‘नेपालमा होटल म्यानेजम्याण्ट पढ्ने विधार्थीहरु संसारभरी आर्कषक रोजगारीको हिस्सेदार छन्’

बसन्त जोशी, निर्देशक, एआइटिएम– स्कूल अफ होटल म्यानेजम्याण्ट, खुमलटार

१) नेपालमा ‘होटल म्यानेजम्याण्ट’ शिक्षाको महत्व र सान्दर्भिकतालाई यहाँले कसरी लिनु भएको छ ?

होटल म्यानेजमेण्ट शिक्षाको कुरा गर्दा सबैभन्दा पहिला संसारमा होटलहरुको अवस्था के छ ? भनेर बुझ्न जरुरी छ । किनभने होटल क्यानेजमेण्ट पढ्ने विधार्थीहरुसँग भोलीका दिनमा होटलमा काम गर्ने या आफ्नै होटल वा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने जस्ता दुइ ओटा रोचक विकल्प जोडिएका हुन्छन् ।

बिस्वमान चित्रमा हस्पिटालिटी उद्योगको पृष्ठभुमी हेर्दा एउटा तथ्यांक अनुसार संसारमा अहिले जम्मा ७ लाख होटलहरु छन् । त्यसमा डेढ करोड तालिमप्राप्त जनशक्ती काम गर्दछ । डेढ करोडमा हरेक बर्ष १० प्रतिशतको अबकाश दर (Retirement Rate) बाट हेर्दा १५ देखि २० लाख मान्छे हरेक बर्ष यस उध्योगबाट टाढिने गर्छ र त्यो रिक्त स्थानमा तेत्तिकै संख्यामा जनशक्ती भर्ना हुनुपर्ने तथ्यांक देखापर्छ। होटल म्यानेजमेण्ट शिक्षा लिएकको यति धेरै जनसक्ती हरेक बर्ष संसारभर तयार हुनुपर्छ । यसबाट होटेल म्यानेजमेण्ट शिक्षाको भबिष्य आकलन गर्न सकिन्छ । त्यही कुरा नेपालको सन्दर्भमा हेर्दा होटल एसोसिएसन अफ नेपालको २०१६-२०१७ को तथ्याङक अनुसार नेपालमा मात्रै २५०० होटल छन् । त्यसमा चानचुन ३ लाख जना काम गर्छन् । त्यो तीन लाखको १० प्रतिशतको अबकाश दर (Retirement Rate) हेर्दा जम्मा ३० हजार जना हरेक बर्ष कोहि अवकाश हुन्छन, कोही छोड्छन् भने  कोही आफ्नै अन्य कुनै  ब्यबसाय गर्छन् । यो  ३० हजार होटेल छोडेका व्यक्ति जो छन् त्यसमा फेरी संख्या परिपूर्ति हुनुपर्यो। त्यही परिपूर्ति हुनुपर्ने संख्यानै नेपाली होटेल व्यबशायको अहिलेको माग हो । भन्नुको अर्थ न्युनतम ३० हजार मान्छे हामीलाई हरेक बर्ष चाहिएको छ। अझ अन्य साना तथा मझौला होटेल तथा लजहरु हेर्ने हो भने यो संख्या सात हजार  पुग्छ र आवश्यक जनशक्ती पचास हजार  भन्दा बढी हुन्छ । तर एउटा आश्चर्यजनक कुरा के छ त भन्दा हामीसँग अहिले पचास  भन्दा बढी होटल म्यानेजमेण्ट कलेजहरु छन् र यी कलेजहरुबाट औषत २५ सय विधार्थी हरेक बर्ष दिक्षित हुने गरेका छन् । साना तथा मझौला होटल म्यानेजमेण्ट ट्रेनिङ्ग सेन्टरहरुबाट ४–५ हजारसम्म जनशक्ती हरेक बर्ष उत्पादन हुन्छ र  यो पनि जोड्ने हो भने नेपालमा होटेलको लागि हरेक बर्ष ६ देखि ७ हजार जना तालिम प्राप्त जनशक्ती उत्पादन हुन्छ तर माग भने न्युनतम ३० हजारको छ । जहाँ माग ३० हजारको छ त्यहाँ ३०० जना पनि कामगर्न चाहदैन किन भने सबैजना बिदेशमा गएर काम गर्न चाहन्छन। अहिलेको जनशक्तीको गन्तब्य स्थान भनेको दुबई, कतार, ओमान, मलेसिया लगाएतका अन्य खाडी मुलुकहरु हुन् ।

समग्रमा हेर्दा १० प्रतिशतले मात्र बाध्यताबश नेपालमा काम गर्छन् । ९० प्रतिशत उत्पादित जनशक्ती हरेक बर्ष विदेशमा जाने गर्छन् । अहिले हस्पिटालिटी शिक्षाको र समग्र होटेल व्यवसायको प्रथम चुनौती यही नै हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने भन्ने लक्ष्य राखेको छ । सन् २०११ मा ‘नेपाल भर्मन बर्ष २०११’ भन्ने नारा सहित मनाइएको थियो । त्यतिखेर १० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य थियो र अहिले यो शंख्या दोब्बर बनाएर २० लाख पुर्याइएको छ । त्यसरी आकलनको रुपमा पर्यटकको सङख्या बढाउँदैमा पर्यटक आइहाल्ने होइनन् । यसको अर्कै पृष्ठभुमी छ । आकर्षणका बिषयहरु, स्थानीय खानाको स्तर, अस्पताल , बाटोघाटो, विमानस्थल र बस्नका लागि स्तरीय होटलहरु भए भने मात्र  स्तरीय पर्यटक नेपाल आउने हो । पर्यटकले तिरेको पैसा राम्रो आयो भने मात्रै नेपालमा उत्पादित जनशक्तीले राम्रो तलब पाउने र नेपालमै काम गर्ने बाताबरण बन्छ अन्यथा दक्ष्य जनशक्ती विदेशनै जाने हो । हाम्रो देशमा उत्पादित जनशक्तीले खासै नेपाललाई कुनै किसिमको ठुलो योगदान दिएको म देख्दिन । तर हामीले उत्पादन गरेका छौ । बढी जनशक्ती  बाहिर जान्छ बाहिरबाट रेमिट्यान्स त आउँछ तर ब्रेन डेन भएको अवस्था छ ।

२) ए. आइ. टी. एम. कलेजमा होटल म्यानेजमेण्ट शिक्षा पढ्नका लागि के कस्ता सेवा सुबिधाहरु विधार्थीले पाउँछन् । के छन् कलेजका विशेषता ?

हामीले सुरुवातबाटनै होटल म्यानेजमेण्ट कलेज खोल्ने भनेर यो कलेजको निर्माण गरेका हौ । सन् २०१० देखि स्विजरर्लैंडको आइ. एम. आइ. बिश्वबिद्यालय संगको सम्बन्धमा पहिले ३ वर्षीय र अहिले आएर ४ बर्षीय स्नातक तहको होटेल व्यवस्थापन बिषयको अध्यापन गराउदै आएका छौ । होटेल व्यवस्थापन बिषयमा नेपालमै अन्तरास्ट्रिय स्तरको  शिक्षा लिनसक्नुनै विद्यार्थीकोलागि प्रमुख सुबिधाको बिषय हो । अन्य सुविधाहरुको कुरा गर्दा ए. आइ. टी. एम. मा पढेका विधार्थीहरुले कुनैपनि पाँचतारे होटलमा गएपछि तुलनात्मक रुपले हेर्दा पाँचतारे होटल यस्तो हुँदो रहेछ र  हाम्रो त श्रोत-साधनहरु नै रहेनछ भन्ने किसिमको गुनासो कहिले सुन्नुपरेन । विधार्थीहरु गर्भकासाथ हामी त फाइब स्टार क्याम्पसमा पढेको पो रहेछ भन्ने प्रतिक्रिया दिन्छन । हामीले होटेल ब्यवस्थापन शिक्षाका लागि चाहिने सम्पूर्ण पुर्बाधार (लाइबेरी, ल्याब, क्लास रुम, पढाउने शिक्षक, शिक्षक र बिध्यार्थीको अनुपात, अतिरिक्त क्रियाकलाप, इन्टरनसिप) जस्ता कुनै कुरामा पनि compromise गरेका छैनौ। समग्र हाम्रा सुबिधाहरु विश्व स्तरीय छन् ।

३ ) नेपालको परिपेक्षमा होटल म्यानेजमेण्ट पढेकाहरुका लागि रोजगारीको अवसर कस्तो छ ?

हाम्रो देशलाई बार्षिक रुपमा चाहेको माग भनेको न्युनतम ३० हजार तालिम प्राप्त जनशक्ति हो । त्यो पुरा हुनै सकेको छैन । त्यो ठाउँमा होटलहरुले आफ्नै किसमको योजनामा जनसक्ती निर्माण गरि राखेको अवस्था छ। हाम्रा विधार्थीहरु लगभग ८० प्रतिशत बजारमा स्थापित भइसकेका छन् । कसैले आफनै रेष्टुरेन्ट खोले भने  कोही विदेशका होटलहरुमा काम गर्छन् । तर नेपालको होटलको स्थीति हेर्ने हो भने यहाँ पाँचतारे होटलहरु जम्मा ५–६ ओटा मात्रै छन् । हरेक मान्छे पाँचतारे होटलमै काम गर्न चाहन्छ । ठुलो कलेजमा पढेर साना तथा मझौला होटेलहरुमा काम गर्ने चाहना कमैको हुन्छ। यो हुनु स्वाभाविकनै हो। पाँचतारे होटेलमा  बढी कुरा सिकिन्छ कि भन्ने उनीहरुका चाहना हुन्छन् तर पाँचतारे होटेल को संख्या कम भएकोले  त्यसमा हरेक बर्ष सय जनाको पनि माग हुदैन । उत्पादन ६-७ हजार छ तर पाँचतारे मात्रैको होटेलको माग धेरै कम भएकोले हाम्रो विधार्थीहरुले नेपालमै काम गरेर नेपालको होटलहरुको माग र आपूर्ति सन्तुलन हुन  सक्ने अवस्था छैन ।

४) रोजगारीसँग जोडिदिने काम यस कलेजले गर्छ की गर्दैन ?

कलेजले रोजगारीको लागि कुनै किसिमको ग्यारेन्टी दिदैन । यो सबै  विधार्थीमा भर पर्ने कुरा हो तर पनि होटलहरु संगको सम्बन्ध जोड्ने काम कोलेजले अवस्य गर्दछ । विधार्थीहरु होटल म्यानेजमेन्ट पढ्न सजिलो छ, व्यवसायमुलक छ, भोलीका दिनमा नोकरी  तुरुन्त पाइन्छ भनेर पढछन्  तर गम्भीर भएर नपढ्ने हो  भने भविष्यमा परिणाम नकारात्मक पनि हुनसक्छ। त्यसैले अहिलेको हिसावले हेर्ने हो भने होटल म्यानेजमेण्टको शिक्षा र नोकरीको बिषयमा सत प्रतिशत विधार्थीहरुले राम्रो गर्छन भन्न सकिदैन तर राम्रो विधार्थीहरु ८० प्रतिशत जसो धेरै राम्ररीनै स्थापित भैसकेका छन् ।

५) नेपाल विश्वमै पर्यटकीय रुपले आर्कषक गन्तब्य भएको अन्र्तराष्ट्रिय स्तरकै धेरै ओटा अनुसन्धान रिर्पोटहरुले देखाउँदै आएको छ । यस्तो परिस्थीतिमा नेपालमा हालसम्म भएको पर्यटकीय होटल रेष्टुरेन्टहरुको यहाँले कसरी मुल्याङकन गर्नुहुन्छ ? यस क्षेत्रमा के कस्ता सुधार वा परिवर्तन आवश्यक देख्नुहुन्छ ?

अहिलेको विश्व “इको होटल डेभलवमेन्ट” अथवा “सस्टेनेबल होटल डेभलवमेन्ट” अर्थात् “दिगो होटेलको बिकाश” को अबधारणामा गइसकेको छ । दिगो होटेलको बिकाश दिगो पर्यटनको  विकासमा संग सम्बन्धित छ। अहिलेका अथितिहरु खानका लागि मात्रै होटलमा जाँदैनन् । उनीहरुलाई खानपीन भन्दा बिश्व स्तरीय सर्भिसको जरुरत छ । नेपालको सत्कार परम्परा भिन्न र उच्च स्थरको छ एसको चर्चा परिचर्चा संसार भरिनै हुन्छ । नेपालीहरुलाई मुस्कानका धनी पनि भनिन्छ जुन होटेल ब्यबसायको लागि चाहिने अति आवश्यक गुण हो । नेपाल एउटा यस्तो देश छ जसलाई स्वीजरल्याण्डसँग हामी दाँज्न सक्छौ । नेपाल र स्वीजरल्याण्डको प्राकृतिक सुन्दरता उस्तै हो । हामीले त्यसको उपयोग गर्न जानेका छैनौं । उनीहरुले जानेका छन् फरक त्यत्ति हो । नेपालको  आर्थिक उन्नति र बिश्व पहिचनको लागि पर्यटन भन्दा अरु कुनै विकल्प छैन। पर्यटनको बिकासको पहिलो आधार स्तम्ब भनेको प्रयटकहरुको सहज पहुच हो । मानौ फ्रान्समा कसैलाई नेपाल जान मन लाग्यो भने त्यहाँबाट नेपालका लागि प्रत्यक्ष हवाई सुबिधा हुनुपर्छ। अहिले सरकारले बायुसेवामा गरेको लगानीलाई सकरात्मक मान्नुपर्छ। यो सहजता नेपालमा भित्रिन मात्रै नभएर नेपालभित्रैबाटै अन्य गन्तब्यमा जान पनि हामीसँग राम्रो किसिमको अन्तरिक बायुसेवा र  राम्रा सडकहरु हुनुपरयो। अहिले काठमाण्डौको स्थीति हेर्दा निकै दुख लाग्छ । सडकको नाजुक अवस्था र यातायातको चापको कारण  पर्यटकलाई एयरपोर्टबाट कुनै होटलमा लैजानलाई नै दुइ घण्टासम्म लाग्ने अवस्था देखिन्छ ।

प्रस्तुती : रिसव गौतम

प्रकाशित मिति २०७५-४-३०

फेसबुकबाट तपाईको प्रतिक्रिया