जमेको पानीमा डुबेर १४ वर्षीय किशोरको मृत्यु

काठमाडौँ २१ असार
बर्दिबास -महोत्तरीको पशुपतिनगर–९ मा एक जना किशोरको खाल्डोको पानीमा डुबेर मृत्यु भएको छ। बिजलपुरा–५ स्थित आफ्नो घरबाट तीन किलोमिटर दूरीको अहिले पानी आउन छाडेको पुरानो रातु नदीको बगरमा बनेको ठूलो खाल्डोमा जमेको पानीमा डुबेर मीनबहादुर सुसलिङ्गका १४ वर्षीय छोरा सुनिल भनिने लोकबहादुर सुसलिङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
खाल्डोमा डुबेका सुनिललाई पानीमा तैरिएको देखेपछि गाउँलेको सहयोगमा परिवारजनले बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल पुर्याएका थिए। अस्पतालका चिकित्सकले प्रारम्भिक जाँचमै मृत घोषित गरेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
 अहिले सिरानमा तटबन्ध गरिएकाले बाढी बग्न छाडेको सो बगरमा बालुवा ढुङ्गाको कारोबार गर्नेले ठूलठूला जेसिभी मेसिनले बनाएको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर सुनिलको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया