नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौँ ३ जेष्ठ २०८१-नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो ।
डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद् र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य, मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वन मन्त्री माननीय नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिनुभएको थियो ।
कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस पहलबारे भन्नुभयो, “वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।”
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरहरुको सहभागिता रहेको उक्त छलफलको उद्धघोसक टफ टकका आयोजक दिलभूषण पाठकले गरेका थिए ।
यस सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरुको बारेमा छलफल गरिएको थियो । उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो । साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो ।
वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले भन्नुभयो, “यो सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको छ । साथैमा यस सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको छ ।”
प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाको मन्तव्यले वातावरणीय चुनौतिहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएको थियो । उहाँहरूको मन्तव्यले दिगो समाधानहरू बढाउन संयुक्त शक्तिको आवश्यकतालाई हाइलाइट गरेको थियो ।
नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब १,००० प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए ।
डब्लुएमसिसिले सरकारी कर्मचारी, सांसद, कूटनीतिज्ञ र उद्योगहरुलाई अग्रणीलाई एकताबद्ध गर्न राष्ट्रिय मञ्च प्रदान गरिएको थियो। यसले नेपालको फोहोर व्यवस्थापन र जलवायुको एजेन्डालाई अगाडि बढाउन सहयोग गर्नुका साथै नीतिगत संवादलाई पनि बढावा दिन सफल भएको थियो ।
उक्त सम्मेलन विभिन्न सरोकारवालाबाट ठोस प्रतिबद्धताहरु सहित समापन भएको थियो । साथमा भविष्यका लागि एक स्पष्ट रोडम्याप सेट भएको आयोजकहरुले बताए । सम्मेलनमा प्रस्तुत भएका सहयोग र नवीन विचारहरूले फोहोर व्यवस्थापन र वातावरणीय नीतिहरूमा उल्लेखनीय सुधारको लागि आधार पनि तयार पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया