प्रधानमन्त्रीलाई थरीथरीका सल्लाह

काठमाडौं–१ श्रावण

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै कांग्रेससँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेपछि सत्तारुढ र विपक्षी दलहरूबीच टसल बढेको छ । कांग्रेस–माओवादीले सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा मागे पनि ओली र उनको पार्टी एमालेले अविश्वासको प्रस्तावको संसद्मा सामना गर्ने तयारी गरेका छन् ।

यसबीच प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेता, कानुनविद्लगायतसँग पनि परामर्श गरिरहेका छन् । थरीथरी मान्छेबाट उनले थरीथरी सुझाब पाइरहेका छन् ।

कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि महान्यायाधिवक्ता हरि फुँयालले प्रधानमन्त्री केपी ओलीलाई दुईवटा विकल्प सुझाएका छन् । संविधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएकाले संसदमा अविश्वासको प्रस्तावको सामना गर्न उनको पहिलो सुझाव छ ।

प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ दिने क्रममा राजिनामा दिनुपर्ने फुयाँलको अर्को सुझाव छ । यसो गर्दा अविश्वासको प्रस्ताव पारित नहुँदै प्रधानमन्त्रीले राजिनामा दिनेछन् ।
‘संविधानको धारा २९८ को आठमा प्रधानमन्त्रीले राजीनामा दिएमा, विश्वासको मत लिने क्रममा फेल भएमा र अविश्वासको प्रस्ताव पारित भएमा पदमुक्त हुनसक्ने व्यवस्था छ,’ फुँयालले भने, ‘अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले ‘फेस’ गरेर पदमुक्त हुने या अविश्वासको प्रस्ताव छलफल भइसकेपछि रोस्ट्रममा उभिएर राजीनामा दिने दुईबाहेक अरु विकल्प प्रधानमन्त्रीसँग छैन । राजनीतिक विषय भएकाले के रोज्नुहुन्छ उहाँले सोच्ने विषय हो ।’

कानुनमन्त्री अग्नि खरेल र महान्यायाधिवक्ता फुँयालसँग प्रधानमन्त्री ओलीले पटक–पटक संवैधानिक र कानुनी परामर्श लिएका छन् ।

रोस्ट्रमबाट राजीनामाको सम्भावना : फुँयाल
मेरो विचारमा अविश्वासको प्रस्तावमा छलफल नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न । प्रस्तावमाथि संसदमा छलफल भइसकेपछि जवाफ दिने क्रममा आफ्ना कुरा राखेर राजिनामा गर्न सक्नुहुन्छ । हामीले यही नै गर्नुस् भन्ने संवैधानिक र कानुनी सल्लाह दिन सक्दैनौँ । नयाँ पत्रिका दैनिकमा शूरोजंग पाण्डे र रामकृष्ण अधिकारीको रिपोर्ट छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया