‘जिवन त एउटा सुन्दर फूल हो’

रामेछाप जिल्लाको मझुवा गाबिसको वडा नं १ मा २०४१ सालमा जन्मिएका दिपक कार्की बिगत १५ बर्षदेखि सामाजिक क्षेत्रमा कार्यरत छन् । सानै देखि सामाजिक कार्यमा रुचि भएका कार्की जनअधिकार सरोकार महासंघ नेपालको केन्द्रिय अध्यक्ष, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रिय महासचिव, एकिकृत समाज विकास नेपालको कार्यकारी निर्देशक, सहयोगी संस्था नेपालको निर्देशक, लायन्स क्लब अफ काठमाडौं ब्रजबाराहि टाउनको अध्यक्ष हुँदै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा संलग्न रहँदै आएका छन् । कामकै सिलसिलामा नेपालको ७० भन्दा बढी जिल्लाका साथै १२ भन्दा बढी देशको भ्रमण उनले गरि सकेका छन् । समसामयीक बिषयको सेरोफेरोमा रहेर बिजनेसपाटीले उनीसँग गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ :- 

सामाजिक क्षेत्रमा कसरी लाग्नु भो ? यसमा लाग्न कसरी उर्जा मिल्यो ?
म आफू दुखमा हुर्किएको मान्छे । बाल्यकाल देखि नै मैले नजिकबाट मान्छेको दुख, अभाव, गरीवि अनि पछौटेपन नियालीरहेथें । म सोच्ने गर्थे समाजमा व्याप्त धनी र गरीब विचको खाडल कसरी पुर्न सकिएला ? विपन्नता, गरीबी, अशिक्षा, अभावलाई कसरी न्यूनिकरण गर्न सकिएला ? यसको लागी मेरो पनि त केहि जिम्मेवारी र दायित्य हुन सक्छ । मैले के योगदान गर्न सक्छु ? म बारम्वार सोच्थें, कल्पना गर्थे । सामाजिक सेवाप्रतिको तिब्र इच्छा, आकांक्षा त छँदै थियो । गाउँले जीवनदेखि शहरसम्म आइपुग्दा थुप्रै संघर्ष गर्नुपर्यो । सामाजिक क्षेत्रमा लाग्ने मैले कुनै माध्यम खोजिरहेको थिए । बिद्यार्थी जीवनमा बिभिन्न संघसंस्थामा संलग्न हुने अवसर जुर्यो । सामाजिक कार्य प्रति यसले थप उर्जा, अनुभव, प्रेरणा र बल पुग्यो । हाल बिभिन्न संघसंस्थाको नेतृत्व गर्ने सौभाग्य प्राप्त भएको छ ।

जिवनलाइ कसरी बुझ्नु भा,छ यहाँले ?

वास्तवमै जिवन एउटा सुन्दर फूल हो । यो फूललाइ कसरी सजाउने, हुर्काउने अनि बढाउने आफैंमा भर पर्छ । तर सोचे जस्तो र कल्पना गरे जस्तो कहाँ सजिलो छ र मान्छेको जीवन ! तापनी हामीले प्रयास गर्ने हो । हाम्रो सकारात्मक सोच र दृष्टिकोण हुनुर्यो । हामीले हिडेको बाटो र चालेका कदम सही हुनुपर्यो । आफ्नो कारणले कसैलाइ दुख, पीडा नहोस् भन्ने भावना हामीमा हुनुपर्छ । जीवन बास्तवमै सुन्दर छ । मान्छेको यो अमूल्य पल यसै खेर नफालौं । बाँचुन्जेल सत्कर्म गरौं । सत्कार्य गरौैं । यसैमा भलो छ ।

सामाजिक क्षेत्रमा झण्डै १५ बर्षदेखि लागीरहनु भएको छ । यस क्षेत्रमा लागिरहँदा सुख दुखका के कस्ता अनुभवहरु छन् ?

स्कुले जिवनदेखि नै रहर थियो । समाजको सेवा गर्छु । यसैमा आफूलाइ समर्पीत गर्छु । यसै अनुरुप प्रयास पनि गरें । २०६० साल तिरको कुरा हो । रहरै रहरमा एउटा संस्था खोलियो । संस्था खोल्दैमा र इच्छाशक्ति हुँदैमा कहाँ समाज सेवा हुन्छ र ? उति बेला न अनुभव, न कुनै स्रोत, न त कतै कुनै निकायसँगको सम्बन्ध ? यस्तै अन्यौल र अभावमा दिन बितिरह्यो । तर हार मानिएन । हरेस खाइएन । संघर्ष चलिरह्यो निरन्तर । प्रयास जारी रह्यो । अभाव र अन्यौलमा दिनहरु बितिरहे । धेरै बर्षको कठोर परिश्रम, मेहनत र लगाव पछि अनुभव बढ्दै गयो । सरकारी निकाय तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सम्बन्ध बिस्तार हुन थाल्यो । समुदायको बिश्वास बढ्दै गयो । यहाँसम्म आइपुग्न थुप्रै संघर्ष, त्याग र योगदान गर्नुपर्यो । आज सबैतिरबाट सहयोग पाइएको छ । बिभिन्न सहयोगी निकायले विश्वास गरेको छ । जसको कारण सहकार्य, साझेदारी र सहयोगी हातहरु निरन्तर पाएको छु । म सँग इमान्दारीता छ । मैले कसैलाइ ढाँट्नु छैन । छल्नु छैन । म गलत काम गर्दिन भन्नेमा दृढ छु । त्यसैले मलाइ गर्व छ । आफूलाइ भाग्यमानी ठान्दछु । समुदायको सेवा र सामाजिक कार्यमा आफूलाइ समर्पण गरी निरन्तर लाग्न पाउँदा खुशि छु । जीवन यसैमा समाहित गर्ने दृढ संकल्प रहेको छ ।

 हाल तपाई संलग्न भएका संस्थाहरुले के कस्ता कार्य गरिरहेका छन् ?

मुलुकका झण्डै ४२ जिल्लामा हामीले काम गरिरहेका छौं । विशेषगरी समुदायको जिविकोपार्जन, उद्यमशिलता र सिप विकास, महिला शसक्तीकरण, जनचेतना, युवा तथा बालबालीकाहरुको क्षमता विकास र जागरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण तथा सरसफाइ, विभिन्न विषयगत अध्ययन, अनुसन्धान, मानवअधिकार सम्बन्धि पैरवी र वकालत, सामुदायिक विकास लगायतको क्षेत्रमा काम भइरहेको छ । नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहकार्यमा यस्ता कार्यक्रमहरु सञ्चालित छन् ।

नेपालमा सञ्चालित गैरसरकारी संस्थाहरुको भूमिकालाइ कसरी बिश्लेषण गर्नुहुन्छ ?
गैरसरकारी संस्था भनेका सरकारका साझेदार हुन् । जहाँ राज्यको उपस्थिती छैन त्यहाँ यस्ता संघसंस्थाको भूमिका महत्वपूर्ण रहने गर्दछ । यस्ता संस्थाहरु मार्फत विकास निर्माणको चरण देखि जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार हुने खालका कामहरु धेरै भएका छन् । शिक्षा र जनचेतनाको लहर बृद्धि भएको छ । मूलुकको आर्थिक सम्बृद्धि र गरीबि न्यूनिकरणमा टेवा पुगेको छ । समाजमा ठूला ठूला सकारात्मक परिवर्तन भएका छन् । लोकतन्त्रको स्थापनामा गैरसरकारी संस्थाहरुको भूमिका अतुलनीय छ । समुदायको शसक्तिकरण र स्वरोजगारका कामहरु प्रशस्त भएका छन् । संघसंस्था मार्फत देशमा ठुला ठुला सकारात्मक परिवर्तन देख्न सकिन्छ । नेपालको सन्दर्भमा यस्ता संघसंस्थाहरुले योगदान अत्यन्तै ठूलो छ ।

कार्यक्रमको सिलसिलामा तपाईसंग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरु पनि छन् । कुन कुन देश पुग्नु भो ? त्यहाँबाट सिक्ने के कस्ता कुराहरु छन् ?
जापान, दक्षिणकोरीया, बङ्गलादेश, श्रीलंका, भुटान, मलेशिया, युयई, चीन, हङकङ, ताइवान र भारत पुगेको छु । विकसित देशहरु देख्दा त अचम्मै लाग्छ । हामी त कहाँ हो कहाँ कतै कुनामा हराइरहेको जस्तो भान हुन्छ । विकास निर्माण, भौतिक पुर्वाधार, आर्थिक सम्पन्नता र आधुनिकताले ति ठाउँहरु भरिपुर्ण छन् । नागरीकहरुका लागि सम्पुर्ण कुराको व्यवस्था राज्यले गरेको छ । त्यहाँको व्यवस्था, सरकारको देश र नागरिक प्रतिको जिम्मेवारी, जनताले गरेको काम प्रतीको मिहिनेत र लगनशिलता, इमान्दारिता र देशप्रतीको बफादारीता सिक्नै पर्ने कुरा हुन् । त्यहाँ विकासको चरण तिब्र छ । राजनीतिक स्थीरता छ । देश हाँक्नेहरु नागरीक र देश प्रति इमान्दार छन् । निती र कानुनको प्रभावकारी कार्यान्वयन भएको छ । खै ? हाम्रा नेताहरु पनि त्यस्ता देश सयर गर्छन । त्यहाँको विकास, सिष्टम सबै देख्छन् तर नेपाल छिरे पछि सबै बिर्सन्छन् क्यार । यहाँ उस्ताको उस्तै । हामी जहाँको तहीं ।

तपाई बिबिध सामाजिक क्षेत्र मानवअधिकार, गरिबी निबारण, सीप तथा उद्यमशिलता विकास, महिला शसक्तिकरण, युवाहरुको क्षमता विकास तथा आयआर्जन, शिक्षा, स्वास्थ्य, ग्रामिण विकास लगायतको क्षेत्रमा कार्यरत हुनुहुन्छ । तपाइले गरेको यस्तो कार्यबाट समाजमा के कस्ता सकारात्मक परिवर्तनहरु भएका छन् ?

२०६१ सालबाट मैले सानो प्रयासबाट सामाजिक कार्यको शुरु गरें । यसै सन्दर्भमा बिभिन्न संघसंस्थामा संलग्न हुने अवसर प्राप्त भयो । सोहि सिलसिलामा हालसम्म झण्डै नेपालको ७० जिल्ला पुगेको छु । ४२ भन्दा बढि जिल्लामा प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर मिल्यो । बिशेष गरी पछिल्लो समयमा समुदायको उद्यमशिलता र रोजगारीको क्षेत्रमा काम भइरहेको छ । बिपन्न समुदायको चाहना अनुसार उनीहरुको आवश्यकता पहिचान गरी उद्यमशिलता र बिभिन्न खालका व्यावसायीक सीप विकास तालिम सञ्चालन गरी प्रबिधि र मेशिन औजार प्रदान गरी उद्यमी बनाउने कार्यक्रम भइरहेको छ । जसबाट झण्डै हजारौं समुदाय लाभान्वित भइसकेका छन् । साथै युवाहरुको नेतृत्व, क्षमता विकास र स्वरोजगारका कार्यक्रमहरु सञ्चालित छन् । मानव अधिकारको क्षेत्रमा अभियान, पैरवी र वकालतका कार्यहरु भइरहेका छन् । बिभिन्न जनचेतनामूलक कायक्रमहरु सञ्चालित छन् । बिभिन्न जिल्लामा साक्षरता अभियान, शैक्षिक जागरणका कामहरु भइरहेका छन् । स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धि जनजागरणका कामहरुले गती पाएको छ । सामाजिक परिचालनका कार्यहरु स्थानीय तहसँग मिलेर भइरहेको छ । कृषि सम्बन्धि बिभिन्न परियोजना र तालिमहरु सञ्चालित छन् । महिला शसक्तिकरण सम्बन्धि साक्षरता, आयआर्जन, क्षमता विकास लगायतका कार्यक्रमहरु निरन्तर जारी छ । बिभिन्न बिषयगत अध्यन, अनुसन्धान, निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्व र क्षमता विकासका कार्यक्रमहरु भइरहेका छन् । यस्ता कार्यबाट समाजमा ठूला ठूला सकारात्मक परिवर्तनहरु भएका छन् । नेपाल सरकारको साझेदार संस्थाको रुपमा हामी निरन्तर लागी परेका छौं ।

यहाँले केहि सम्मान र पुरस्कार पनि पाउनु भएको छ नि हैन ?
हो केहि सम्मान र पुरस्कार प्राप्त गरेको छु । यसले मलाइ अझै यस क्षेत्रमा लाग्न हौसला, प्रेरणा र उर्जा मिलेको छ । युथ एम्बेशडर फर पीस अवार्ड, वेष्ट युथ इन्टरप्रेनरशिप अवार्ड, सोसियल युथ एक्टिभिष्ट अवार्ड, युथ लिडरशिप सम्मान, सामाजिक सेवा सम्मान, बिशेष नागरिक सम्मान, आइसिटी युथ लिडर सम्मान, स्वास्थ्य सेवा सम्मान, उद्यमशिलता सम्मान लगायत रहेका छन् ।

प्रकाशित मिति २०७५-१-१९

 

फेसबुकबाट तपाईको प्रतिक्रिया