‘नेपाली औषधीको निर्यातमा सरकारको मुख्य भुमिका हुन्छ’ औषधी व्यवसायी घिमिरेसँगको अन्तर्वार्ता

शंकर घिमिरे, अध्यक्ष–एसियन फर्मासिटिकल प्रालि
निर्बतमान अध्यक्ष–नेपाल औषधी उत्पादक संघ

१) औषधी व्यवसायको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो । हाल यहाँको कम्पनीले के कतिलाई रोजगारी र आय आर्जनको अवसर दिलाएको छ ?

हामी पहिले देखि नै व्यापार क्षेत्रमा लागेका हौं । हाम्रो बुवाहरु, भिनाजुहरु, दाइहरुले नै व्यापारहरु सुरु गरेका हुन् । त्यहि सिलसिलामा एउटा पछी अर्को के गर्ने भन्ने सिलसिलामा मेरो भिनाजुले केही स्टकेजहरु लिनु भएको थियो । उहाँले ल औषधीको व्यापार गरौं भनिसकेपछि हामी यस व्यवसायमा लागेका हौं । अहिले उहाँ एसियनको एमडी हुनुहुन्छ । हामीले पार्टनरै पाटनर मिलेर काम गरेका छौ । यस उधोगले अहिले करिव–करिव ३ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । मार्केटिङमा ८० जना जति छन् । अरु फ्याक्ट्री तिर गरेर जम्मा ३ सय जना छन् । यसमा दक्ष जनशक्तिहरुको बढी काम छ । औषधी बनाउने फर्मासिस्ट वैज्ञानिकहरु छन् । औषधी सम्बन्धि नै वीज्ञहरु, सर्भे गर्ने, पिएचडी गरेकाहरु, एमएससी गरेकाहरु, फर्मासिष्ट गरेकाहरु सबैको काम छ । अप्रत्यक्ष त ८–९ सय जनालाई हामीले रोजगारी दिएका छौ ।

२) नेपालमा औषधी व्यवसायको अवस्था, गुणस्तर र सम्भावना एवं चुनौतीहरु के छन् ?

सम्भावना भन्ने कस्तो रहेछ भने चप्पलै नलगाएको ठाउँमा चप्पल बिक्दैन भनेर एउटा मार्केटिङले भन्यो अथवा भन्याथ्यो भनेजस्तै अर्को मार्केटिङले खाली रहेछन् सबैका गोडा अब यिनिहरुले लगाउँछन् भनेर लगाइ दिएको हो नी । अनि बनाइएको होनी चप्पलहरु । त्यो हामीले मार्केटिङमा पढ्छौ पनि । त्यसकारण नेपालमा उधोग खोलेर निर्यात गर्न सक्यो भने निकै ठुलो सम्भावना छ । यहाँ औषधीका लागि हावापानी सुहाउँदो छ । त्यसैले यहाँ सम्भावना अत्यन्तै छ । तर यहाँको मानसिकता, सिस्टम, सरकारको मानसिकता, काम गर्ने मान्छेहरुको मानसिकता चाँही हामी गरिव छौ । केही गर्न सक्दैनौ । यस्तै हो भन्ने छ । त्यसरी हिँड्यो भने केहीपनि हुदैन । हामी अर्काको परनिर्भर भएर बाँच्नुपर्छ । हामीले गर्न सक्छौ भन्ने हो भने अहिले देखिइरहेको छ नी त टनेल बनाएर टमाटर खेती गरेको, विना माटो खेती गरेको, इजराइल गएर आए, यो सिके भनेका छन् त्यस्तोलाई प्रोत्साहन दिएर अघाडी बढायो भने हरेक चीज हुन्छ यहाँ । औषधीको पनि एकदम राम्रो सम्भावना छ । गुणस्तर भनेको पनि मान्छेले कन्ट्रोल गर्ने चीज हो । हाम्रो सिस्टमले कन्र्टोल गर्ने चीज हो । अहिले नेपालका औषधी उधोगहरु यति राम्रोसँग गुणस्तर दिइरहेका छन् की ग्यारेन्टी दिन सकिने गुणस्तर छ । म निर्वतमा अध्यक्ष हो औषधी उत्पादक संघको । हाम्रो टीम नै यस्तो बलियो छ की सबै राम्रो काम गरिरहेका छौ । राम्रोतर अघाडी बढेका छौ । अहिले जति दर्ता छ सबैलाई म राम्रो त भन्दिन । कोही अझ आँउदै हुनुहुन्छ । हाम्रो सोच राम्रो बनाएरै काम गर्नुपर्छ भन्ने नै छ । हामीले बनाएको औषधी हाम्रै परिवारले खान्छ । हाम्रै आफन्तले खानुपर्छ । हामीले अर्को चीज बनाएर हुदैन । त्यसैले ग्यारेन्टी दिन किन सकिनेछ भने नजिकै उधोग छ । तुरुन्त चेक गर्न सकिने छ । त्यसैले गुणस्तरमा पनि हामी अत्यन्तै राम्रो छौ ।
त्यसैगरी चुनौती पनि अत्यन्तै छ । यहाँ कस्तो छ भने हल्लाको भरमा, फेसबुकको भरमा मान्छे लाग्छन् । फेसबुकमा सरकार छ । फेसबुकले सरकार चलाए जस्तो छ हिजोआज । त्यसले भ्रम सिर्जना भइरहेको छ । फेसबुकमा यस्तो–यस्तो मिसाएर खायो भने क्यान्सर निको हुन्छ, ब्लडप्रेसर निको हुन्छ भन्छन् । मान्छे कतिले औषधी छोडेर त्यो पनि खाइरहेका छन् । त्यो यदी सत्य हो भने त ठीक छ । हाम्रो आर्युवेद बहुत बलियो छ । तर रिसर्च गरेर लेखिएको फेसबुकको म्यासेज भए ठिक छ । होइन भने मैले यो लामो भुमिका जोड्न किन खोजेको भने हामीले हावाको भारमा हिँड्न हुदैन । औषधी भनेको कुनैपनि बिमारीले उसको हेल्थ चेक गर्दा लाग्ने खर्चमा ३० प्रतिशत मात्रै हो औषधी । त्यो ३० प्रतिशत औषधी खानेमा पनि नेपालले बनाएको भनेको विदेशबाट ६० प्रतिशत आउँछ, ४० प्रतिशत जस्तो हामीले बनाउँछौ । ३० प्रतिशत भित्रको पनि ६० प्रतिशत हामीले बनाएकै होइनौ । हामीले ठिकैको बनाएर दिएका छौ, सस्तो भन्दैनौ । सस्तो भन्ने बित्तिकै सस्तो के दिन सकिन्छ र ? केही सकिदैन । सस्तो बनाउन दान माग्नु पर्छ । अरुसँग दान माग्ने अनि सस्तोमा बाँड्ने । त्यसलाई पनि प्रिजब गरेर राख्न पैसा लाग्छ फेरी । सरकारले अनुदान दिनुपर्छ भनेपछी रिजनेबल प्राइसमा दिनुपर्छ । त्यसबाट नेपालका गरिव जनताले औषधी खाएर बाँच्न गाह्रो, छोराछोरीको बिवाह गर्न राखेको पैसालाई उनीहरुले अप्रेसन गर्न जान्छन् । घरमा दशैमा खामला भनेर राखेको घिउ–तेल बेचेर औषधी खान परेको हुन्छ । त्यस्तो संवेदनशील चीजलाई कुनैपनि औषधी उधोगले जथाभावी मुल्य राख्नु हुदैन । गुणस्तरको मुल्य लिनप¥यो । गुणस्तर देउ, बरु २ पैसा बढी लेउ, बनाउन अत्यन्त बढी लागत पर्ने औषधी छ भने सरकारसँग अनुरोध गर, सरकारले अनुदान देओस् जनतालाई खानलाई । तर औषधी देशमा बनोस् भन्ने हाम्रो धारणा हो । हामीले भनेको महगो परेपनि औषधी नेपालमै बनोस् । परनिर्भरता नहोस् । सस्तो–महंगो हामीले नहेरौं । गुणस्तर र रिजनेबल प्राइसमा हामीले निकालौं । सस्तो महंगो हेर्ने सरकारले गरोस् । सरकारले महंगो प¥यो यो औषधी भन्यो भने जनतालाई अनुदान दिएर सस्तो गरोस् । हामीले सस्तो गर्न लाग्यौ भने गुणस्तर त बर्बाद होला भन्ने डर हुन्छ । त्यसैले हाम्रा औषधी सस्तो छ भन्न मिलेन । चुनौती यिनै हुन् । हल्लै–हल्लामा मान्छेले महंगो लिएका छन् भन्ने छ । गहिरिएर हेर्यो भने भारत जस्तो त्यत्रो विशाल देश जहाँ यतिधेरै उधोग छन् । त्यहाँ एउटा रेट बनिसकेको छ । उनीहरुले डिपिसिओ भन्ने रेट राखेको छ । त्यस्तै रेटहरु गर्भन गरेर नेपालले गर्यो भनेपनि त्यो नियन्त्रण गर्न सकिन्छ । यस्ता–यस्ता चुनौता छन् । कतिपयले औषधीको सिसि भित्र किला भेटियो भनेर पनि गलत हल्लाप पिटाए । त्यो विल्कुल गलत हो । हाल्छु भन्दापनि हाल्न सक्नुहुन्न तपाइले फयाक्ट्री भित्र गएर किला । त्यो विर्को नक्कली बनाएर, विर्को क्याप बनाएर पैसा ठग्नेहरु छन् । अब कहिलेकाँही भुलबश कालो पार्टहरु केही जानसक्छ । त्यो मानवीय गल्ती हो । त्यो कम्पनीले हेरेर रिर्टन गर्छ । त्यसले मान्छेलाई असर गर्ने चीज प्mयाक्ट्री भित्र पसेको हुदैन । त्यति डराउनु पर्ने हुदैन । मानवीय गल्ती भएर औषधीहरु केही–केही कमजोरी हुन्छ । त्यसलाई क्षतीपुर्ती स्वरुप यो ब्याजको औषधी हामी रिर्टन लिँदैछौ भनेर संसारको ठुलो–ठुलो कम्पनीले पनि रिर्टन ल्याएको हुन्छ । त्यो रिर्टन लिएपछी त्यो ब्याज खान दिइदैन । तर त्यो ब्याज टेष्ट गरेर हेर्दा पनि नराम्रो चाँही हुदैन । माइनर मिस्टेकहरु हुन्छ । तर त्यो भयो भने हल्ला यहाँ के हुन्छ भने खत्तम बनायो । फयक्ट्री चौपट भयो । एकदम थडक्लास छ भन्ने । अनि त्यो हल्ला फेसबुकमा यसरी चल्छ की भोली कम्पनी बन्द भयो भनेपनि देशको नोक्सान । अनि इच्छा मर्यो भने मान्छेले के गर्ने । हल्लै नहुने चीज पक्डीयो भने एकचोटी हो । नभएदेखि सुनकाण्डमा लागे भयो । जग्गा जमिनमा लागे भयो । मान्छेले जग्गा जमिनको व्यापार गर्यो भने कसैको गाली नै खाइएन नी ।

३) नेपालको औषधी गुणस्तर हुँदाहुँदै विश्वबजारमा किन जान सकेन ?

विश्व बजारमा जानलाई गाह्रो छ । पहिला त सरकारलाई नै विदेशले विश्वास गर्नु प¥यो । तपाइ हाम्रो पासपोर्टको भ्यालु के छ ? हामी कति ओटा देशको भिषा सजिलै पाउँछौ ? हाम्रो विनोद चौधरीजीले लेखेको किताब, उपेन्द्र महतोले लेखेको किताब, जिवा लामिछानेले लेखेका आर्टिकल पढेका छौ नी । उहाँहरु जस्तो त्यत्रो इन्डष्ट्री भएका मान्छेहरु, मैले ३ जनाको मात्रै नाम लिएँ, त्यस्ता थुप्रै हुनुहुन्छ । उहाँहरु जस्तो व्यक्तिहरु विदेश जाँदा पनि एयरपोर्टमा काम गर्न आएको झै गरेर हेरिन्छ, लेबर आयो भन्ने हिसावले हेरिन्छ । हाम्रो देशको पासपोर्टको इज्यत बनाऔं । देशको इज्यत बनायौ । राजनीतिक पार्टीहरुको इज्यत बनायौ भने अनि बल्ल प¥याउँदो रहेछ विदेशले । जो पायो त्यसलाई विश्वास गरेर यसले बनाएको औषधी ठीक भन्दैनन् । यसमा राज्यको भुमिका ठुलो हुन्छ । औषधीमा अहिले अलिअलि सुरु भएको छ निर्यात । अफ्रिकन देशहरुले दुइ चार ओटा कम्पनीको लगेका छन् । धेरै मात्रामा नलगेपनि विश्वासको वातावरण बन्दैछ । यो बढाउनलाई राज्यले अलिकति सरल र अलिकति सिस्टम बनाउनु पर्यो । गुणस्तरलाई कुनै हालतमा सरल गर्न हुदैन । गुणस्तरमा च्यालेन्ज गरेर टुप्पी समाएर ठीक गर्नुपर्छ । अरु चीजमा सरल गरिदिएर निर्यात गर्नुपर्छ । जस्तो भारत कै कुरा गरौं । भारतले विदेशमा लगेर औषधी बेच्नेलाई रजिष्टर गर्ने खर्च दिन्छ कम्पनीलाई । मेलामा भाग लिनेलाई पैसा खर्च गरिदिन्छ । रजिष्टर गर्न भनेको ५० हजार डलर लाग्छ । अनि एउटा एउटा औषधीको ५–६ हजार लाग्छ । त्यो मान्छेहरु जाँदा आँउदा एउटा औषधी बेच्न जाम, विदेशमा एउटा औषधी रजिष्टर गरौं भन्ने हो भने ५०–६० लाखको कुरा आउँछ । बिक्छ की बिक्दैन डर हुन्छ । मैले ४ ओटा औषधी गर्न गएँ भने २–३ करोडको कुरा आउँछ । त्यस्तोमा सरकारले हेल्प गर्नुपर्यो । सरकारले हल्प गर्यो भने राजस्व आउँछ । यहाँ मान्छेले पनि काम पाउँछन् । विदेश जाने लेबर लैजान परेन । त्यो बंगलादेशले त्यसै गर्यो । बंगलादेश धेरै अघाडी बढ्यो । ११२ ओटा देशमा औषधी उसले निर्यात गर्छ ।

४) नेपाल के औषधीमा आत्मनिर्भर छ । हुन सक्ला ?

छैन–छैन । औषधीमा कुनैपनि देश आत्मनिर्भर छैन । संसारमा औषधी बनाउने देशहरु स्वर्जरल्याण्ड, जर्मन, अमेरिका तिनीहरु पनि पुर्ण रुपमा औषधी आफ्नो बनाएका छैनन । आत्मनिर्भर औषधीमा किन हुदैन भने यो टपिस नै औषधीलाई लागु नहुने चीज हो । सबै चीज बनाउन गाह्रो छ । केही न केही बाहिरबाट मगाउनु पर्छ । कुनै चीज कहाँ पाउँछ । भोली विहान हामी रिसर्च गर्दै गयौं भने सायद हिमालय हर्जहरु छ नी त्यसबाट हामीले मोलिक्यिुज बनाउन सक्यौं भने संसारमा अमेरिका–जर्मनले पनि हामीसँग नकिनी नहुने हुनसक्छ । अनि कसरी त्यो प्रोडक्टमा अमेरिका आत्मनिर्भर हुनसक्छ ? हुदैन । भनेझै नेपाल पनि आत्मनिर्भरतिर उन्मुख त छ । जस्तो के भने बंगलादेशले अहिले ९५ प्रतिशत आफ्नो औषधी बनाउँछ । भारतले पनि ९८ प्रतिशत सम्म आफुलाई चाहिने औषधी बनाएको छ । तर उ पनि बाहिरबाट ल्याउँछ । कच्चा पर्दाथ हेर्ने हो भने भारतले पनि सबै चाइनाबाट ल्याउने हो । अहिले संसारको सबैभन्दा धेरै कच्चा पदार्थ सप्लाइ गर्ने देश चाइना हो । अमेरिकाले पनि एन्टोबाइटिक ९० प्रतिशत चाइनाबाट आयात गर्छ । त्यसैले आत्मनिर्भर केलाई भन्ने । कच्चा पर्दाथ नभइ भएन । बनाउने चीजमा जे हो अहिले सरकारले राम्रो नीतिहरु अपनाइदियो भने हामीले ७० प्रतिशत दखि ८० प्रतिशत औषधी बनाएर नेपाललाई आत्मनिर्भर बनाउन सक्छौ । ३० प्रतिशत किनेर खानु पर्ने हुन्छ । ३० प्रतिशतलाई भोली नाकाबन्दी हुँदा पनि एयर लिफ्टीङ गरेर ल्याउन पनि सजिलो हुन्छ नी । त्यसैले सरकारले त्यतातिर सोच्न जरुरी छ ।
प्रस्तुती : रिसव गौतम /जर्नादन उपाध्याय

प्रकाशित मिति २०७५-३-१४ 

फेसबुकबाट तपाईको प्रतिक्रिया