खोटाङ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा

काठमाडौँ २५ साउन
खोटाङ- खोटाङको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन्। मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा परेका हुन्। वर्षाका कारण पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तीसुँढे भिरको ठूलो ढुङ्गासहितको ढिस्को जुनसुकै बेला बस्तीमा खस्ने खतरा बढेकाले स्थानीय त्रासमा बस्न बाध्य बनेका छन्। विसं १९९० सालको भूकम्पले एक फुट फाटेको भिर अहिले चार मिटरभन्दा बढी फाटिसकेकाले गाउँमा पहिरो खस्ने त्रास बढेको हो।
बर्सेनि फाट्दै गएको भिर वर्षायाममा खस्ने सम्भावना बढी भएकाले दम्दीका स्थानीय वर्षा सुरु भएसँगै ढुक्कले निदाउन सकेका छैनन्। वर्षा सुरु भएपछि कतिपय स्थानीय घर छाडेर आफन्तकामा राति बास बसेर बिहान घर फर्कने गरेका स्थानीय धनप्रसाद गिरीले जानकारी दिए।
सदरमुकाम दिक्तेलबाट करिब पाँच कोश उत्तरमा पर्ने पहिरोबाट मानव बस्तीबाहेक स्थानीय लालकिरण प्रावि समेत जोखिममा परेको छ। २०६९ साउन ८ गते सार्वजनिक गरिएको सङ्कटाभिमुख समुदाय अवस्था अध्ययन प्रतिवेदनमा २०४५ सालमा एक फिट फाटेको भनिएको भिर अहिले चार मिटर फाटेको छ। बर्सेनि भिर फाट्दै गएपछि आफूहरु चिन्तित बनेको पाथेका–७ दम्दीका ७६ वर्षीय वृद्ध दलबहादुर राईले बताए। ‘हामी राम्ररी निदाउन सकेका छैनौँ,’ उनले भने,‘यसप्रति राज्यको ध्यान जान जरुरी छ।’ रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया