नेपाल र म्यानमारबीच ऐतिहासिक खेल आज

काठमाडौं १५ फागुन, २०८१ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज नेपाल र म्यानमारबीच दशरथ रंगशालामा साँझ ५ बजे हुँदैछ। नेपाली टोली आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ। नेपाल र म्यानमार दुवैले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेका थिए। दुवै टोली अपराजित रहेर सात-सात अंकसहित शीर्ष स्थानमा थिए, जसमा गोलअन्तरका आधारमा म्यानमार पहिलो स्थानमा थियो।

लिग चरणमा यी दुई टोलीबीचको खेल २-२ को बराबरीमा टुंगिएको थियो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले शानदार खेल प्रदर्शन गर्दै गोल गरेकी थिइन्। त्यसै आधारमा फाइनलमा पनि नेपाली खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। नेपालका प्रशिक्षक राजेन्द्र तामाङले उपाधि जित्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “घरेलु मैदानमा खेल्न पाउनु हाम्रो लागि ठूलो अवसर हो। म्यानमार बलियो टोली हो, तर हामी जित्न सक्षम छौं।”

फाइनल खेलका लागि टिकट दर सामान्य सिटका लागि १,००० रुपैयाँ र भीआईपी सिटका लागि २,००० रुपैयाँ निर्धारण गरिएको छ। म्यानमारका प्रशिक्षक तेत्सुरो उकीले नेपाली टोली बलियो रहेको स्वीकार्दै भने, “फाइनल रोमाञ्चक हुनेछ। हामी सबै खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछौं।” दशरथ रंगशालामा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहने अनुमान गरिएको छ। नेपाली टोलीलाई घरेलु दर्शकको साथ रहने भएकाले यस पटक उपाधि नेपालमै रहने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया