देशको खोजी !
माधब थापा
आज म मेरो देश खोजी रहेछु।
कहाँ छ मेरो देश ? कता छ मेरो देश?
न भोकमा भेट्छु न त शोकमा नै देख्छु।
कतै सिंहदरवारमा त सुतिरहेको छैन मेरो देश ?
कहाँ खोजौ मेरो देश कता हरायो ?
नभेटिन्छ राष्टिय गितमा न त नाम र नागरिकतामा
भेटिएन झण्डा, भुगोल, कबिता र तस्वीरमा ।
उकालीमा खुट्टा गल्दा थकाइ मार्ने चौतारी पाइन
अध्यारोमा अल्मलिँदा चन्द्र सुर्य झण्डा छैन
आँखाहरु रसाई दिँदा थोपा झार्ने ठाउँ पाइन्
दुःख कष्ट अप्ठ्यारोमा टारी दिने कोहि हैन
हिड्दै जाँदा लड्दाखेरी उठाइदिने कोहि छैन
महाकालीको तीरमा पनि प्यास मैले भोग्नुपर्ने
पराइको ज्यादतीलाई कतिन्जेल सहनु मैले
स्वतन्त्र र स्वाधीनता कता बस्छन् थाहै छैन।
आफ्नै घरमा दासी भए उद्दार गर्ने कोहि पाइन
यता खोज्छु उता खोज्छु कतै पाउँदिन
भोक, शोक, रोग र अभावमा कहिँ भेटिदैन
सहिदका मुहारमा खोज्दैछु मेरो देश
शासकको आँधिवेरीले भत्काइ दिएको गुँड
रुपरङ र सुगन्धमा कस्तो हुन्छ देश
देश शासकहरुको खल्तिमा हुन्छ कि निर्धाहरुको सपनामा
आज मैले खोज्दै जाँदा बल्ल भेटे मेरो देश
मालिकको आदेशमा सिंहदरवारको पिन्जडामा कैद रैछ देश
काभ्रे, बनेपा
२०७९–२–८
फेसबुकबाट तपाईको प्रतिक्रिया