पत्रकारसम्बद्ध संस्थाको नेतृत्वमा रहेका व्यक्ति नै भेटिए भ्रष्ट, कसको गर्ने विश्वास ?

विजेनशपाटी संवाददाता
सुनसरी, फागुन २७ । आजभोलि देशमा बिचौलियाको बिगबिगी छ । हरेक क्षेत्रमा बिचौलियाको गतिविधिका कारण कानुन कार्यान्वयनको विषय नै चुनौतिपुर्ण बनेको छ । यसलाई नियन्त्रण गर्न नेपाल सरकार बलियो निति निर्माणमा जुटेको छ तर बिचौलियाको गतिविधि रोकिएको छैन । कोही व्यक्तिले बिचौलियाको कार्य गर्नु त सामान्य नै भईसक्यो तर सुनसरीमा भने पत्रकारको नेताहरु नै बिचौलिया बनेको घटना बाहिरिएको छ ।
केही महिनाअघि धरानको एक विद्यालयका शिक्षकलाई एक छात्रामाथि लैङ्गिक हिंसा गरेको आरोप लागेको थियो । सो विषय सार्वजनिक भएपछि सबैको चासोको विषय बन्यो । घटनामा आफ्नो संलग्नता नभएको र फसाइएको दाबी गरिरहेका ती शिक्षक र उनको परिवार विक्षिप्त अवस्थामा पुगे तर यसविचमा यो विषयलाई प्रभाव पार्न जे जस्ता हर्कत भए त्यसमा भने सुनसरीका पत्रकार नेताहरुकै प्रत्यक्ष संलग्नता देखिएको छ ।
घटना सार्वजनिक भएपछि यस क्षेत्रका विभिन्न मिडियाहरुले समाचार फलो गरिरहे । धेरैजसो मिडियाहरुले छात्रा पिडित भएको र उनले न्याय पाउनुपर्ने एंगलबाट समाचार प्रवाह गरे । यससँगै समाचार रोक्नका लागि पिडक भनिएका शिक्षकका तर्फबाट मिडियालाई रकम बाँडिएको पाइएको छ । रकमको भाग पाउनेमा नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले पनि रहेको प्रमाण फेला परेको छ । त्यसबेला काफ्ले प्रेस चौतारी नेपालको सुनसरी इन्चार्ज थिए ।
रकमको भागबण्डा काफ्लेसम्म पत्रकार शुभद्रा प्याकुरेलमार्फत पुगेको पाइएको छ । प्याकुरेल प्रेस चौतारी नेपालका तत्कालिन सुनसरी अध्यक्ष र पिडित भनिएका शिक्षकका आफन्त हुन् । शिक्षकलाई सख्त कारवाही र पिडित छात्रालाई न्याय दिलाउन भन्दै निरन्तर समाचार फलो अप भएपछि शिक्षक पक्ष प्याकुरेलको सम्पर्कमा पुगेको र प्याकुरेलले समाचार लेख्ने पत्रकारहरु सहित काफ्लेसम्म रकम बाँडफाँड गरेको बुझिएको छ । प्याकुरेलले उक्त रकम सन्तोष काफ्ले सहित पत्रकारहरु रश्मी प्रधान, मनिता चाम्लिङ र ब्लाष्ट टाइम्सलाई दिएको पिडक भनिएका शिक्षकसँग प्याकुरेलले गरेको संवादबाट स्पष्ट हुन्छ । समाचार रोक्न पत्रकारलाई पैसा बाँडिरहँदा प्याकुरेलले पिडित भनिएकी छात्रालाई समेत घरमै पटक पटक भेटी अब केही नबोल्न सम्झाउँदै रकम हातमा लगाईदिएको पाइएको छ । दुई हजार र तीन तीन हजार गरी ती छात्रालाई ८ हजार प्याकुरेलले दिएकी थिइन् ।
ती शिक्षकको एनआइसी एसिया बैँकको एकाउन्टबाट विभिन्न समयमा चारपटकमा गरी ८१ हजार रुपैया आफ्नो एकाउन्ट भएको मुक्तिनाथ विकास बैँकमा शुभद्रा प्याकुरेलले जम्मा गराएको देखिन्छ । २०२४ अगष्ट ११ (२०८१ साउन २७) मा ३५ हजार रुपैया, १८ अगष्ट २०२४ (२०८१ भाद्र २) मा ६ हजार रुपैया, २३ अगष्ट २०२४ (२०८१ भाद्र ७) मा २० हजार रुपैया र २०२४ सेप्टेम्बर १ (२०८१ भाद्र १६) मा २० हजार रुपैया गरी जम्मा ८१ हजार शुभद्रा प्याकुरेलको एकाउन्टमा जम्मा भएको देखिएको छ । तर विश्वस्त सुत्रले दिएको जानकारी अनुसार प्याकुरेलले जम्मा १ लाख ५० हजार रकम लिएकी थिईन् । उल्लेखित पत्रकार र मिडियाहरुलाई विज्ञापनका लागि भनेर दिनुपर्ने भएकोले रकम आवश्यक परेको प्याकुरेल र शिक्षक पक्षविचको संवाद सुरक्षित छ ।
यससम्बन्धमा रकम दिने शिक्षक पक्षका व्यक्तिहरु आफ्नो नाम सार्वजनिक गर्न चाहेका छैनन् । यता शुभद्रा प्याकुरेलले भने आफुले रकम लिएको स्विकार गरेकी छिन् । उक्त रकम मिडिया र पत्रकारलाई बाँड्न नभई सापटीको रुपमा लिएको उनले दाबी गरिन् । ‘लैङ्गिक हिंसा जस्तो संवेदनशील आरोपले विक्षिप्त अवस्थामा रहेको शिक्षक जस्तो व्यक्तिसँग पनि यसरी चार चार पटक सापटी लिइन्छ र ?’ भन्ने प्रश्नको जवाफमा भने उनी निरुत्तरित थिइन् । उनले रकम बाँडफाँड गरेको अस्विकार गरेपनि पत्रकारलाई रकम दिएको कुरा शिक्षकका परिवार र प्याकुरेलको संवादबाट खुलेको छ ।
पत्रकार रश्मी प्रधानले समाचारको विषयमा आजसम्म आफुले कुनै कतैबाट रकम नलिएको बताइन् । यो घटनामा पैसा लिएको भनेर आफ्नो नाम लिने शुभद्रा प्याकुरेलाई नै यो कुरा प्रमाणित गर्न चुनौति दिईन् । नत्र आफ्नो मानहानी गर्ने प्याकुरेल सजायको भागिदार हुनुपर्ने उनको भनाई छ । समाचारको फलो अप निरन्तर गरिरहँदा नेपाल पत्रकार महासँघ सुनसरीका तत्कालिन सल्लाहकार रहेका सन्तोष काफ्लेले भने समाचार रोक्न पटक पटक दबाब दिएको उनले खुलासा गरिन् । ‘बोलाएरै समाचार नलेख्न प्रेसर दिनुभयो । तर मैले समाचार लेखि नै रहेँ ।’ उनले भनिन् ।
ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्कीले पनि यो आरोपलाई सिधै अस्विकार गरेकाछन् । उनले भनेकाछन्– ‘यो संवेदनशील विषय हो । यसमा ब्लाष्टले पनि खोजी गर्छ ।’
सम्पर्क गर्ने पटक पटकको प्रयास पछि बल्ल सम्पर्कमा आएका नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष समेत रहेका सन्तोष काफ्ले उक्त घटना आफुलाई थाहै नभएको भन्दै पन्छिन खोेजे । थप संवादपछि उनले रकम लिएको अस्विकार गरे । यही विषयको समाचार रोक्न पत्रकारलाई बोलाई बोलाई दबाब दिने उनले यो विषय थाहै नभएको भन्दै पन्छिन खोज्नु भने रहस्यमय छ । ‘हामीसँग प्रमाणका रुपमा सुरक्षित रहेको शुभद्रा प्याकुरेलले गरेको संवाद अनुसार त तपाईले रकम लिएको देखिन्छ’ भन्ने प्रश्नमा उनले भने– ‘म शुभद्रासँग कुरा गर्छु ।’
यससम्बन्धमा पत्रकार मनिता चाम्लिङसँग सम्पर्क गर्ने पटक पटक प्रयास गर्दा पनि फोन उठेन ।
पत्रकारिता क्षेत्र शुद्धिकरण र आचारसंहिताको अक्षरशः पालनाको आवाज जोडतोडका साथ उठिरहँदा पत्रकारसम्बद्ध संस्थाको नेतृत्वमा रहेका व्यक्तिहरु नै यस्तो पत्रकारिताको मर्यादा विपरित कार्यमा संलग्न हुनु अत्यन्तै शरमलाग्दो कुरा हो । यस सम्बन्धमा नेपाल पत्रकार महासँघ र पत्रकार सम्बद्ध संघसंगठनहरु गम्भिर हुनु अत्यावश्यक देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया