चिनियाँ सामान बहिष्कारले भारत–चीन दुवैलाई बेफाइदा
नयाँ दिल्ली (भारत) २६ श्रावण ।
केही हप्तायता भारत र चीनबीच सीमाविवाद निकै चर्किरहेको छ । फलतः पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिष्कार गर्ने प्रवृत्ति पनि बढेको छ । तर, यस्तो क्रियाकलाप चीन र भारत दुवैका लागि हानिकार रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । दुई पक्षबीच सीमाविवाद जारी रहँदा भारतका दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था एवं व्यक्तिहरूले चिनियाँ सामानको बहिष्कार गर्न आग्रह गरेका थिए । यस्ता गतिविधिले कुनै राष्ट्रलाई पनि फाइदा नहुने सञ्चार माध्यमहरूले उल्लेख गरेका हुन् । गत जुन १८ मा चीन–भारतको सीमामा रहेको सिक्किम क्षेत्र डोङलाङ (डाकलाम)मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीच तनाव बढेको हो ।
यस विषयलाई लिएर गरिएको बहिष्कारलाई भारतीय दैनिक पत्रिका ‘न्यू इण्डियन डेली’ले ‘आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान’ भनी आलोचना गरेको छ । भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (सामान बहिष्कारको) नीतिले चीनमाथि दबाब पर्छ भन्ने कुरा गलत सोचमात्र भएको र यसले भारतलाई क्षति पुग्ने बताएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको उल्लेख गरेको छ ।
चिनियाँ भन्सार कार्यालयको तथ्याङ्कअनुसार सन् २०१६ मा चीनबाट भारतमा ५८ अर्ब ३२ करोड डलर बराबरको साामान निर्यात भएको थियो । चीनबाट सन् २०१५ मा ५८ अर्ब २५ करोड डलर बराबरको सामान भारत निर्यात भएको थियो । यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ । तर, गतवर्ष भारतबाट चीनतर्फ भने ११ अर्ब ७६ करोड डलर बराबरको सामान निर्यात भएको र उक्त वर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले कमी आएको देखिएको थियो । यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्ब ५६ करोड डलर रहेको तथ्याङ्कले देखाएको छ । भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो । त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी र कच्चा पदार्थ ल्याइन्छन् । रासससिन्हवा
फेसबुकबाट तपाईको प्रतिक्रिया