कार्यसम्पादन मूल्याङ्कनमा तातोपानी गाउँपालिका प्रथम

काठमाण्डौ २ फागुन २००८१

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनअनुसार जुम्लाको तातोपानी गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिकाले ६७ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।

हिमा गाउँपालिकाले ६१ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी दोस्रो, सिञ्जा गाउँपालिकाले ५८ दशमलव एक प्रतिशत, कनकासुन्दरीले ५६ दशमलव नौ प्रतिशत, पातारासी गाउँपालिकाले ५२ दशमलव छ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९ दशमलव सात प्रतिशत अङ्क पाएका छन् ।

यस्तै, चन्दननाथ नगरपालिकाले ५६ दशमलव आठ प्रतिशत, सुनछहरी गाउँपालिकाले ४५ दशमलव आठ प्रतिशत र सबैभन्दा कमजोर तिला गाउँपालिकाले ३८ दशमलव दुई प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान समयमा गाउँसभामा पेस गरे/नगरेकोदेखि समयमा बजेट पास भए/नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकाङ्कमा मूल्याङ्कन हुने गर्छ ।

“सुशासन, समन्वय, पूर्वाधार, न्यायिक कुरा पनि हुन्छन्”, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँ भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि हुन्छ । नीति, नियम, कानुनबमोजिम काम भए/नभएको, बेजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।” गाउँपालिकाले शिक्षामा लगानी गरेको छ, स्वास्थ्यमा त्यहीअनुसारकै लगानी गरिरहेका छौँ । शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा पनि पालिकाले नमूना काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईँले बताउनुभयो ।

वित्त आयोगले आव २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया