दूरसञ्चार कम्पनी सेयर बिक्रीमा ‘क्रस होल्डिङ’ निषेध
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_768,h_366/https://businesspati.com/wp-content/uploads/2020/01/dursanchar.jpg)
काठमाडौं२८ पुस। ।
दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया थप कसिलो बनाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिप्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनियमावली, २०७६ जारी गर्दै यस्तो प्रक्रियामा थप कडाइ गर्ने भएको हो ।
विनियमावलीअनुसार कुनै दूरसञ्चार कम्पनीको सेयर खरिद गर्न चाहने व्यक्तिको अर्को दूरसञ्चार कम्पनीमा लगानी (क्रस होल्डिङ) भएको हुनुहुँदैन । विनियमावलीले कानुन प्रतिकूल दोहोरो लगानी नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै नेपालमा दर्ता भएका दूरसञ्चार कम्पनी वा व्यक्तिको सेयर धारण गर्ने विदेशी (अफसोर) कम्पनीले सम्बन्धित देशमा दर्ता भएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।
सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनैपर्ने प्रावधान पनि विनियमावलीमा छ । यस्तो स्वीकृतिको व्यवस्था चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद बिक्रीमा मात्र लागू हुनेछ ।
दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्री प्रक्रियालाई थप पारदर्शी र त्यसलाई नियामकको जानकारीमा ल्याउने उद्देश्यसहित दूरसञ्चार ऐनको दफा ६२ ले दिएको अधिकार प्रयोग गरेर विनियमावली तयार गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्रीको सम्पूर्ण प्रक्रियाका अड्चन समाधानको व्यवस्था विनियमावलीले गरेको छ, उनले भने ।
विनियमावलीले सेयर बिक्री गर्न चाहने र खरिद गर्न चाहने दुवैको जिम्मेवारी र सर्त प्रस्ट उल्लेख पनि गरेको छ । सेयर खरिद गर्न चाहने व्यक्तिले आयस्रोत विवरण बुझाउनुपर्ने, नेपाली नागरिक भए नागरिकता र स्थायी लेखा नम्बरको प्रमाणपत्र, विदेशी व्यक्ति भए राहदानी र नेपाल प्रवेशाज्ञाको कागजात पेस गर्नुपर्ने छ ।
सेयर लागत मूल्य र खरिद बिक्री मूल्य खुलेको सेयर खरिद बिक्रीका लागि भएको द्विपक्षीय सम्झौताको प्रतिलिपि पनि प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने छ । सेयर खरिद र बिक्रीमा संलग्न व्यक्तिले बिक्रीका लागि तय भएको सेयर मूल्य खुल्ने गरी सेयर खरिद बिक्रीनामा पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया