ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

काठमाडौँ – कात्तिक ५, २०८१।

वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।

भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो ।

घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उहाँहरुले फूलखेती गरिरहनुभएको छ । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ ।

उहाँहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा रु ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया