कहाँ खर्च हुन्छ रेमिट्यान्स ?

काठमाडौं ६ श्रावण

विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले हालै मात्र गरेको अध्ययनले यस्तो देखाएको हो। यसअघिका अध्ययनहरूले रेमिट्यान्सको ज्यादै ठूलो हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको भनेका थिए।

गत वर्ष सार्वजनिक भएको तेस्रो घरपरिवार सर्वेक्षण नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भे ले पनि विप्रेषणको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको थियो। नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न र २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।

खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ। राष्ट्र बैंकका अनुसार अध्ययन क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया