डिभी लट्री बन्द गर्ने प्रस्ताव

काठमाण्डौ १ फागन २०८१
रिपब्लिकन सांसदहरूले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) लट्री कार्यक्रम अन्त्य गर्ने पहल गरेका छन्। फक्स न्यूजका अनुसार उनीहरूले “अनुहारविहीन कम्प्युटर कोड” मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न रोक्ने र “राष्ट्रिय सुरक्षामा पर्ने जोखिम” हटाउने प्रयास गरिरहेका छन्।
अमेरिकी विदेश विभागद्वारा सञ्चालित डिभी कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष चिट्ठा प्रणालीमार्फत ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिइन्छ। तर, योग्यतामा आधारित छनोट प्रक्रियाभन्दा चिट्ठाको भरमा आव्रजन अनुमति दिने प्रणालीमाथि लामो समयदेखि बहस हुँदै आएको छ।
यसै सन्दर्भमा, रिपब्लिकन सांसद माइक कोलिन्सले “अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५” नामक विधेयक प्रस्तुत गरेका छन्। यस विधेयकले डिभी लट्री कार्यक्रम समाप्त गर्ने र विजेताहरूले आफ्ना परिवारका सदस्यहरूलाई प्राथमिकतासहितको ग्रीन कार्डका लागि तुरुन्तै प्रायोजन गर्न सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको छ।
“डाइभर्सिटी भिसा कार्यक्रम अनावश्यक सरकारी अभ्यास हो। यसले अमेरिकालाई अन्तहीन चेन माइग्रेसन प्रणालीतर्फ धकेल्छ,” कोलिन्सले विज्ञप्तिमा भने। साथै, उनले भिसा लट्री हटाउनुलाई “सामान्य” कदम भएको बताउँदै, “यसले हाम्रो बिग्रिएको अध्यागमन प्रणाली सुधार गर्नेछ र आवश्यक प्राथमिकता तय गर्नेछ,” भनेका छन्।
हाल, डिभी कार्यक्रममा सहभागी हुनका लागि आवेदकले कम आप्रवासन दर भएका देशहरूबाट आएको हुनुपर्ने र कम्तीमा उच्च माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्ने प्रावधान छ।
रिपब्लिकन सांसदहरूले यसअघि पनि डिभी लट्रीप्रति असन्तोष जनाउँदै आएका थिए। सन् २०१७ मा केही सांसदहरूले यस कार्यक्रममार्फत भिसा पाएका केही व्यक्तिहरू आपराधिक गतिविधिमा संलग्न भएको दाबी गरेका थिए। सन् २०१० मा डिभी कार्यक्रममार्फत अमेरिका आएका सैफुलो साइपोभले न्यूयोर्कमा ट्रक आक्रमण गरी आठ जनाको हत्या गरेका थिए। अर्का अभियुक्त अकायद उल्लाह पनि यही कार्यक्रममार्फत भिसा पाएका थिए।
यस विधेयकलाई समर्थन गर्ने सह-प्रायोजकहरूमा टेनेसीका एन्डी ओगल्स, टेक्सासका ब्रान्डन गिल, फ्लोरिडाका माइक ह्यारिडोपोलोस र डेनियल वेबस्टर, विस्कान्सिनका टम टिफनी तथा टेक्सासका ट्रोय नेहल्स रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया