नेपाल-भारत बीचको सन्धि पुनरावलोकनको खाचो

कालिदासबहादुर राउत क्षत्री

नेपाल–भारत वीचको द्विपक्षीय सन्धि सम्झौता अध्ययन पुनरावलोकनको निम्ति गठित प्रवुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप –इपीजी) को दुई दिने बैठक यसै साता सम्पन्न भएको छ । सन् १९५० को मैत्री सन्धि लगायत अन्य सन्धि सम्झौताका विषयमा गम्भिर र सकारात्मक छलफलको सुरुवात भएको मानिएको छ । यसन् १८१६ को सुनौली सन्धि देखि पछि सम्मको कुन कुन सन्धि सम्झौताले के कस्तो नतिजा दियो, प्रभाव पारयो, कमी कमजोरी के रह्यो जस्ता सवालमा प्रवुद्ध समूहले समिक्षा गरी आ–आफ्नो देशको सरकारलाई प्रतिवेदन बुझाउने छन् । दुई वर्षको लागि गठित समूहमा चार चार जना गरी आठ सदस्यीय रहेका छन् । जसमा दुवै देशका प्रवुद्ध तथा कुटनितिक व्यक्तिहरुमा नेपालको तर्फबाट पूर्व परराष्ट्रमन्त्री डा.भेषबहादुर थापा, पूर्व कानूनमन्त्री तथा संविधानविद् निलाम्बर आचार्य, पूर्व सचिव सूर्यनाथ उपाध्याय र एमाले सांसद डा.राजन भट्टराई रहेका छन् । इण्डियाको तर्फबाट भारत उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारी, जयन्त प्रसाद, महेन्द्र पी.लामा र वीएस उप्रेती रहेका छन् । नेपाली टोलीको नेतृत्व डा. भेषबहादुर थापाले र इण्डिएन टोलीको नेतृत्व भगतसिँह कोसियारीले दुई वर्षको लागि गरेका छन् ।
दुवै देशवीचको पौराणिक कालदेखिको सम्बन्ध अथवा पारस्परिक सन्धि सम्झौता बारे नेपालमा विगत केही वर्षहरु देखि आलोचनाहरु टिकाटिप्पणी बढीरहेको परिप्रेक्ष्यमा यी दुवैदेशले पुनरावलोकन गर्न विज्ञहरु सम्मिलित प्रवुद्ध समूह गठन गरेका हुन् । दुई देश वीचका सन्धि सम्झौता बारे राजनीतिक तहमा यसअघि सामान्य छलफलमा सिमित हुन्थ्यो –टुङ्गिन्थ्यो । तर अव लगातार दिल्ली र काठमाडौँमा बौद्धिकस्तरमा मिहिन ढंगले बहस हुने क्रमको थालनी भएको छ । चीरप्रतिक्षित छलफलको सुरुवात भएकोमा स्वागत गर्दै प्रा.डा.गोपाल सिवाकोटी, द्वन्द्वविश्लेषक दिपेन्द्र रोकाया, महिला नेतृ शान्ता श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की लगायत नागरिक समाजका अगुवाहरुले वैठक बस्नु अघि फलदायी बनाउन आव्हान गरेका थिए । प्रधानमन्त्री के.पी.शर्मा ओलीले दुईदेश वीचको सम्बन्ध थप प्रगाढ एवं ऐतिहासिक बनाउने गरी काम गर्न प्रवुद्ध समूहलाई आव्हान गरेका छन् । नेपाली टोलीले नेतृत्व गरीरहनु भएका डा. थापाले नेपाली राजनीति र संविधानको विषय छाडेर बाँकी सबै विषयमा अर्थात् सन्धि सम्झौता सीमा विवाद लगायतका विषयहरुमा सकारात्मक ढंगले द्विपक्षीय छलफलको सुरुवाति गरेका छौ भन्नुभएको छ । सोही पत्रकार सम्मेलनमा भारततर्फको नेतृत्व गर्नुभएका भगतसिँह कोसियारीले नेपालमा धेरैको चासो रहेको सन् १९५० को सन्धि सम्झौतालाई केन्द्रित गरेर सकारात्मक छलफल गरिएको छ, भन्नुभयो । नेपाल र भारत वीचको आफ्नै खालको घनिष्ठ सम्बन्ध रहेकोले त्यसलाई थप बलियो बनाउने गरी छलफल चलाइएको बताउनु हुँदै कोसियारीले सन् १९५० को सन्धि सहित अन्य सन्धि सम्झौतामा कनेक्टिभिटी, व्यापार तथा पारवहन, पूर्वाधार निर्माण, सुरक्षा यातायात, सीमा विवाद, सूचनाप्रविधि र लगानीको विषयमा समेत विवाद अन्त्य हुने गरी छलफल चलाइएको कोसियारीले जानकारी दिएका थिए । विज्ञहरुको मत के छ भने बर्षौ पुराना सन्धि सम्झौताले अहिलेको माग र आवश्यकतालाई सम्बोधन नगर्ने भएकोले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि दुवै देश तयार हुनु पर्ने छ । पुरानो सम्बन्धलाई लिएर घोत्लिनु भन्दा समयानुकुलको सम्बन्ध परिमार्जित गरी झन् मजबुत बनाउनुपर्नेछ । एकअर्काले उन्नति र अस्तित्व स्विकार्नु पर्दछ । सामाजिक र सांस्कृतिक सम्बन्ध रहेका नेपाल र भारत एक अर्काको विकासमा सहयोगी बन्नुपर्छ । रोटी र वेटीको सम्बन्धमा अब दुवै मुलुक माथि उठ्न सक्नुपर्छ । यसै प्रसंगमा कोसियारीले भनेका छन्–भारतले कहिल्यै पनि नेपालको अहित नचाहेको भन्दै विगतका सन्धि सम्झौता पुनरावलोकनका लागि भारत तयार रहेको छ । इण्डियन र नेपालीको रगत एउटै भएकाले भारत नेपाललाई विच्क्याउने र अपहेलित गर्ने पक्षमा छैन ।
गठित विज्ञ समूहको कार्यकाल दुईवर्षको रहेको छ । प्रत्येक तीन तीन महिनामा काठमाडौँ र दिल्लीमा पालै पालो गरी बस्नेछ । यी दुवै मुलुकले पहिलोपटक गठन गरेको प्रवुद्ध समूहले सम्बन्ध सुधारका लागि महत्वपूर्ण र फराकिलो क्षेत्राधिकार पाएका छन् । भारतले क्षेत्रीय प्रभुत्व लाद्ने मौकामा लाद्ने गरेको भुक्तभोगीहरुलाई विगतको सम्झना छ भने आफ्नै पीढीको कटु अनुभव पनि छ । त्यसैले क्रान्तिकारी नेपालीहरुले “भारतीय विस्तारवाद–मुर्दावाद भन्ने नारा पनि विगतमा लगाउथे । पंचायतकालमा वर्कप्रमिट सिष्टम प्रयुक्त थियो । अहिले केहीमा पनि सिष्टम छैन । खुला सीमाना व्यवस्थित गर भन्ने अहिले पनि क्रान्तिकारीहरुको अभियान जारी नै छ । पुलिस चौकीहरु व्यवस्थित गर्ने तस्करी नियन्त्रण गर्ने जस्ता कामहरुको, एक्सरसाइजहरु गरिदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा आएको बेला दुई देश वीच रहेका विवाद र समस्याको प्याकेज निर्माण गर्ने निर्देशनानुसार प्रवुद्ध समूहको गठन नेपाल र भारतमा भएको हो । भारत सँगको गम्भिर मुद्दाहरु यस्ता रहेका छन् । १) सन् १९५० लगायतका अन्य असमान सन्धिहरु खारेज गर (२) कालापानी सुस्ता क्षेत्र अतिक्रमण मिचान वन्दर गर (३) दक्षिणी २१ जिल्लाको विभिन्न ५४ स्थानमा रहेको सीमा विवाद समाधान गर (४) महाकाली सन्धि (५) भुटानी शरणार्थी समस्या (६) वारम्बार उठाइने नागरिकता काण्ड (७) दोहोरो तेहोरो नागरिकता सम्बन्धि, (८) भूपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने निर्विवाद पारवहन हक (९) तराइका सशस्त्र समूहले भारतयि भूमि प्रयोग गर्दै आएको विषय । (१०) भारतयि कम्पनीहरुलाई विद्युत उत्पादनका निम्ति नदी उपलब्धताको मुद्दा । (११) भारतयि राजदूतावासले स्वीकृति विनानै स्थानीय स्तरमा गर्ने गरेको आर्थिक लगानीको मुद्दा जस्ता सम्वेदनशिल विषयहरु सधै विवादित छन् ।
ग्रेटर नेपाल इ.१८१४ मा पुग्दा व्रिटिश इण्डियासँग युद्ध हुँदा अदम्य साहस र महान सौन्दर्य प्रदर्शन गर्दागर्दै अपमान र असमान सुगौली सन्धि सन् १८१६ मा हुँदा देहरादुन –दार्जिलिङ लगायत चालिस हजार वर्ग कि.मि. भूभाग गुमाउनु परयो । सो सन्धि पश्चातको भूभाग मध्यबाट ७ लाख ४४ हजार रोपनी कालापानी क्षेत्रमा भारतले हडपेको छ । झापामा ३२ हजार र ४ लाख ३ हजार विगाह अन्य जिल्लाहरुमा हडपेको छ । नवलपरासी सुस्ताको ६५ हजार विगाह , सुस्ताबाट ९ कि.मि. दक्षिणपश्चिम पर्ने रमपुरुवामा पर्दथ्यो । त्यसपछि पनि भारतले २० हजार ६६१ विगाह थप हडपि सकेको छ । ११ लाख ७९ हजार विगाह भन्दा बढी हडपिएको छ । नेपाली किसानका हक भोगमा रहेका ढोङसोता, रदुवाघोला, धनैया, भेडियारी र पक्लिहवा जस्ता गाउँहरु विहारतर्फ उहिलै नै गाभिए । तत्कालिन सरकारहरुले भारतीय विस्तारवादका कारण पहल गर्न सकेन । यस्तै कारणले पाँचसय मिटर पारीको सीमा स्तम्भ वारी सारेर भद्रपुर मा.वि.को प्राङगणमा ठोक्किन पुगेको छ । झापाको काकडभिट्टा र पश्चिम बङगालको नक्सलवारी जोड्ने नेपाली पुलको २÷३ भाग पछिल्लो नक्शाङकननुसार भारततर्फ परेर जंगे पिलर ठाडै भारतको भएको छ । उत्तरपूर्वी ताप्लेजुङ देखि सुदुरपश्चिमको कालापानी सम्म दुई देशको १८०८ कि.मि. खुला सिमानाको खिचलो भारत सँग ठाउठाउमा कायमै छ । अर्को खुर्दनलोटन बाँध, लक्ष्मणपुर बाँध, बबई, मोहना, कोयलावास, दर्राखोला, महलीसागर, दण्डाफेरका, खजुर र बागमती जस्ता तटबन्धहरुको डुवान पीडा बेग्लै सालन्ना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया