‘क्यान इन्फोटेक २०२३’ सुरु
काठमाडौं २५ माघ २०७९
मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा सुरु भएको यो क्यान इन्फोटेकको २८ औं संस्करण हो। भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ६ दिनसम्म सञ्चालन हुने भएको छ।
मोबाइल एपमार्फत पानसमा बत्ति बालेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले २८ औं संस्करणको क्यान इन्फोटेक औपचारिक रूपमा उद्घाटन गरिएको थियो।
मन्त्री शर्माले प्रविधिको प्रयोगले सेवा लिन र दिन सहज भएको बताइन्। ‘सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ’ मन्त्री शर्माले भनिन्, ‘ सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्नेछ।’
उद्घाटनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्वार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याए। नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउने बताए। साथै उनले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य गर्न पनि माग गरे।
क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको बताए। इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया