पाटन सङ्ग्रालयमा बृहत् फोटो प्रदर्शनी सुरु

काठमाडौँ ७ पौष

ललितपुर-दक्षिण कोरियाली फोटोग्राफर छो योङ सो को ‘नेपालका पश्चिमी हिमाली एवम् पहाडी क्षेत्रको बृहत् फोटो प्रदर्शनी, २०७३’ बुधबारबाट पाटन सङ्ग्रालयमा सुरु भएको छ ।नेपालको पश्चिमी हिमाली र पहाडी क्षेत्र र त्यहाँ बसोबास गर्ने नागरिकका जीवनशैली उनका फोटोका विषयवस्तु हुन् । उनले २५ वर्षदेखि त्यस क्षेत्रको भ्रमण गरी फोटो लिएका थिए।नेपालको पहाडी क्षेत्रको सुन्दरताले आफूलाई आकर्षण गरेकाले ती फोटोहरु सङकलन गरेको उनले बताए। एक सय ८ दिन लगाएर उनले यी फोटो खिचेका थिए ।

काठमाडौँबाहेकका क्षेत्रमा समेत प्रदर्शनी गर्ने उनको योजना छ । पाँच दिनसम्म चल्ने प्रदर्शनी मन्डिकाटारस्थित लोयल्टी एकेडेमीले आयोजना गरेको हो ।ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले विदेशी नागरिकले आएर नेपाललाई फोटो मार्फत चिनाउन लाग्नु हाम्रो गौरवको विषय भएको बताइन्।प्याब्सनका वरिष्ठ उपाध्यक्षसमेत रहेका लोयल्टी एकेडेमीका संस्थापक अध्यक्ष विजय सम्वाहाम्फेले सोको कोरियामा भएको प्रदर्शनीमा आफू पुग्दा त्यहाँका नागरिकले नेपालको फोटो चासो दिएर हेरेको बताए।

कलाकार सोले नेपालमा दोस्रोपटक प्रदर्शनी गरेका हुन्। उनले २००८ मा पनि काठमाडौँमा प्रदर्शनी गरेका थिए। उनले नेपालमा खिचेका फोटो  कोरियामा चारपटक प्रदर्शनी भइसकेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया