नागरिक उड्डयन सेवालाई फर्केर हेर्दा

सुनिल मूल

नागरिक उड्डयन प्राधिकरणमा ४२ बर्ष सेवा गर्नुभएका सुनिल मुल आउने जेष्ठ पहिलो साता अवकास पाउँदै हुनुहुन्छ । हाल वरिष्ठ प्रबन्धकको रुपमा प्राधिकरणमा कार्यरत उहाँ एकजना अत्यन्त कर्तब्यनिष्ठ एवं इमानदार राष्ट्र सेवक भएको तथ्य उहाँकै यस संमरणात्मक आलेख पढ्दा पनि अड्कलबाजी लगाउन सकिन्छ । ४२ बर्षसम्म एउटा संस्थामा रहेर काम गर्दाका आफना तीता-मिठा अनुभव, काम गर्दाका चुनौती र बेहोर्नु परेका अप्ठेरा लगायतको विषय सेरोफेरोमा उहाँले लेख्नु भएको यस आलेख पाठकबृन्दका लागि उपयोगी हुने अपेक्षा सहित प्रकासित गरिएको छ–सं

भनिन्छ, जहाँ सुरु हुन्छ त्यहाँ अन्त्य पनि हुन्छ । जस्लाई आत्मसात गर्नैपर्छ । भलै आफूले चाहनु नचाहनु छुट्टै होला । सुरुआती विन्दुमा खुसी मिसिएको हुन्छ र विश्रामलाई सुखानुभूति संज्ञाले परिभाषित गर्न सकिएला तर अन्त्य शब्दलाई जो कोहीले पनि प्रिय मान्न असहज हुन्छ । छोटोमा, अविरलको यात्रामा टुंगिनु भनेको पीडा नै हो । तथापी स्वभाविक यसको सामना गर्नैपर्छ । कुरो, आफ्नै सरकारी जागिरे जीवनको हो, तर मैले सेवाकालको नोकरीलाई कहिल्यै मात्र जागिरेको संज्ञामा सिमित गरी परिभाषा गरिएनौं । सरकारी नोकरी जीवनको यात्रा २०३६ सालबाट नापी विभाग अन्तर्गत् रहेको स्थलरुप नापी महाशाखाबाट मैले सुरुआत गरें । २०३८ मा तत्कालिन हवाई विभागमा सेवा प्रवेश गरी आउंदो २०७८ जेठको पहिलो साताबाट अवकास जीवनमा परिणत हुंदैछु । जीवनको यस बयालिस वर्षे मेरो नोकरीे सेवाकालभित्रका अनेकौ अनुभवहरु अझै मानसपटमा ताजै छन् । जस्लाई संगालिएर निवृत्त अवकाश जीवनमा पदार्पण गर्दैछु ।

सुरुमा सबै प्रति हृदय देखि नमन गर्दै मेरो नोकरीकालभित्रका कयौं अनुभवहरुलाई छोटो शब्दरुपी मालामा बटुल्न चाहें । सारमा भन्नुपर्दा मैले आफूलाई आफैले अत्यन्त्य भाग्यमान कर्मचारीको रुपमा थानेको छु । मलाई खुसी लाग्छ, म आफू सानो तहको एक साधारण कर्मचारी भएतापनि कहिल्यै हिनतावोध महशुस गर्नु परेन । प्रायशः सबैले भन्नु हुन्छ ूयस अवस्था सम्म आइएला भनेर कहिल्यै सोचेका थियौ ?ू ूअहँ सोचेको थिएन तर विश्वास भने अवश्य थियो ू सधैको जवाफ यहि नै मेरो हुन्थ्यो । मलाई लाग्छ, ूकांडा रोपेर गुलाफ फुल्दैनू गुलाफ फुलाउन मैले अहोरात्र लागेको थिएँ त आज गुलाफ फुल्दा के को आश्चर्य ? मलाई यो पनि थाहा छ ूगुलाफको फूल गमलाले राम्रो हुने होइन गुलाफले गमला राम्रो हुने हो । ू यही नै मार्गमा मैले आफ्नो पूरा सेवाकालभित्र संधै आफूलाई गुलाफ बन्न चाहें र मेरो कर्मथलोलाई सधें ंगमला सम्झिएं ।

मैले नोकरीको बयालिस बर्से अवधिमा केहि जान्ने सुन्ने धेरै सुअवसरहरु प्राप्त गरें र यसमा केहि पाउन सकें र धेरै आफ्नै कमी कमजोरीका कारण गुमाएं पनि होलान् । गुमाइएकामा मलाई कत्ति पनि विश्मात छैन । किनकि म उभिएको धरातल अत्यन्तै सानो रहेको मलाई थाहा छ । जीवनका शुरुका दिनहरु र अबुझ यस क्षेत्रको ज्ञानमा रहेको कमी कमजोरीलाई मैले कहिल्यै भूल्न सक्दिन । म यस क्षेत्रको कुनै ज्ञाता होइन, न त ममा कुनै यसको विज्ञता नै छ । त्यसैले पनि यस विषयको विद्वता बन्न मैले कहिल्यै चाहीन र चाहन्न पनि । नोकरीको प्रारम्भकाल देखि नै केहि सिक्ने जान्न चाहने इच्छा भने ममा सधैं रहीरह्यो । यसै दौरानमा जानी नजानी मेरो कर्म थलोको बारेमा (१) नागरिक उड्डयन प्राधिकरण, मेरो आँखामा, (२) नेपालको उड्डयन अर्थतन्त्र (भाग(१), (३) नेपालको उड्डयन अर्थतन्त्र (भाग(२), (४) आर्थिक प्रशासन सिद्धान्त एवम् व्यवहार, (५) २५ वर्ष पछिको नागरिक उड्डयनको स्वरुप एक परिकल्पना, नामक पाँच वटा पुस्तकहरु मैले लेख्न भ्याएंं । पुस्तकाकारको रुपमा लेखन गर्दैगर्दा कहिल्यै पनि आफू यस क्षेत्रको जानकार व्यक्तिमा रहीन । मेरो अध्ययनको विषय उड्डयन क्षेत्र होइन न त यस विषयको ममा कुनै खास ज्ञान रहेको व्यक्ति नै हुँ । जीवनको सम्पूर्ण उर्जाशील समय यस क्षेत्रमा बिताएका केहि अनुभव र विद्वतवर्ग बाट सिकिएका, सुनिएका अनि केहि पढिएका र धेरै जसो भोगिएका अनुभवजन्य पाठहरुलाई आफूमा मात्र सिमित राख्न उचित नहुने मनशायले लेखनमा लागें । यस क्षेत्रको बारेमा थप जानकारी बटुल्दै जाने सँधैको जिज्ञाशा अनि जान्ने सुन्ने कौतुहलतामा कहिल्यै कमी ममा आएन । त्यहि भएरै पनि होला केहि नजान्ने, नबुझ्ने म जस्तो एउटा सामान्य व्यक्तिले त पुस्तकको रुपमा निकाल्यो भने यस क्षेत्रका प्रखर विज्ञता हासिल गरिएका विद्वान नागरिक उड्डयन विज्ञहरुबाट अवश्यपनि आफ्ना ज्ञानहरु संगाली पुस्तकको रुपमा आउनेछन् र मैले पनि यसबाट धेरै सिक्न जान्न पाउने आशा राख्दैे यसमा निरन्तर लागिरहें । कहिले काहीं आफू मूर्ख पो भएको हो कि भन्ने नलागेको कहाँ हो र… तर मेरो कर्ममा आफूलाई मूर्खता कहिल्यै देखिन । र आफूले प्राप्त गरेको अनुभव र ज्ञानलाई मध्यनगर गरी राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकाहरुमा सयौं लेखहरुका साथै अन्तवार्ताहरु समेत प्रकाशित भएकोमा अत्यन्तै खुसी लागेको छ । यसमा म आफू आफैलाई अत्यन्त भाग्यमानी तथा सफल व्यक्ति भएको पनि ठान्दछु ।

मेरो बयालिस बर्से नोकरीकालको सुरुआती समयमा मुलुकमा पंचायती व्यवस्था लागू थियो पछि बहुदल हुँदै लोकतन्त्र गणतन्त्रको समयसम्म आएको लामो अवधि बिताउन सफल भएं । प्रारम्भको हवाई विभागमा खरिदार सरहको ज्यालादारी सह(लेखापालमा नियुक्ति भई पछि अस्थायी लेखापालमा बढुवा नियुक्ति हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना पश्चात सहायक अधिकृत पदको ६ तहमा तह मिलान भई तह ६ बाट समयसँगै ७, ८ हुँदै ९ तहमा बढुवा भएं र आज अनिवार्य अवकाशको जीवनमा परिणत हुंदैछु । यस अवधिभित्र मुलुकमा छरिएर रहेका उपत्यका बाहिरस्थित रहेका विभिन्न विमानस्थल कार्यालयहरुमा करीव १६ वर्ष मुकाम रही अनेकौं अनुभवहरु संगाल्ने अवशरहरु प्राप्त गरें । त्यस्तै, उपत्यकास्थित रहेका त्रिभुवन अन्तर्राट्रिय विमानस्थल कार्यालय, संचार तथा उड्डयन सहाय विभाग, त्रिभुवन अन्तर्राट्रिय विमानस्थल सुधार आयोजना हाल हवाई यातायात क्षमता अभिबृद्धि आयोजना, एरोड्रम सेफ्टि विभाग, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, फ्लाईट सेफ्टि स्टाण्र्डर्ड विभागमा रहँदै धेरै समयको अवधि प्रधान कार्यालय रही कार्य गर्ने अवशर प्राप्त गरें । मलाई लाग्छ, नागरिक उड्डयनका विविध विषयहरुमा पृथक पृथक कार्यहरुको सम्पादन हुने यसरी सबै निकायहरुमा रही कार्य गर्न पाउनु मेरो लागी ठूलो अहोभाग्यको अनुभूति गरेको छु । अर्को तथ्य, मेरो शौभाग्यको रुपमा लिएको छु मैले मेरो सेवा कालमा कहिल्यै आफ्नो पद र तहमा रही कार्य गर्नु परेन । सेवा काल अवधिभरी नै आफुभन्दा सँधै माथिल्लो तह श्रेणीमा रही कार्य गर्न पाएकोमा अझ झन अत्यन्त खुसी छु । साविक ६ तहमा कार्यरत रहंदा प्रधान कार्यालयको लेखा शाखामा रही गोश्वारा भौचर पेश गर्ने, भुक्तानीका लागि चेक तयार गर्ने, लेखांकन अभिलेखिकरण गर्ने कार्यमा रहंदै थिएं जव ६ तह बाट ७ तहमा बढुवा भएं त्यस पश्चात भुक्तानी हुने कागजातहरुलाई जाँच गर्ने, टिप्पणीहरुमा राय दिने र आर्थिक प्रशासन सम्बन्धीको नीतिगत कार्यहरु संलग्न हुन पाएं । ७ तह बाट ८ तहमा बढुवा हुनासाथ १० तहको जिम्मेवारी सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको अर्थ महाशाखा प्रमुखको निमित्त पदमा कार्य गर्न पाएं । ८ तह बाट ९ तहमा बढुवा पश्चात प्रधान कार्यालयस्थित रहेको तह ११ को अर्थ विभाग प्रमुख र तह ११ कै आन्तरिक लेखा परिक्षण विभागको प्रमुख भई हाल तह १० को संचालक समिति सचिवालय प्रमुखको रुपमा रही कार्यमा रहंर्दै अनिवार्य अवकाश हुन पाएं । यसरी विरलै कर्मचारीहरुले पाउने शौभाग्य अवशर र सुखद मौकाहरु मैले मेरो नोकरीकालमा प्राप्त गर्न सकिएकोमा मलाई अत्यन्तै खुसी लागेको छ । यस संस्थाबाट निरन्तर सदा पाएको माया, गुणलाई मेरो जीवनपर्यन्त सम्म मैले कहिल्यै भूल्ने छैन ।

मेरो अनुभवलाई फर्केर हेर्दा केही लामो अवधि देखिएतापनि मलाई अत्यन्तै छोटो समय बितेको झै लाग्छ । अर्थात् समय बितेको चालै पाइन भन्दा अत्युक्ति नहोला । मेरो कर्मथलो यस संस्था प्रतिको माया ममतामा कमी भएको कहिल्यै महशुस भएन । प्रत्येक दिनहरुमा झन् झन् बढ्दो स्नेहता महशुस रहंदै थियो । अनगिन्ती अनुभवहरु बटुल्दै आज अन्तिममा आएर भन्नुपर्दा जीवनमा यदि सफलताको शिखर चुम्न मन छ भने जीवनमा दुई चीज मध्ये एक गर्नुपर्छ । यहि दुई पक्षलाई शेयर गर्न चाहें । पहिलो ूआफूलाई मन परेको काम गरू की दोश्रो ूगरेको कामलाई मन पराउू । यस भन्दा अरु विकल्प नसोचौं झै लाग्छ । चाहे अरुले जे सुकै सोचियोस् मैले मेरो जीवनमा सँधै एउटा उद्देश्यको मन्त्र जपेर हिडें ूजीवनमा भलै सानो तहकै भई रहूं तर तुच्छ कहिल्यै नबनूंू नोकरी सेवाका दृष्टिले पेशा लेखा भएको नाताले मलाई सि.ए.बन्न असाध्यै मन थियो तर समय परिस्थितिले मलाई सि.ए.बन्न दिएनन् तर सि.ए.मा काम गर्ने अर्थात् सिभिल एभिएशनमा काम गर्ने शौभाग्य भने जुरेकोमा औधि खुसी लागेको छ । उर्जाशील सम्पूर्ण जीवन सर्मपण गरेको यस संस्था प्रति मेरो प्रधात स्नेह छ र बांकी जीवनलाई यस संस्थाको उन्नती प्रगतीका लागी मैले निर्वाह गर्न सक्ने जुनसुकै कार्यमा विना लोभ, लाभ नराखी निरन्तरता दिन मन छ । र, मानार्थ भएपनि यस संस्था संग जुडी रहने मेरो ठूलो इच्छा छ र त्यो इच्छा भगवानले अवश्य पूरा गरि दिनु हुनेछ भन्ने कुरामा विश्वास पनि राख्दछु ।

प्रत्येक दिनहरुमा मैले खाने थालमा मेरो संस्थालाई देखेको छु र मेरो कर्म पनि देख्दछु । मनले सँधै भन्छ ूजवसम्म जीत हुंदैन तवसम्म नठाकौं । बरु हारोस् त्यस हारमा पनि जीत नै हुन्छ । पूरा प्रयास गरिएको काममा हार भएपनि पश्चाताप भने पक्कै हुंदैन ।ू किनकी मलाई थाहा छ, जीवनमा सबैभन्दा मिल्ने साथी भनेकै आफू आफै नै मात्र हो ।ू त्यसैले अरुलाई चिन्नु भन्दा पहिला आफूले आफूलाई प्रथमतः चिन्नुपर्छ जस्तो लाग्छ । मैले मेरो जीवनकालमा कहिल्यै नकारात्मक विचार सोच्नु परेन, मनलाई खुम्चाउनु पनि कहिल्यै परेन । मैले जानेको कुरा नकारात्मक भनेको अध्यारो हो भने सकारात्मक उज्यालो पक्ष हो । यहांनिर एउटा सानो किस्सा याद आयो ( एक गुरुले आफ्ना दुईजना शिष्यलाई बल्दै गरेको लालटेन दिएर अगाडीको घनघोर जंगल घुमेर आउन भनेछन् । पहिलो शिष्यले भनेछ ूयस लालटेनले त पाँच कदम मात्रलाई उज्यालो दिन सक्छ र म कसरी यसको सहायताले यस्तो घनघोर जंगल पार गरुं ?ू अर्को शिष्य केही नभनी सरासर गयो र त्यस जंगललाई पार गरि फर्कियो । पहिलो शिष्यले सोध्यो ूकसरी सम्भव भयो ?ू दोश्रो शिष्यले ूयस लालटेनको सहायताले म पाँच पाइला हिडें त्यसपछि अर्को पाँच पाइला उज्यालो भयो त्यसपछि अर्को पाँच पाईला गर्दै मैले पूरा जंगल पार गर्न सकें ू भन्यो । भन्नाको तात्पर्य हजार मिलको यात्रा पहिलो पाइलाबाटै सुरु हुन्छ । हैनन् र ?

फेरी अर्को कुरा, आफ्नो काम प्रति लगाव नभएको, आफ्नो कर्म प्रति रुची नराख्ने मान्छे संधै नकारात्मक स्वभावको हुन्छ । यहाँनेर एउटा कुरा याद आयो ( आउंदै गरेको परिक्षाको समयमा दुई मित्र कुरा गर्दै थिए । पहिलोले भनेछ ूयो परिक्षा पास हुन्छ कि हुंदैन भनेर जोतिष देखाउं मित्र…ू । ूकिन र ?ू ूकिनकी पास हुन्छ भने दुःख गरी पढनै पर्दैन, यदी फेल हुन्छ भने किन टाउको दुखाई पढने ?ू मित्रको कुरा सुनेर अर्कोले के सोचिए होलान् यहाँहरुले बुझ्नु नै भयो होला । काम गर्न नचाहने, नजान्ने मान्छेले हजार जुक्ति निकाल्छन् भन्ने यहि नै होला । धेरैले यो भएन, त्यो भएन, यसो भएन, त्यसो भएन भनेर भन्नुहुन्थ्यो र बारम्बार सुन्थे पनि तर आफ्नो नोकरीकालमा यस्लाई कहिल्यै वास्ता गरिएन बरु आफु सामुका हर चुनौतीलाई सँधै सुनौलो अवशरमा आएको थानेको छु ।

सेवाकालका ती पुराना दिनहरुलाई सम्झँदा कयौं घटना, परिघटनाहरु मानसपटमा अझै ताजै छन् । तमाम अनुभव गरिएका क्षणहरुलाई केलाउन थाल्ने हो भने एउटा ठूलै ग्रन्थ बन्न सक्छ । ती दिनहरुमा बिताइएका सुखद पलहरु सँगै अकल्पनीय क्षणहरुबाट गुज्रिएका तीतामिठा सम्झनाहरु संगाल्दै लामो समय अघिदेखि लेख्दै आएको नीजि डायरीलाई हाल पल्टाउंदा यस्लाई पुस्तककै रुपमा निकाल्ने मनशाय राख्दै जमर्को गरेको छु । सेवाकालको अन्तिम दिनमा यहि पुस्तक सबै अग्रजहरुमा समर्पण गर्दै बिदा लिने सोच राखेको छु । आफ्ना नोकरी यात्राका दिनहरुमा अनगिन्ती बिताएका अविश्मरणिय क्षणहरु जुन पुस्तकमा समावेश गरेको थिएं यसैलाई छोटोमा यहां केही राख्न चाहें । जस्लाई मैले कहिल्यै भूल्न सक्दिन । कुरो, वि.सं.२०५५र५६ तीरको हो । जुनबेला म लेखा शाखाको तलबी फांटमा कार्यरत थिएं । त्यस बखत एक कर्मचारीको करिब २ वर्षसम्म दोहोरो तलव भुक्तानी हुँदै आएको रहेछ । पछि पत्ता लागेपछि नीजलाई दोहरो परेको रकम दाखिलाका लागि अनुरोध गर्दा सुरुमा आनाकानी गर्दै मेरो गल्ती हो र ? मलाई के थाहा ? कार्यालयले दियो त मैले लिएं के बिराएं ?? भन्दै उल्टै ठूलो स्वरमा जवाफ फकाइयो । हाकीमसावलाई यस व्यहोरा जाहेर गर्न गएं । हाकिमसावले तुरन्त रकम दाखिला गर्न आदेश दिनु भएपछि उहाँ फर्कियो । भोलिपल्ट उक्त रकम दाखिला गरी आउनु हुन्छ होला भनी सोच्दै थिएं । उहाँ संगै एउटा कालो कोट लगाएको मान्छे लिई म कहाँ आउनु भयो र भन्नु भयो ूदोहरो तलव लिनु हुँदैन सजाय हुन सक्छ भनी बारम्बार भन्दा पनि यही एकाउण्टेण्टले हुन्छ केहि हुंदैन, म मिलाई हाल्छु, बरु पाउने तलवमा आधि आधि मिलेर खानुपर्छ भनी करकापमा परी मैले केही नबोलेको हो । हरेक महिनामा मैले पाएको आधि तलव दिंदै आएको छुू भन्नु भयो । कुरा सुनेर मैले सुरुमा त केही बोल्नै सकिन । कालोकोट लगाउने मान्छेले थप्यो ूम पेशाले वकिल हुँ तपाईले मेरो मान्छे संग आधि तलव मासिक लिनु भएको रहेछ । त्यसैले तिर्नुपर्ने कूल रकमको आधि तपाईले तिर्नुपर्छ नत्र वाध्य भएर तपाईलाई मैले अदालतमा रिट दर्ता गरी कानून बमोजिम सजायका लागि कारवाहीमा जानुपर्ने हुन्छू भन्नु भयो । म अक्क न बक्क भएं केहि बोल्नै सकिन । मनमा जो चोर उसैको ठूलो स्वर भन्ने त लाग्दै थियो । तर तत्काल उचित जवाफ फर्काउन भने सकिरहेको थिएन । जीवनमा कहिल्यै सोच्न सम्म पनि नसोचिएको कुरा सुन्नुपर्दा अनौठो संगै आश्चर्यमा परी विष्मादमा परें । जुरुक्क उठी हाकीमसावकोमा गएं र सबै व्यहोरा जाहेर गरें । म ढुक्क थिएं । मेरो आनीबानी स्वभावको बारेमा हामिकसाव परिचित हुनुहुन्छ । तत्कालै हाकिमसावले कडा स्वरमा भन्नु भएको ूवाहियातू र उहाँको नोकरी बर्खास्तीको कारवाही तत्काल उठाउन खोजिएको कारण माफी माग्दै पछि दोहोरो रकम दाखिला गरियो । मलाई अहिले पनि झझल्ति याद आउंछ यस्तो समयमा यदी मेरो पक्षमा हाकिमसावले साथ नदिनु भएको भए मेरो नोकरी सायद त्यै बखत नै अन्त्य हुन्थ्यो होला र दागी जीवनमा परिणत हुन्थ्ये । जीवनमा कमाई भनेको धन होइन सबैको मन जित्न सक्नु नै वास्तविक कमाई हो भन्ने मार्गमा सधैं थिएं । जुन मैले कमाउन सकें जस्तो पनि लाग्छ । कहिल्यै पनि मैले धनको मोहमा पर्नु परेन र परेनन् पनि ।

नोकरी अवधिभित्रको कहिल्यै भूल्न नसक्ने अर्को एक घटना थियो । मलाई धेरै अघि देखि थाहा थियो । आफ्नो लागि त सबैले गर्छन् नै अरु कसैका लागि केही गर्न सके पो वास्तविक जीवन हो । आफ्नो दुःखमा भन्दापनि अरुको दुःखमा आँखा रसाउनु पर्छ भन्ने कुरामा सधैं थिएं । आफू भलै सानो भएपनि कहिल्यै आफूलाई सानो महशुस गरिएन । मलाई थाहा छ, वास्तवमा कोहीपनि व्यक्ति आफैमा सानो र ठूलो भन्ने हुंदैन । यो त मान्छेको सोच मात्र हो । सत्कर्म र सहयोगी भावको मनमा सदा वास हुनुपर्छ भन्ने सधै थियो र त्यही अनुरुप बित्दै पनि थियो । एक दिन मेरोे कार्यकक्षमा पुरै सेतो कपडा लगाएकी एक महिला आइन र आफ्नो श्रीमान् बितेको व्यहोरा राखीन । त्यस महिलाकी श्रीमान् मेरो कार्यालयको कर्मचारी भएको जानकारीमा मैले उहाँलाई परेको शोकमा केही सहयोग गर्नुपर्छ भन्ने मनशायले सामान्यतया दुई दिन लाग्ने कामलाई सबैतिर आफै गई छिटो काम सकाइदिएं । मृत्युपछी पाउने सुविधाका लागि मृत्युदर्ता प्रमाणपत्र आवश्यक थियो । तर सो प्रमाण त्यस बखत महीला संग थिएन । मृत्युदर्ता प्रमाणमा दस्तखत मात्र गर्न बांकी रहेको र दस्तखतगर्ने कर्मचारी आज विदामा रहेको कारण भोलि अवश्य ल्याई दिने भन्ने वाचामा सहयोगी विश्वासी मनले भुक्तानीको चेक दिई पठाएं । त्यस बखत मैले कसैका लागि केही सहयोग गर्न सकें भनी मनमा खुसी हुंदैथिएं । त्यसको भोलिपल्ट कार्यालयमा पुग्दा हिजो कै जस्तै देखिने पूरै सोतो कपडा लाएकी एक महिला मेरो कार्यकक्षमा बसेकी रहेछिन् । त्यस महिलाले मृत्युदर्ता प्रमाणपत्र मलाई दिंदै सबै व्यहोरा भनीन् । म झसंग भएं । त्यस महिला त हिजोकी हैनन् अर्के पो रहिछिन् । सबै कुरा छर्लग भयो । हिजोकी महिलालाई मृतक कर्मचारीले बाहिर आफुखुसी राखेको रहेछ र यस महिला कानूनी रुपको वास्तविक श्रीमति रहिछिन् । म झसंग भएं । त्यस कर्मचारीले पाउने सबै सुविधा रकम हिजै दिई पठाएको थिएं जुन कानून बमोजिम बाहिरकोलाई पो परेछन् । के गर्ने, कसो गर्ने थम्याउनै सकिन । खुलस्त भन्न पनि मिलेन र त्यस्को काम पनि गर्न मिलेन । दिमागले कुनै सोच्न नै सकिन । एकछिन कोठाबाट बाहिर निस्कें । भौतारिंदै यताउति लागें । यसो होईन र यसरी हुंदैन कुनै उपाय निकाली हिजोकी महिलाबाट चेक फिर्ता लिई समाधान गर्नुपर्छ भन्ने दृढ सोच लिई पुनः कार्यकक्षमा फर्किएर त्यस महिलासंग मृतकको आनीबानी सम्बन्धमा कुराकानी गरें । कुराकानीबाट थप कुरा जानकारी पाएपछि त्यस महिलाले पछि तपाईले पाउने रकममा उस्लेपनि दावी गर्न सक्ने कुरा राखें । त्यसैले त्यस महिलालाई पनि संगै लिई आउनुस् भनें । मेरो कुरा सुनेपछि सुरुमा निकै रिसाएकी जस्ती देखिन र त्यसैको कारणले आज मेरो यो अवस्था भयो त्यस्ताको के मुख हेर्नु भन्दैथिई । सम्झाई बुझाई पछि त्यस महिलाको छोराबाट बल्लतल्ल उस्को फोन नम्बर पाएं । नम्बर पाउन साथ कोठाबाट निस्कि अर्के कोठाबाट फोन लगाई हिजो दिएको चेकमा गल्तीले कम रकम भएछ पुरै रकम लिनका लागि सो चेक फिर्ता ल्याउनुस् भनें । चेक हिजै बैंकमा जम्मा गरिएको जानकारी भयो । जम्मा गरेको बैंक संग मेरो कारोवारको सम्बन्ध थियो र तुरन्तै बैंकमा फोन गरी उक्त चेक भुक्तानीमा रोक्न लगाएं । त्यस बखत मलाई बैंकबाट ठूलो सहयोग मिल्यो । बैंकले चेक फिर्ता त्यस महिला मार्फत् गराइन् । चेक फिर्ता पाएपछि मन हलुंगो भयो । पछि दुवै महिलालाई संगै राखी मैले जानेबुझें सम्मको सबै कुरा राखें । मेरै सामुन्ने दुबैको केही भनाभन पनि भयो र म माथी पनि केही खनिए । अन्त्यमा स्थितिलाई मध्यनजर गरी मिलेर जानु सबैभन्दा उचित हुने सम्झाउंदै चेक बराबरको रकम आधा आधा लिनु हुन्छ की कानून बमोजिम गरौं भनें । पछि बल्ल आधा आधा गर्न मन्जुर भएको भपाईको व्यहोरा बनाई दुबैलाई त्यसमा ल्याप्चे र सहिछाप गराई पाउने रकमको बराबर आधाआधा हिस्सा छुत्याई दुई वटा चेक दिई पठाएं । त्यस सक्कल भपाईलाई आजसम्म पनि सुरक्षित नै रोखेको छु । मनमा मैले गरेको सहयोगको बदलामा भएको यस घटना म कहिल्यै भूल्न सक्दिन ।

कुरो ५४र५५ साल तीरको हो । तत्कालिन महानिर्देशकज्यूबाट विराटनगर विमानस्थलमा भएको विद्युतिकरण कार्यको भुक्तानी केन्द्रबाट गर्नेगरी निर्णय भएको थियो । त्यस बखत अहिले जस्तो विभिन्न विभाग, निर्देशनालयहरुको भुक्तानी एउटै बैंक खाताबाट हुने गर्दैनथ्यो । त्यस समयमा प्रत्येक विभाग, निर्देशनालयहरुको अख्तियारी अनुरुप खातापाता बनाई सोही अनुसार छुट्टाछुट्टै बैंक खाता मार्फत् कारोवार हुन्थ्यो । नेपाल राष्ट्र बैंकबाट खाता संचालन हुंदै आएको उक्त विद्युतिकरण कार्यको भुक्तानी सिभिल मर्मत तर्फको बजेटबाट हुने निर्णय बमोजिम सोको भुक्तानी गर्दा भूलबस अर्कै विभागको चेक पायड् प्रयोग हुन गएको रहेछ । खर्च लेखांकन गर्नुपर्ने शिर्षकको स्विकृत वजेट भित्र रही सम्बन्धित खातापातामा लेखांकन समेत गरेको थिएं । आषाढ महिनाको अन्तिम चेक थियो त्यो । भोलिको दिन नयां आर्थिक वर्ष शुरु हुने र आर्थिक वर्ष शुरु भएको पहिलो दिनको १०ः०० बजे नै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेक बन्दी हुने र सोही अनुसार भएको पनि थियो । त्यस चेकको भुक्तानी लिन सम्बन्धित व्यक्ति १५ दिन पछि मात्र उपस्थित भएको र त्यसको करिब १ महिना पछि आफ्नो खातामा जम्मा गर्न जानु भएको रहेछ । त्यस्को १ महिना पछि खातामा रकम नभएको जनाई बैंकले चेक फिर्ता गरेको व्यहोरा खोली १५ दिन पछि मात्र म कहां आउनु भयो । गत आ.व.को भुक्तानी भएको र चालु आ.व. को करिब ३ महिना व्यतित भइसकेको कारण उक्त बजेट सरकारी राजश्व खातामा फिर्ता भई रकम फ्रिज भई सकेको अवस्थामा सोको भुक्तानी गर्न निक्कै समस्या भयो । सामान्यतया राजश्व खातामा फिर्ता गएको रकम फिर्ता पाउन धेरै कठिन मात्र होइन असम्भव प्राय हुन्छ । यस्तो स्थितिमा मलाई ूतिमीबाट भएको गल्ती तिम्ले नै यसको समाधान खोज्नुपर्छ । जसरी भएपनि भुक्तानी हुनेगरी मिलाउनु, मलाई अरु थाहा छैनू भन्ने हाकिमसावको निर्देशनले मलाई झन समस्या बनायो । यस घटनाले मेरो नोकरी माथी नै शंका पो हुने हो कि भन्ने मनमा डर लाग्यो । घाम पानीको कुनै पर्वाह नगरी त्यस काममा लगातार ६र७ दिन लगाई म माथी आएको समस्यालाई सबै समक्ष व्यहोरा राखी अनुनय विनय गर्दै अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयमा हार गुहार गरी सबैको म प्रतिको सदाशयता र सहयोगमा राजश्व खातामा गएको उक्त रकम फिर्ता ल्याउन सफल भई भुक्तानी गरिएको घटना म कहिल्यै भूल्न सक्दिन ।

मलाई गर्व लाग्छ, मेरो बयालिस बर्षे नोकरी अवधिमा धेरै उतारचढावका साथै विभिन्न समयमा आएका कठिन परिस्थितिहरुको अनगिन्ति सामनाहरुको मानसपटमा अझै ज्यूंदै छन् । अन्य कुराहरुलाई छोडेर नोकरी जीवनका यी तमाम समयभित्र आफू सक्रिय भई सम्पन्न गरेका थुप्रै सकारात्मक कार्यहरुमा सरिक हुने मौका जो मैले प्राप्त गरें र सफलतापूर्वक सम्पन्न गर्न भ्याए पनि त्यसमा आज औधि खुसीको अनुभूति मिलेको छ । तमाम अवधिभित्रको थुप्रै सकारात्मक, रचनात्मक कार्यहरुको बेलिविस्तार गर्ने हो भने अत्यन्त लामो हुन सक्छ । केही छोटोमा केलाउने हो भने नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना पश्चात आयकर तथा मूल्य अभिबृद्धि करको दायराभित्र आएपछि यस सम्वन्धिको प्रचलित ऐन, नियम बमोजिम सम्पन्न गरिनुपर्ने र अभिलेखिकरण गर्ने कार्यका साथै यसको प्रमाणपत्र प्राप्तीका लागि सम्पन्न गरिएका कार्यहरु, साविक सरकारी स्रेष्ता प्रणालीबाट व्यवसायिक लेखा प्रणालीमा रुपान्तरण गर्दा आएका अज्ञानताहरुलाई चिर्दे संस्थागत आयकर र मूल्य अभिबृद्धि कर प्रणालीको लेखांकन, अभिलेखिकरण र यसको भुक्तानी प्रकृयामा केन्द्रियस्तरबाट संचालन गर्ने कार्यमा सम्पन्न गरेका कार्यहरु, प्राधिकरण सेवाबाट निवृत भएका कर्मचारीहरुका लागि निवृतिभरण रकम वितरण गर्ने कार्यलाई बैंक प्रणाली मार्फत् भुक्तानी गर्न सम्पन्न गरेका कार्यहरु, प्राधिकरणमा पहिलोपल्ट आएको कर्मचारी कल्याणकारी कोषको स्थापना पश्चात यस कोषको प्रथम सदस्य सचिव भएर सम्पन्न गरेका कार्यहरु, समयसाक्षेप तयार तर्जुमा भएका विभिन्न निर्देशीकाहरुको मस्यौदा तयार गर्ने कार्यमा सम्पन्न गरेका कार्यहरु, विविध नियमावलीको प्रारम्भिक मस्यौदा तयार गर्ने टोलीमा संलग्न भएर सम्पन्न गरेका कार्यहरु, र अन्य यस्तै धेरै कार्यहरु रहेका छन् जुन यसको आजसम्म निरन्तरता भई नै रहेको दृष्यले मनमा आज औधि आत्मसन्टुष्टि प्राप्त भएको छ । स्पष्टत, यहां मैले आफूले गरेका कार्यहरुको बखान गर्न खोजेको पटक्कै होइन । आफूले के गर्न सकें वा सकिन त्यसको लेखाजोखा भविश्यले अवश्य तय गर्ला जस्तो लाग्छ । मेरा मनका केहि सष्तुष्टिको शब्दरुपी माला मात्र दर्शाउन खोजेको हो ।

सायद मेरो परिश्रम, लगन र अथक मिहेनतका कारणले अवश्य होलान् मैले मेरो कर्मथलोबाट थुप्रै मान सम्मान, पुरस्कार पनि प्राप्त गर्न सकें । देश, विदेशभित्रमा संचालित धेरै तालिम कार्यक्रमहरुमा सहभागी भई प्राप्त गरेका प्रमाणपत्रहरु, प्राधिकरणको स्वीकृत सर्टिफाइड इष्ट्रक्टर, महालेखा परिक्षक र नेपाल चाटर्ड एकाउण्टेण्ट संस्थाबाट मान्यता प्राप्त लेखा परिक्षक, आई.एस.ओ.अडिटरको रुपमा आफूलाई पाउंदा धेरै खुसी लाग्छ । यस बीच साविक हवाई विभागको समयमा नेपाल सरकारको निर्णयानुसार बेरुजु फछ्र्यौट गर्ने कार्यमा संलग्न भएर कार्य सम्पन्न गर्दा त्यसको कदर स्वरुप तत्कालिन पर्यटन मन्त्रालयबाट सम्मान सहितको कदरपत्र, नेपाल नागरिक उड्डयन प्राधिकरणमा बैदेशीक श्रोतबाट संचालित विभिन्न योजना, आयोजनाहरुमा ए.डि.वि.को ऋण सहायताबाट संचालित कार्यक्रमहरुको संचालनमा संलग्न भई कार्य गर्दा दातृराष्ट्र संस्थाबाट कदर भई प्राप्त गरेको प्रशंशा पत्र, तत्कालिन महानिर्देशक श्री राजेशराज दलिज्यू तथा महानिर्देशक श्री संजीव गौतमज्यूबाट प्राप्त नेपाल नागरिक उड्डयन प्राधिकरण वार्षिकोत्सव समारोहमा प्राप्त उत्कृष्ट कर्मचारी कदरपत्र, प्राधिकरण सेवामा २५ वर्ष सेवा पश्चात प्राप्त प्राधिकरण दिर्घसेवा कदरपत्र आदी थुप्रै प्रशंसापत्र तथा प्रमाणपत्रहरु प्राप्त गर्न सकिएकोमा खुसी लागेको छ ।

लामो समयदेखि केहि लेख्ने अनि पढने बानी ममा थियो नै । यसैको निरन्तरता हुनुपर्छ मैले प्राप्त गरेको ज्ञानलाई विभिन्न तालिम कायक्रमहरु अन्तर्गत् संचालित कक्षाहरुमा प्रशिक्षक भएर धेरै वर्ष पढाउने पनि गरें । त्यस्तै, नोकरी सेवा प्रवेश पूर्वको तयारी कक्षाहरुका साथै नेपाल सरकारबाट नियुक्ती हुने विभिन्न पदहरुका लागि संचालन गरिएको पूर्व तयारी कक्षाहरुमा समेत प्रशिक्षक हुने मौका प्राप्त गरें । यसैगरी, नियमित रुपमा प्राधिकरणबाट प्रकाशित हुंदै आएको वार्षिक स्मारिका (सोभिनियर) मा निरन्तर अर्थ सम्बन्धिका विभिन्न विधागत मेरा लेख रचनाहरु प्रकाशित भए । उक्त सोभिनियर तथा सिभिल एभिएशन रिपोर्टका विभिन्न अंकहरुमा सम्पादक (इडिटर) भई यस सम्बन्धिको कार्यहरु पनि सम्पन्न गर्न भ्याएं । साविक हवाई विभागबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा रुपान्तरण भएपछि भएको सम्पति हस्तान्तरण हुंदा भएको गणितिय त्रुटिलाई सच्याउने कार्यमा प्राधिकरणको तर्फबाट आधिकारीक कर्मचारीको रुपमा मलाई नियुक्त भएकोमा उक्त कार्यका लागि अर्थ मन्त्रालय अन्तर्गत् रहेको महालेखा नियन्त्रक कार्यालयमा बनेको उच्चस्तरिय समितिमा रही प्राधिकरणको तर्फबाट नेपाल सरकारमा प्रतिवेदन सहित सम्पन्न गरेका कार्यहरु, प्राधिकरणको महालेखा परिक्षक विभागको अन्तिम लेखा परिक्षणबाट औल्याइएका बेरुजु सम्बन्धमा तहकिकात गरी सोको प्रत्युत्तर पठाउने र प्राधिकरणको आधिकारीक कर्मचारीको रुपमा मलाई संचालक समितिबाट गरेको नियुक्ति, प्राधिकरणको साविक लेखाढांचालाई नेपाल लेखामान बोर्डबाट तोके बमोजिम एन.एफ.आर.एस. अन्तर्गत् लेखा अभिकरण गर्ने कार्यका लागि पूर्व सम्पादन गर्ने कार्यमा नेतृत्व भई गरेका कार्यहरु ताजै रहेका छन् ।

उसोत् आफ्नो क्षेत्र भनेको आफ्नै हुन्छ । आफ्नो क्षेत्रको कार्यमा त सबैले गरेकै हुन्छन् र आफ्नो क्षेत्रमा विशेष दख्खल सबैको हुनैपर्छ नै । तर, आफ्नो क्षेत्रमा भएको दख्खलताले मात्र पुग्छ जस्तो मलाइ लाग्दैन । यहि कारणले पनि होला मलाई आफ्नो पेशा प्रति संधै संवेदनशील भई लाग्न घचघचाई नै रह्यो । केहि सिक्ने जान्ने चाहनामा अविरल लागिरहें । जसको केही अंशहरु राख्न चाहें । आफ्नो कार्यको सेवा, समूहभन्दा पृथक विभिन्न क्षेत्रहरुमा गरिएका कार्यहरु अनगिन्ति मध्ये प्राधिकरणमा सम्पन्न आधिकारीक कर्मचारी युनियन निर्वाचनमा निर्वाचन अधिकृत भई यसको निर्देशीका समेत तयार तर्जुमा गर्ने कार्यमा गरेको कार्यहरुका अतिरिक्त वर्तमान नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समयसाक्षेप नियमनकारी र सेवा प्रदायी संस्थामा छुट्टाछुट्टै दुई निकायको रुपमा स्थापना गर्ने सिलसिलामा यस सम्बन्धिको सम्भाव्यता अध्ययन गर्ने कार्यको जिम्मा ए.डि.वि.को ऋण सहायतामा विदेशी संस्था युनेको अन्तर्गत् भएको कार्य सम्पादनमा उक्त संस्थाको अनुरोधमा प्राधिकरणको तर्फवाट विधागत क्षेत्रहरुको अलग अलग सम्बन्धित क्षेत्रका अनुभवी कर्मचारीको माग भई आएकोमा आर्थिक प्रशासन (फाइनान्सियल एडमिनेशन) विषयका लागि प्राधिकरणको तर्फबाट मलाई छनौट भई उक्त कार्यका लागि काउण्टर पार्टको रुपमा सम्पन्न गरेका कार्य र नेपाल सरकारबाट जारी हुने भावी हवाई नीतिको सम्यौदा तयार गर्ने सम्बन्धमा गठित समितिबाट संचालित कार्यशाला गोष्ठिहरुमा सक्रिय सहभागी भई उक्त नीतिको मस्यौदा तयार गर्ने कार्यमा संलग्न भएर गरेका अनगिन्ति कार्यहरु अझै मानसपटमा ताजै छन् ।

र, अन्त्यमा क्रमशः,
मैले सेवाकालमा अनुभव गरेका बाकी पूर्ण अंशहरु समावेस आगामी प्रकासोन्मुख ूनागरिक उड्डयन सेवालाई फर्केर हेर्दाू नामक मेरो पुस्तकमा…

प्रकासित मिति २०७८–१–२४

फेसबुकबाट तपाईको प्रतिक्रिया