डलर बलियो हुँदा एशियाली मुद्रा दबाबमा

चैत २९ टोकियो (जापान) ।

सोमवार एशिया क्षेत्रका अधिकांश मुद्राको भाउ घटेको छ । अमेरिकी डलर मजबुत बन्ने क्रमले निरन्तरता पाएपछि एशियाली मुद्रा दबाबमा आएका हुन् । सोमवार मुद्रा डालोमा आबद्ध मुद्राका तुलनामा डलर सूचक शून्य दशमलव १ प्रतिशतले बढी १ सय १ दशमलव २८ मा पुगेको थियो । सोमवार डलर सूचक लगातार चौथो दिन पनि बढ्ने क्रममा छ ।

हालैका हप्तामा लगानीकर्ताहरूले विश्वको ‘रिफ्लेशन’ व्यापार दिगोे हुनेमा प्रश्न उठाएपछि डलर दबाबमा आएको थियो । शुक्रवार पनि अमेरिकाले सिरियामा मिसाइल आक्रमण गरेपछि सेफ हेभन ठानिएको जापानी मुद्राको मागमा भएको वृद्धिले येनको भाउ बढ्दा डलर रातोमा आएको थियो । तर, बजार बन्द हुँदा भने डलर सूचक हरियोमा आएको थियो ।

सोमवार एशियामा प्रतिडलर जापानी येनको भाउ १ सय ११ दशमलव ४८ मा आएको छ । उता, अष्ट्रेलियाली डलर पनि शून्य दशमलव २ प्रतिशतले घट्दै शून्य दशमलव ७४८७ सेण्टमा आएको थियो । डलरको तुलनामा दक्षिण कोरियाको मुद्रा वनको भाउ पनि शून्य दशमलव ७ प्रतिशतले घटेको छ । कोरियाली प्रायद्वीपमा अमेरिकी युद्धपोत तैनाथ गर्ने सप्ताहन्तको निर्णयले पनि वनको भाउ घटाएको हो । रासस/एपी

फेसबुकबाट तपाईको प्रतिक्रिया