प्रचण्ड प्रधानमन्त्री भएपछि ओली पहिलो पटक बालुवाटारमा !

काठमाडौं १० कात्तिक ।
लोकमानविरुद्धको महाअभियोग र विकसित राजनीतिक घटनाक्रमबारे प्रमुख तीन दलका शीर्ष तीन नेताबीच आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको पहलमा आज बुधबार बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी थिए ।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि ओली पहिलो पटक बालुवाटार छिरेका छन् । यसअघि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा ओली सहभागी भएका थिएनन् । तर, लोकमानविरुद्धको महाअभियोगलाई लिएर प्रचण्ड र ओलीबीच लगातार छलफल हुँदै आएको छ ।

छलफलमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग, संविधान संशोधन तथा कार्यान्वयनबारे कुराकानी भएको छ ।

बुधबारको बैठकमा तीन दलका तीन शीर्ष नेताबीच सम्वाद जारी राख्ने समझदारी भएको छ । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले समसामयिक विषयमा छलफल भएको भन्दै मिलेर जाने समझदारी बनेको जानकारी दिए ।

छलफलमा संविधान संशोधन, संबिधान कार्यान्वयन, महाअभियोग लगायतका विषय सहमतिका आधारमा टुंगो लगाउने बारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया