धादिङ्गका स्थानीय समुदाय लघु उद्यमतर्फ, ३२७ जना लघु उद्यमी तयार
धादिङ्ग ५ श्रावण
जन अधिकार सरोकार महासंघ नेपालको आयोजनामा धादिङ्ग जिल्लाको आठ स्थानीय तहमा सञ्चालित गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मार्फत ३२७ जना लघु उद्यमीको जीवनस्तर फेरिएको छ । जिल्लामा कम आय भएका, बेरोजगार युवा, महिला, दलित र जनजाती जस्ता लक्षित बर्गको उद्यमशिलता विकास गरी लघु उद्यमको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको संस्थाका केन्द्रिय अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग विकास समिति, धादिङ्गको सहयोगमा २०७४ फाल्गुन देखी २०७५ असार मसान्तसम्म जन अधिकार सरोकार महासंघ नेपालले यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमबाट ३२७ जना लघु उद्यमी सिर्जना भएका छन् । उक्त कार्यक्रम सञ्चालनका लागि निलकण्ठ नगरपालिका, धुनीवेशी नगरपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना गाउँपालिका, खनियावाँस गाउँपालिका र वेनिघाटरोराङ्ग गाउँपालिका कार्यक्षेत्र रहेको थियो । कार्यक्रम सञ्चालनको क्रममा नगरपालिका तथा गाउँ पालिका स्तरीय अभिमुखीकरण, उद्यम विकास समिति गठन, बजार स्रोत सम्भाव्यता अध्ययन, सहभागितामूलक ग्रामीण लेखाजोखा, घरधुरी सर्वेक्षण, लघु उद्यमी समूह गठन, समूह सञ्चालनका लागि लजिस्टिक सहयोग, उद्यमशिलता विकास तथा सामाजिक समावेशीकरण तालिम, सीप विकास तालिम, लघुकर्जामा पहँुचका लागि समन्वय तथा अन्तरक्रियात्मक कार्यक्रम, प्रविधि तथा मेशिन औजार सहयोग, बजारीकरण सम्बन्धि सहयोग कार्यक्रम जस्ता क्रियापलाप सञ्चालन भएको थियो ।
छनौट भएका स्थानीय तहमा स्थानीय स्रोत, समुदायको चाहना र बजारको मागलाइ ध्यानमा राखि सीप विकास तालिम दिइएको थियो । जसअन्तर्गत छोटो अवधीको कुखुरापालन, वाख्रापालन र च्याउखेती तालिम, लामो अवधिको सिलाई कटाई, हाते कढाई, वुटिक, व्यूटिपार्लर तालिम र मध्यम अवधिको वाँस हस्तकला, एडभान्स सिलाई कटाई र हाते होजियारी जस्ता सीप विकास तालिम सञ्चालन गरीएको थियो । तालिम लिएका उनीहरु लघु उद्यम तर्फ आकर्षीत भइ व्यावसाय शुरु गरेको समेत अध्यक्ष कार्कीले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया