‘पत्रकारहरुका लागि सरकारले बिशेष प्याकेज ल्याउनुपर्छ’-पत्रकार भण्डारीसँग अन्तर्वार्ता
खिलबहादुर भण्डारी
सदस्य प्रेस काउन्सिल नेपाल
तथा पूर्वउपाध्यक्ष नेपाल पत्रकार महासंघ (केन्द्रीय समिति)
विश्वव्यापी महामारीको रुप फैलिएको कोरोना भाइरसको नेपाली पत्रकारिता जगत र श्रमजिवी पत्रकारहरुमा प्रभाव कस्तो रहेको यहाँको मुल्याङकन छ ?
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव नेपालमा पनि परिरहेको छ । यसको नियन्त्रणको लागि सरकारले बन्दाबन्दीको समय थपिरहेको छ । यस्तो बेलामा यसको प्रभाव नेपाली पत्रकारितामा नपर्ने कुरै आउँदैन । आज ठूला मिडियाहरु समेत ठूलो संकटमा परिसकेका छन् । बल्ल बल्ल निस्किरहेको दैनिक, साप्ताहिक छापा मिडियाहरु पनि निकै थोरै पेजमा प्रकाशन भइरहेका छन् भने धन्दै १ हजार नजिक रहेका देशभरका साप्ताहिक, मासिक पत्रिकाहरु त विगत दुई महिनादेखि बन्द भएका छन् । यसले गर्दा धेरै पत्रकारहरुको रोजगार संकटमा परेको छ ।
प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले कोरोना महामारी सुरु भएसकेपछि पत्रकारहरुका हक, हितमा के कस्ता कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ? जोखिमको अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पक्षमा प्रेस काउन्सिल नेपाल कसरी अघि बढ्दैछ ?
आम पत्रकारहरुको लागि यतिखेर दुईवटा मूख्य कुरा हो । एउटा कोरोना भाइरसबाट भौतिक रुपमा सुरक्षा र अर्को उसको रोजगारीको सुरक्षा वा जीवनयापनको व्यवस्थापन । भौतिक रुपमा कार्यस्थलमा खट्दा पर्याप्त मात्रामा सुरक्षित हुने विभिन्न उपायहरु अवलम्बन गर्ने यसको लागि सबै मिडिया हाउसहरुले पत्रकारको सुरक्षाको लागि आवस्यक सामाग्रीहरु उपलब्ध गराउने र उसको जीवनविमा समेत गर्नुपर्छ । अर्को बन्द भएका मिडियाहरुमा काम गर्ने पत्रकारहरुको जीवनरक्षाको लागि आगामि दिनमा विशेष राहत ल्याउनुपर्छ । यसको लागि प्रेस काउन्सिल नेपालले सरकारसंग पटक पटक कुरा गरिरहेको छ । नेपाल पत्रकार महासंघले पनि यसको लागि पहल गरिरहेको समाचारहरु पढिरहेको छु ।
बजेट बन्ने क्रममा छ । आउने आवको बजेटले मिडिया उद्योगहरुको जगेर्ना गर्न र त्यसलाई फष्टाउने अवसर प्रदान गर्न हकमा के कसरी सम्बोधन गर्नुपर्ने आवश्यकता देख्नु भएको छ ?
मिडिया उद्योगहरुको मात्र होइन, सबै उद्योगहरु संकटमा छन् । उद्योग, व्यवसाय नचले मिडियामा विज्ञापन आउदैन, विज्ञापनको बजार खुम्चियो भने त्यसको असर मिडिया हाउस र पत्रकारहरुमा परिहाल्छ । त्यसको लागि अब बजेटमा विशेष प्याकेज ल्याउनुपर्छ । व्याजदर कम, करमा छुट अरु कुन कुन कुरामा राज्यले हेर्न सक्छ त्यसमा ध्यान दिनुपर्छ ।
कोरोनाको कारण अर्थतन्त्रमा लामो समय प्रभाव रहने अलकडबाजी आइरहेका छन् । कोरोना अझै नियन्त्रणमा आइसकेको छैन र अझै केही महिना वा बर्ष नै यसले दुःख दिन सक्छ । यस्तोमा मिडिया क्षेत्रबारे सरकारले कसरी सोचिदिनु पर्ने यहाँको धारणा छ ?
मुख्य कुरा नै यही हो । मानौ कोरोना भाइरसको भ्याक्सिन दुईचार वर्ष बनेन, यसको नियन्त्रण भएन भने स्थिति भयावह हुन्छ । यस्तो बेलामा मूख्य कुरा बाच्नु हुन्छ, यसको लागि खानेकुरा चाहियो । सरकारको पनि त आउने बाटाहरु बन्द हुन्छन् । संकटमा सरकारको मात्र मुख ताक्नु भन्दा विकल्पहरु खोज्नुपर्छ । म त भन्छु अब पत्रकारहरुले पनि पेशाको विकल्प सोच्नुपर्छ । पत्रकारिताबाटै जीविकोपार्जन चलेन भने त्यही पेशा नै गर्नुपर्छ भन्ने छैन ।
कोरोनाकै प्रभाव स्वरुप यसबीच ठुला भनिएका मिडिया हाउसहरुले नै दर्जनौको सङख्यामा पत्रकारहरु हटाउन लागेका भन्ने समाचार पनि आए । कतिपय ठुला मिडियाहरुले नै दिन रात नभनि खट्ने पत्रकारहरुको महिनौको पारिश्रमिक नदिएका भन्ने गुनासाहरु पनि आइरहेका छन् । महासंघ र प्रेस काउन्सिल नेपालले यसलाई कसरी हेरेको छ । यस्ता समस्या कसरी सामाधान होलान् ?
अहिलेको संकट नेपालमा मात्र होइन, विश्वभर मानवजाति नै संकटमा भएको बेला कसैले कसैलाई प्रताडित बनाउने समय यो होइन । यतिखेर कुनै पनि मिडियाहाउसले पत्रकारहरुको रोजगारी खोस्नु हुन्न । एकातिर भाइरसको डर अर्कोतिर रोजगारी खोसिएको पीरले पत्रकारहरुलाई मानसिक आतंक सिर्जना गर्छ । यस्तो काम भयो भने जिम्मेवार संघसंस्थाले आवाज उठाउनुपर्छ, हामी पनि उठाउछौं । अर्को कुरा पारिश्रमिक नदिइएको कुरा छ । काम लगाएपछि पारिश्रमिक दिनुपर्छ । अर्को यसमा मेरो अलि फरक विचार पनि छ, तीन तीन महिनासम्म पारिश्रमिक नदिने संस्थामा पत्रकारहरु किन झुण्डिरहन्छन् । जब तलब दिन्नन् त्यो काम छोड्ने, अर्को पेशा व्यवसाय गर्ने । जिन्दगी चलाउन, तलब दिलाउन नै संघसंस्था धाउनुपर्ने पेशाप्रति किन मोह पाल्छन् पत्रकारहरु ?
पत्रकारहरुले यो महासंकटमा आचारसंहिता चाही कत्तिको पालना गरेको पाउनु भयो ?
केही पत्रकारहरुले समाचार ब्रेकिंग गर्ने होडबाजीमा मृत्यउत्सव मनाएजस्तो पनि गरे । विरामीको समाचार दिन पनि कुनै विजयउत्सवको समाचार दिन हतार गरेको जस्तो पाइयो । त्यसमा पनि अनलाइन मिडियाहरु अलि बढी जिम्मेवार बने । कोरोना भाइरसको विरामीको संख्या पत्रकारहरुले लेखेकै आधारमा जोडेको भए एक हजार नाघिसक्थ्यो । यो कुरामा प्रेस काउन्सिल नेपालले विशेष निगरानी, कारवाही, स्पष्टीकरण सोध्ने जस्ता काम पनि गर्यो । तरपनि धेरैजसो मिडियाले यो संकटमा सूचनाप्रवाहमा निकै प्रशंगसनिय काम गरेका छन् ।
अन्त्यमा, कोरोना प्रताडित पत्रकारहरुलाई सरकारको तर्फबाट के कस्तो खालको राहतको जरुरी देख्नु भएको छ ?
कोराना प्रताडित पत्रकारहरुलाई आउने वजेटमा विशेष राहत प्याकेज ल्याउनुपर्छ । जसले पत्रकारहरुले आगामि दिनमा खुशीले काम गर्न सकुन ।
प्रस्तुती : रिसब गौतम
प्रकासित मिति २०७७–१–२६
फेसबुकबाट तपाईको प्रतिक्रिया