धोनी आउट भएपछि वेष्टइन्डिजको रोमाञ्चक जित

काठमाडौं, १२ भदौ (एजेन्सी)
पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विश्व विजेता वेष्ट इन्डिजसँग भारत एक रनले पराजित भएको छ। शनिबार राति अमेरिकाको फ्लोरिडामा भएको रोमाञ्चक खेलमा भारत वेष्ट इन्डिजसामू एक रनले पराजित भएको हो।
वेष्ट इन्डिजले प्रस्तुत गरेको २ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४४ रन मात्र बनाउन सक्यो। भारतका लोकेश साहुलले नटआउट एक सय १०, रोहित शर्माले ६२, कप्तान महेन्द्र सिंह धोनीले ४३ तथा विराट कोहलीले १६ रन बनाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन्। वेष्ट इन्डिजका डवेन ब्रावोले दुई विकेट लिए।
अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा भारतले ६ रन मात्रै बनाउन सक्यो। १९औं ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३८ रन बनाएको भारतका लागि अन्तिम ओभरको पहिलो बलमा कप्तान धोनीले एक रन बनाए। दोस्रो बलमा पनि एक रन तथा तेस्रो बलमा राहुलले पनि एक रन बनाए। चौथो बलमा धोनीले दुई रन लिए।
अन्तिम बल बाँकी हुँदा भारतलाई जितका लागि दुई रन मात्रै चाहिएको थियो भने बराबरीका लागि एक रन काफी थियो।
कप्तान धोनी क्रिजमा थिए। ब्रावोले गरेको बलिङमा धोनी आउट भएपछि भारत ट्वेन्टी–ट्वेनटी विश्व च्याम्पियन वेष्ट इन्जिडसँग एक रनले हार्यो।
यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा दुई सय ४५ रन बनाएको थियो। वेष्ट इन्डिजका लागि इविन लुइसले एक सय तथा जोनसन चालेसले ७९ रन बनाएका थिए। भारतका जसप्रित बुमराह र रविन्द्र जडेजाले दुई-दुई विकेट लिएका थिए।
भारत वेष्टइन्डिजको दोस्रो ट्वेन्टी–ट्वेन्टी आइतबार हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया