चीनको आर्थिक वृद्धि २९ वर्षयताकै सुस्त रहने
एजेन्सी १ कात्तिक
चीनको आर्थिक वृद्धि सन् २०१९ मा २९ वर्षयताकै सुस्त रहने अनुमान गरिएको छ । यस वर्ष चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहनसक्ने रोयटर्सद्धारा गरिएको एक सर्वेक्षणले देखाएको हो ।
यसैगरी सन् २०२० मा चीनको आर्थिक वृद्धि केवल ५.९ प्रतिशतले बढ्ने उक्त सर्वेक्षणले देखाएको छ । चिनियाँ अर्थतन्त्र सन् १९९० पछिकै कमजोर गतिमा अघि बढ्नसक्ने अनुमान गरिएको छ ।
अमेरिका–चीनबीचको बढ्दो व्यापार युद्धले चिनीयाँ अर्थतन्त्र उथलपुथल भएको विश्लेषण गरिएको छ ।
८३ विश्लेषकहरुद्धारा गरिएको सर्वेक्षणले तेस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान गरेको छ । दोस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत थियो ।
सन् २०१७ मा ६.८ प्रतिशतले वृद्धि भएको चिनियाँ अर्थतन्त्र २०१८ मा ६.६ प्रतिशतमा सीमित बनेको थियो । पछिल्लो समय चिनीयाँ अर्थतन्त्र सुस्त गतिमा वृद्धि हुदै गएको पाइन्छ ।
चीन १८ अक्टोबरमा आफ्नो तेस्रो त्रैमासको आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारीमा रहेको छ ।
सन् २०२० मा चीनको आर्थिक वृद्धिदर ५.९ प्रतिशतले बढ्ने अनुमान सर्वेक्षणले गरेको छ । योभन्दा पहिले गरिएको सर्वेक्षणमा सन् २०२० मा चीनको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा तल रहने अनुमान थियो ।
लामो समयदेखि अमेरिका र चीनका बीच जारी व्यापार युद्धले दुवै देशलाई नकारात्मक असर पारिरहेको विश्लेषकहरुको भनाई छ । विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका बीचको चर्काे व्यापारिक तनावको अवस्थाले समग्र विश्वको अर्थव्यवस्थामा नै नकारात्मक प्रभाव पारिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया