नेपाल लाइफद्वारा ६९.६२ अर्वको दावी भुक्तानी

काठमाण्डौ २२ मंसिर २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्व दावी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्व दावी भुक्तानी गरेको हो।

बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको कम्पनीले उल्लेख गरेको छ ।

नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा १३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेन्सनल अन्तर्गत ११,१७७ जना लाई ३ अर्व ७१ करोड र बैदेशिक रोजगारी तर्फ २,३३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको जनाएको छ ।

यस कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको उल्लेख गरेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी फर्स्योट भई सकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको जनाएको छ ।

कम्पनीका अनुसार यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कम्पनीले जनाएको छ । दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाइटमा समेत सूचना सम्प्रेषण गरेको उल्लेख गरेको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया