‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै


काठमाडौँ, ११ फागुन । प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिएका छन् । मोक्तानका अनुसार गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।
अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिने छन् ।
अली संग सहकार्य गरेका सङ्गीतकार दीपक जङ्गमले कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ सङ्गीतकर्मीको पनि सपना हुने भन्दै उनले यो कार्यक्रम दर्शकझैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

गजलकार अलीले नेपालीमा गाएका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया