काठमाडौंलाई अव्यवस्थितबाट व्यवस्थित तर्फ लैजान्छौंः उपप्रधानमन्त्री

काठमाडौं ११ फागुन, २०८१

लथालिङ्ग देखिने देशको राजधानी काठमडौंलाई व्यवस्थित बनाउने कामको थालनी गरिने उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेको छन् । अव्यवस्थित निकै रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब ढिला नगरी काम सुरु गर्ने पनि मन्त्री सिंहले बताएका छन् ।

आइतबार काठमाडौं उपत्यका भौतिक विकास समितिको सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि तत्काल काम सुरु गर्नुपर्ने भन्दै यसतर्फ ध्यान दिने बताएका हुन् ।

खेतीका लागि उपयुक्त माटो यहाँ रहेको र कुनै बेला उर्बर कृषि भूमि समेत रहेको भन्दै नचाहँदा नचाहँदै पनि अहिले अव्यवस्थित र कुरुप शहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरुलाई सच्याउन समय लागे पनि काम भने तत्काल अघि बढाउने बताए ।

“तरकारी तथा धान उब्जनी हुने खेतबारीहरूमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित सहरका रुपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित शहरका रुपमा लैजानका लागि हामीले कुनै न कुनै बिन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब ढिला नगरी अघि बढन् पर्छ” उनले भने ।

उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरहरुलाई व्यवस्थित गर्नका लागि शहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरुले गति पाएको सिंहको भनाई थियो ।

‘सहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दो कान्छो मन्त्रालयकै रुपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा शहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ । यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरुले पनि कोशिस गर्नुभएको हो । परिस्थिती मिलेन होला । हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर शहरी विकास नीति पास भएको छ,’ उनले भने ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया