कांग्रेसका चर्चित नेता बरियतामा कसको स्थान कहाँ ?

काठमाडाैं २१ कार्तिक

कांग्रेसका पाँच नेताले मर्यादाक्रम नमिलेको भन्दै १३औँ महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर गरेका छैनन् ।

आफूहरूको ‘सिनियारिटी’अनुसार मर्यादाक्रम नमिलेको भन्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले उपस्थितिपुस्तिकामा हस्ताक्षर नगरेका हुन् ।

लेखक पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् । चार देउवा पक्षका, एक पौडेल पक्षका पाँच नेतामध्ये १३औँ महाधिवेशनबाट श्रेष्ठ, गुरुङ, महत र लेखक खुला २५ बाट निर्वाचित भएका थिए । महामन्त्रीमा पराजित भएपछि केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।

पाँच नेतामध्ये चारजना सभापति देउवा पक्ष र महत एक मात्र पौडेल पक्षीय नेता हुन् । चैतको पहिलो साता बसेको केन्द्रीय समिति बैठकअघि बनाइएको मर्यादाक्रममा सिनियर नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको विषयमा कुनै विवाद छैन । तर, त्यसपछि को रहने भन्ने विषयमा विवाद छ । अहिलेको क्रममा पूर्वउपसभापति प्रकाशमान सिंह पाचौँ नम्बरमा छन् ।

पछिल्लो महाधिवेशनमा सभापतिमा पराजित कृष्ण सिटौला छैटौँ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ सातौँ र देउवाका विश्वासपात्र मानिने पूर्वमहामन्त्री विमलेन्द्र निधि आठौँ नम्बरमा छन् । पूर्वमहामन्त्री कुलबहादुर गुरुङ नवौँ, उपसभापतिको दाबी गरिरहेका खुमबहादुर खड्का १०औँ, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव ११औँ र पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का १२औँ नम्बरमा छन् । मर्यादाक्रमप्रति असन्तुष्टि जनाउने पूर्वसहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी क्रमशः १३ र १४औँ नम्बरमा छन् ।

महाधिवेशनमा महामन्त्री पदमा पराजित चर्चित युवा नेता गगन थापा ४८औँ नम्बरमा छन् । महाधिवेशनमा लोकप्रिय मत ल्याएका युवा नेता प्रदीप पौडेल ५७औँ र रमेश लेखक पुछारबाट पाचौँ नम्बर(६७)मा छन् । त्यस्तै, शेखर कोइराला ३२औँ र विश्वप्रकाश शर्मा ६५औँ नम्बरमा छन् ।

अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया