प्रतिक्षा
-मिसन अधिकारी
म पर्खिरहेछु तिम्रो आगमन
तिमी टुप्लुक्क आईपुग्नेछौ
मैले समेत चाल नपाई
जसरी
मेघ-गर्जन बिना दर्किन्छ पानी
म पर्खिरहेछु बर्षौंदेखि
तिमी आइनौ
र पनि पर्खिरहेको छु
आयो, तिमी आयौ भन्ने हल्ला मात्र
र पनि पर्खिरहेको छु ।
प्रतिक्षाको घडी कति पट्यारलाग्दो हुन्छ ?
आमाजस्तै प्रसव व्यथाले छोपेकी
केही खुशी हुन्छु, केही दु:खी हुन्छु
र पनि पर्खिरहेको छु
छ मलाई तिमीप्रति आत्म-विश्वास ।
टाढिनु नजिकिनु पनि हो
नजिकिनु टाढा हुनु पनि हो
भएर कहिले नजिक जस्तो
कहिले भएको छु टाढा जस्तो
पर्खिरहेछु तिम्रो आगमन ।
मैन पग्लिरहन्छ आगोसित
र पो बत्ती जल्न पाउँछ
म आगो भएर जलाईरहेछु मैन
तिम्रै आशक्तिमा डुब्नु
पर्खिनु, फेरी पर्खिनु
हो मेरो तिमीमाथिको आस्था !
म पर्खिरहेछु तिम्रो आगमन
म लालायित छु
नयाँ जिन्दगीको लागि
तिमी आउनेछ्यौ कसैले थाहै नपाई
तिमीलाई भित्र्याउने छु म
मात्र तिम्रो आगमन पछि
हुनेछ मेरो घर झलमल्ल
मेरो घर हाम्रो घर हुनेछ !!
प्रकाशित मिति २०७४-१०-१२
फेसबुकबाट तपाईको प्रतिक्रिया