्भिक र अपुष्ट कथा सुनाएर लोक हसाउने काम गरेका छन् ।
‘काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिर’ भने झै मुलुकले थुप्रै विपत्तिको संकट सामना गरिरहेको बेला पर्साको ‘अयोध्यापुर’मा पुरातात्विक तथ्य पत्ता लगाउन आदेश दिएका छन् । आदेश पालकहरु अब अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ बनाउन कम्मर कसेर लागेका छन् । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने पुरातत्व विभागको तयारी छ । अब सरकार भोक र रोगले सताइरहेका नेपालीको गाँस काटेर केहि रकम त्यता छुट्याउनु पर्ने भएको छ । प्रधानमन्त्री ओलीले भगवान राम भारतीय नभएको र असली अयोध्या विरगञ्जदेखि पश्चिमको गाउँ ठोरीमा पर्ने दावी गरेका छन् । अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्री ले दावी गरेपछि आगामी दिनको लागि पनि टिकट सुरक्षित गर्न त्यस क्षेत्रका गाउँपालिका अध्यक्ष समेत भगवान रामको जन्म यहिँ भएको भन्ने तर्क गर्छन । भोलीका दिनमा प्रधानमन्त्रीका भक्तहरु ‘रामको जन्म नेपाल’ भन्दै सडक तताउन बेरलाउँदैनन् । भारतसँग सम्बन्ध सुधार्नेभन्दा विगार्ने तर्फ प्रमको ध्यान गएको देखिन्छ । प्रधानमन्त्री अहिले राष्ट्रवादको नशामा लट्ठ परेका छन् । उनको राष्ट्रवादको नशा कहिले र कसरी अन्त्य हुने यसै भन्न नसकिने अवस्था छ । भोली कृष्ण जन्माष्टमीको अवसर पारेर भगवान कृष्ण पनि नेपालमै जन्मेका हुन भन्न बेर छैन प्रधानमन्त्रीले ।
उमे्रको जुँगाले नभएर टाँसेको जुँगाले आफू मर्द हुने चेष्टा गरिहेका छन् प्रधानमन्त्री । कि त हस्तीनापुरीको राज कि त चपरीपुरीको बास भनेर कम्मर कसीरहेका छन् हाम्रा प्रधानमन्त्री जिवनको उत्तराद्र्धमा पनि । वग्गीले घोडा तान्ने होइन घोडाले वग्गी तान्ने हो भन्दै म जत्तिको राष्ट्रवादी नेता आए मात्र सत्ता छाड्छु भनीरहेका छन् हाम्रा प्रधानमन्त्री । वैचारिक दिवालीपनले टाट पल्टिइसकेपछि सामन्तवादका शासकहरुले धर्मको बुटी देखाएर तन्त्रको टुना, मुना देखाएर शासन गरेझै गरी विभिन्न शुत्रहरु रचिरहेका छन् हाम्रा प्रधानमन्त्री । भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री आज भ्रष्ट मन्त्रीहरुको सारथी लिएर अघि बढेका छन् । महादेवको तिन नेत्र भने झै बालुवाटार, ओली प्रकरण, वाइडवडी काण्ड समेत गाएब गराएर बोलीमा सुशासन र कर्ममा दुशासनको पाराले हिडिरहेका छन् हाम्रा महान क्रान्तिकारी राष्ट्रवादी नेता । कोठा थुनेर कुटेपछि विरालोले पनि झम्टिन्छ भने झै आज हाम्रा युवाहरु अती भो अती भो (इनफ इज इनफ) भन्दै सडकमा उर्लिरहेका छन् । तर हाम्रा प्रधानमन्त्री इनफ इज इनफ कसरी आयो ? न आउनु पथ्र्यो रोक्ता रोक्तै कसको इसारामा आयो भनि आश्चर्यमा परेका छन् । त्यतिमात्र होइन उनीहरुको यथार्थपरक आवेगहरुलाई पानीको फोहोराले निस्तेज पार्न खोजिरहेका छन् । बन्दुकको नाल र बम समेत देखि नडराउने युवालाई किन हाम्रा शासक निर्लज्ज ढंगले खनिन्छन् । यसको हेक्का युवाले राख्नु जरुरी छ ।
प्रधानमन्त्री ओली कहिले अध्यादेश र कहिले अयोध्या देखाएर पार्टी भित्रको दन्किरहेको आगोलाई निष्तेज पार्ने कोशिस गरिरहेका छन् । कम्युनिष्ट पार्टीमा समस्या आएमा सिद्धान्त, नीति, पद्धतिले त्यसलाई हल गर्नु पर्नेमा आज सडकमा युवाहरु ओरालीरहेका छन् हाम्रा प्रधानमन्त्री । गएको जीवन र बगेको पानी फर्केर आउँदैन भने झै गरी उनी कुनै हालतमा सत्ता छोड्ने तयारीमा छ्रैनन् । सत्ता छाड्ने अवस्थामा आइपरेमा पार्टी फुटाएर पनि प्रतिपक्षी दलसँग सहकार्य गरी प्रधानमन्त्री पद कुनै हालतमा नछोड्ने क्रुर योजनामा छन् । लेनिनवाद संगठनात्मक पद्धति अहिले यिनले लाटाको धोती बनाइ दिएका छन् ।
ओली ‘बा’ को मात्र दोष छैन नेकपामा प्रचण्ड लगायत अन्य बरिष्ठ कमरेडहरु पनि दोषी छन् । खोला त¥यो लौरो विर्सियो, युद्ध सकियो सत्तामा पुगियो, अब जो बाँकी मरुन कि बाँचुन झै गरी प्रचण्ड पनि सत्ताको प्यासमा रुमल्लिरहेका छन् । यिनले पनि गरिब, मजदुर, किसान र उत्पीडनका मुद्धाहरु उचालिरहेका छैनन् । उनको ‘रोइलो’ पार्टी एकता हुँदाको आधा आधा समय सत्ताको बाँडफाँडको मात्र कुरा गरिरहेका छन् । उनको माग पनि सत्ता केन्द्रीत भएकोले नै खराब भएपनि कम खराब ओली नै हुन् भनेर पार्टीका कार्यकर्ताहरुले ओलीलाई नै भरमग्दुर साथ दिइरहेका छन् ।
रामको जन्मस्थल सम्बन्धमा प्रधानमन्त्री ओलीको विवादित अभिव्यक्ति दिएपछि नेपालका विभिन्न स्थानमा विरोध हुँदै आइरहेको छ । उनले दिएको अभिव्यक्ति हिन्दु संस्कृति माथिको आक्रमण भएको भन्दै जनकपुर धाममा शनिबार बृहत प्रदर्शन भएको छ । ओलीका अभिव्यक्तिले हिन्दु धर्मावलम्बीहरुको आस्थासँग खेलावाड गरेको भन्दै विभिन्न हिन्दु संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेका हुन् । ¥यालीमा ‘हिन्दु राष्ट्र कायम गर’, ‘अयोध्या जनकपुरधाम सम्बन्ध विर्गान पाइँदैन’, ‘धर्म निरपेक्षता मुर्दावाद’, ‘धर्म र आस्था माथिको राजनीति बन्द गर’, ‘हिन्दुतत्व नै राष्ट्रियता हो’, ‘तथ्यहीन विवाद बन्द गर’ ‘केप ीओली मुर्दावाद’, ‘गलत अभिव्यक्ति फिर्ता गर’ जस्ता नारा लगाइएको थियो । प्रधानमन्त्रीको अभिव्यक्ति ‘धार्मिक अतीवाद’ हो । यस्ता अतिवादले न मुलुक समृद्ध हुन्छ न त देशमा शान्ति कायम हुन्छ ।
अन्त्यमा, राम कहाँ जन्मेका हुन् भनेर विवाद गर्नुभन्दा पनि रामले दिएका आदर्शका मार्गहरुको अनुशरण गर्नु राम्रो कुरो हो । रामायण ग्रन्थमा उल्लेख गरिएको राम्रो कुराहरुको अनुशरण गरेर शासन सत्ता सञ्चालन गर्नुको साटो रामको जन्मभूमि नेपाल हो भनेर भारतसँग निहु खोज्नु ब्यर्थको कुरा हो । नेपाली जनताको धार्मिक आस्था र मनोविज्ञानमा खेली सत्ता लम्ब्याउने हतियारको रुपमा प्रयोग गर्नु ओली प्रधानमन्त्रीलाई पटक्कै सुहाउँदैन । जनताहरुले पनि शासकहरुले बोले भन्दैमा नराम्रा कुराको पछि लाग्नु हुँदैन ।

प्रकासित मिति २०७७–४–४

फेसबुकबाट तपाईको प्रतिक्रिया