नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौँ, १३ फागुन । नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
नेपाली सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम छ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने छ । त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।
सेना दिवसका अवसरमा आयोजित पृतना समन्वय बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिकापनमा जोड दिएका छन् । सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्वसेना यहाँ आउदै छन् । सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरु भएको हो । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सन् १९५८ देखि शान्ति सेनाको जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५४ हजार ३४० जनाले विश्वशान्तिमा योगदान पु¥याइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया