क्यानडा र चीनले अमेरिकामाथि लगाए अतिरिक्त महसुल

काठमाडौ २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लाग्नेछ, भने चीनबाट आउने सामानमा पनि नयाँ १० प्रतिशत कर शुरु भएको छ ।
अमेरिकी कदमको प्रतिकारमा क्यानडाले अमेरिकाबाट आउने १ खर्ब ५५ अर्ब मूल्य बराबरको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको हो । चीनले पनि अमेरिकाबाट आउने केही कृषिजन्य उत्पादनमा १० देखि १५ प्रतिशतको अतिरिक्त कर लगाउने बताएको छ ।
चीनले उड्डयन, रक्षा र प्रविधि क्षेत्रमा रहेका कयौँ अमेरिकी कम्पनीलाई निशाना बनाउँदै यिनीहरूलाई विश्वास गर्न नसकिने कम्पनीको सूचिमा हाली यिनीहरूमाथि निर्यात प्रतिबन्ध लगाएको छ ।
मेक्सिकोले पनि अतिरिक्त महसुलको प्रतिकारमा महसुल घोषणा गर्ने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया