चीनले विदेशी लगानीमा लगाइएको प्रतिबन्ध खुलायो

पेचिङ (चीन) ४ असार ।
चीनले विदेशी लगानीमाथिका प्रतिबन्ध खुलाएको छ । त्यहाँको संसद्ले बताएअनुसार चीन सरकारले स्वतन्त्र व्यापार क्षेत्रमाथि हुने विदेशी लगानीमाथि लगाइएका २७ ओटा प्रतिबन्ध खुलाएको हो । विदेशी लगानीकर्ताका निमित्त चिनियाँ अर्थतन्त्रलाई फराकिलो बनाउने प्रयासस्वरूप यस्तो कदम चाल्न लागिएको बताइएको छ । पछिल्ला दिनमा धातु तथा लिथियम खानी, इण्टरनेट पहुँच भएका सेवाहरू, क्रेडिट रेटिङ सेवाहरू र उच्च स्तरका थिम पार्कको निर्माणजस्ता क्षेत्रमा अब विदेशी लगानी गर्न पाइने भएको छ । त्यस्तै बैङ्किङ सेवामाथि लगाइएको नियम पनि फुकुवा गरिएको छ ।
विदेशी बैङ्कहरूले चीनको सरकारी ऋणपत्र अण्डरराइटिङ गर्न नपाउने नियमलाई खुलाइएको छ । सन् २०१३ मा चीनले साङ्हाईमा आफ्नो पहिलो स्वतन्त्र व्यापार क्षेत्रको स्थापना गरेको थियो । त्यसयता १० ओटा प्रमुख शहर तथा प्रान्तले यस्तो क्षेत्रको निर्माण गर्ने अनुमति पाएको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया