परीक्षार्थीमा बटुकदेखि किरियापुत्रीसम्म
बलेवा, १० चैत
माध्यमिक तहको परीक्षा (एसइई) को आज पहिलो दिन बागलुङबाट फरक क्षमता भएका २५ र किरियापुत्री एक परीक्षार्थी सामेल भएका छन् । बागलुङबाट पाँच हजार ५१९ परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये दुई हजार ८७४ छात्रा छन् । बागलुङबाट एक न्यून दृष्टियुक्त व्यक्तिसहित २५ जना विशेष क्षमता भएका र नौ जना संस्कृत विद्या पढ्दै गरेका परीक्षार्थी सामेल भएका छन् । विशेष शिक्षातर्फ बागलुङको धौलागिरि बहिरा आवासीय माविबाट २४ जनाले कम्प्युटर धार विषयको परीक्षा विद्यामन्दिर केन्द्रबाट दिएको केन्द्राध्यक्ष जगन्नाथ आचार्यले बताउनुभयो । यो वर्ष मुक्तिनाथ वेदविद्याश्रमका नौ बटुक, जनताधन माविका एक न्यून दृष्टियुक्त व्यक्ति र प्रभा मावि बोहोरागाउँका एक किरियापुत्री परीक्षामा सामेल भएका छन् ।
प्राविधिक विद्यातर्फ १६८ विद्यार्थीले सदरमुकामकै विद्यामन्दिर माविबाटै परीक्षा दिएका छन् । उनीहरुले कम्प्युटर, कृषि, भेटनरी र सिभिल इञ्जिनीयरिङको परीक्षा दिएका हुन् । परीक्षालाई मर्यादित बनाउनका लागि कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ ।
परीक्षालाई मर्यादित बनाउनका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३३ बँुदे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवश्यक कारवाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महीनासम्म कैद र रु एक लाखसम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयो ।
उपाध्यायका अनुसार परीक्षामा ३१ केन्द्राध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ सहायकसहित २६८ निरीक्षक खटाएको छ । सबै केन्द्रमा गरी ४६५ सुरक्षाकर्मीलाई परिचालन गरिएको पनि उहाँले बताउनुभयो । (रासस)
फेसबुकबाट तपाईको प्रतिक्रिया