चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी

काठमाडौं ०१ चैत्र २०७७।

नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । तर, बीमा समितिले गत फागुनको तेस्रो साता नयाँ पुनर्बीमा कम्पनीको आवश्यकताको विषयमा समिति नै बनाएर अध्ययन अगाडि बढाएको छ । त्यसपछि बजारमा अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको तयारी करीब १ वर्षअघि नै अघि बढाइएको थियो । यसबाहेकका प्रस्तावित पुनर्बीमा कम्पनीहरू खोल्ने प्रक्रिया भने हालै अगाडि बढाइएको हो ।

यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ पुनर्बीमा स्थापना गर्नुपर्नेमा जोड दिँदै आएका थिए । केही योजनाकारले त्यसपछि नै पुनर्बीमा कम्पनी स्थापना प्रक्रिया अगाडि बढाएका थिए ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको आवश्यक प्रक्रिया साकार ल फर्मले आगडि बढाएको छ । उक्त ल फर्मले सम्बद्ध लगानीकर्तालाई कम्पनीको प्रबन्धपत्र, नियमावलीलगायत कागजपत्रको मस्यौदा पठाइसकेको छ । लगानीकर्ताबाट पारित भएर आएपछि यस विषयमा विस्तृत रूपमा खुलाइने उसले बताएको छ ।

प्रुडेन्सियल री इन्स्योरेन्स नामक कम्पनी स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको छ । यसमा विशेषगरी आईएमई र विशाल ग्रूपको लगानी हुने स्रोतले बताएको छ ।

यसैगरी काठमाडौं री इन्स्योरेन्सतर्फ बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईं, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट मुख्य योजनाकार रहेका छन् ।

योजनाकार भट्टराईले काठमाडौं री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताए । कम्पनी स्थापनाका लागि प्रबन्धपत्र, नियमावली बनाउने लगायत कानूनी कागजपत्र तयार भइसकेको जानकारी उनले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया