चौथो न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् सम्पन्न

काठमाडौं २३असार २०८१-

यस बर्षको न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् कार्यक्रम देशभरिबाट छानिएका विभिन्न १२ जना उद्यमशील महिलाहरुलाई सम्मान र पुरस्कार प्रदान गरेर शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

सो अवसरमा “महिलाको व्यावसायिक नेतृत्वलाई सवलीकरण” विषयमा विज्ञहरुवीच प्यानेल छलफल पनि भएको थियो ।

न्यु बिजनेस एजले स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सहयोगमा आयोजित सो कार्यक्रमको पहिलो भागका प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महा प्रसाद अधिकारी थिए ।

कार्यक्रमका अन्य प्रायोजकमा आइएमई लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिंग कर्पोरेशन, डोभ, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालय एयरलाइन्स, कजरिया, एनएलजी इन्स्योरेन्स कम्पनी, ओमोडा ईभी, रिलायबल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक थिए ।

यस्तै, जीवन बीमा पार्टनरको रूपमा आईएमई लाइफ रहेको थियो । त्यस्तै स्पेश फोर के टीभी पार्टनर थियो ।

काठमाडौंको द सोल्टी होटेलमा भएको सो कार्यक्रममा सार्वजनिक तथा नीजि क्षेत्रका ३०० भन्दा बढी विभिन्न उच्चस्तरीय व्यक्तित्वको उपस्थिति थियो ।

व्यावसायिक महिलाहरुमा केन्द्रित यो कार्यक्रम न्यु बिजनेस एजले सन् २०२१ देखि वार्षिक रुपमा गर्दै आएको छ । न्यु बिजनेस एजले सन् २०२१ देखि नै यस्ता उच्चस्तरीय व्यावसायिक इभेन्टहरु गर्दै आएको छ जसमा कन्क्लेभ एन्ड कम्पनी अवार्डस्, स्टार्टअप समिट एन्ड अवार्डस् र विजनेस स्कूल रेटिंग र्यांकिंग एन्ड अवार्डस् वार्षिक रुपमा आयोजना भैरहेका छन् ।

यस बर्षको बिजनेस वुमन समिट एन्ड अवार्डस् कार्यक्रमको तयारीका रुपमा बुटवल र नेपालगन्जमा विद्यमान तथा इच्छुक महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा उदमशीलता तालिम कार्यक्रम पनि गरिएको थियो जसमा २०० भन्दा बढीको सहभागिता थियो ।

शुक्रबार काठमाडौंमा सम्पन्न कार्यक्रम अन्तर्गत “महिलाको व्यावसायिक नेतृत्वलाई सवलीकरण गर्ने” विषयमा विज्ञहरुवीच भएको प्यानेल छलफलमा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव महेश भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ, इम्पाक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणाले व्यवसायिक नेतृत्वमा महिलाहरुको हालको स्थिति र अब गर्नु पर्ने कामका बारेमा आफ्नो विचार राखेका थिए ।

प्यानेल छलफलको सहजीकरण स्टार्टअप डिस्कभरी एशियाकी सह संस्थापक तथा कार्यक्रम प्रमुख समानता थापाले गरेकी थिइन् ।
लाइफटाइम एचिभमेन्ट अवार्ड श्याम वदन श्रेष्ठलाई

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहेको कार्यक्रमको दोस्रो भागमा विभिन्न महिला उद्यमीहरुलाई सम्मान प्रदान गरियो । यस अनुसार नेपाल नटक्राफ्ट सेन्टरकी संस्थापक श्याम वदन श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरसिप बाट सम्मान गरिएको छ ।

त्यस्तै श्री किसान इन्नोभेशन हब की संस्थापक मौसमी श्रेष्ठलाई बेष्ट वुमन आन्त्रप्रेनरको सम्मान दिइएको छ भने इनड्राइभकी निर्देशक रीता पोखरेललाई प्रोफेशनल वुमल अफ एक्सेलेन्सको सम्मान दिइएको छ ।

यसै गरी एडुकेसकी सहसंस्थापक वेदिका मुरारकालाई पायोनियरिंग सोसल आन्त्रप्रेनरका रुपमा तथा फिनटेक कम्पनी एलोइकी सहसंस्थापक सोनिका मानन्धरलाई वुमन इन टेकका रुपमा सम्मान प्रदान गरिएको छ ।

त्यस्तै सातै प्रदेशका एकएक जना उत्कृष्ट महिला उद्यमीहरुलाई पनि इमर्जिंग इन्टरप्राइजिंग वुमन अफ द इयरका रुपमा सम्मान तथा जनही ५१ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।

यसरी सम्मान पाउनेहरुमा ग्रीन माउन्टेन कृषि फर्म डडेलधुराकी सावित्री ओझा, श्रमजीवी मसला उद्योग सुर्खेतकी भूमिसरा टोमाटा, बाँके पोल्ट्री फार्म बाँके की गीता कुमारी कोइरी मौर्य, कर्णाली गार्मेन्ट उद्योग कास्की की गीता नाथ, बेला कासा काठमाडौं की सपना सापकोटा, सुनैना आर्टस् धनुषाकी सुनैना ठाकुर र चन्दन फाइबर उद्योग ताप्लेजुंग की माया गुरुंग रहेका छन् ।

सम्मान पाउने महिलाहरुको छनौट विज्ञहरु सम्मिलित एक स्वतन्त्र निर्णायक मन्डलले गरेको थियो । निर्णायक मन्डलको अध्यक्षमा लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त थिए भने सदस्यहरुमा डा. अजय धिमिरे, वासन्ती प्रधान तथा उर्मिला श्रेष्ठ थिए ।

निर्णायक मन्डलले आफ्नो निर्णय गर्दा नियम कानूनको अनुपालना, अर्थतन्त्रमा योगदान र सामाजिक प्रभाव, उद्यमीको पृष्ठभूमि र सामाजिक प्रतिष्ठा, नवप्रवर्तन र प्रविधिको प्रयोग तथा विभिन्न संस्थाहरुको सिफारिश समेतलाई आधार बनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया