प्रधानमन्त्रीलाई संसद्बाट ओलीका नौ प्रश्न

काठमाडौं १२ अशोज
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट फर्केपछि संसद्लाई जानकारी नदिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले आलोचना गरेका छन् । संसद्मा मंगलबार विशेष समय लिएर बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे धेरै प्रश्न उठाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । kp-oli

१. संसद्लाई जानकारी गराउनुपर्दैन ?
प्रधानमन्त्रीले आफू भारत भ्रमणबाट फर्केपछि संसद्लाई जानकारी दिनु नपर्ने होर ? बाहिर–बाहिर त सम्बन्ध सुध्रिएको भन्दै हिँड्नुभएको छ, के सप्रिएको हो ? संसद्लाई जानकारी दिनुपर्दैन ?’

२. सम्बन्धमा सप्रिएको के हो ?
नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? अहिले के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु हो ? के कुनै नाकाबन्दी थियो वा व्यवधान थियो र हट्यो कि ? के संविधानमा भारतीय चासो बढाउनु भ्रमणको उपलब्धि हो ? सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषयझैँ अनावश्यक चासो र भूमिका किन दिन खोजियो ?

३. विदेश गएर प्रतिपक्षीको धज्जी उठाउँछन् ?
अहिलेका प्रधानमन्त्री मात्र होइन, अरू पनि प्रधानमन्त्री विदेश भ्रमणमा जान्छन् । तर, अरूले विदेशमा गएर प्रतिपक्षको धज्जी उडाउँदैनन् । सबैको मर्यादालाई ख्याल गर्नुपर्ने हुन्छ । भारतमा गएर नेपालमा फलानो–फलानो पार्टी र नेता भारतविरोधी छन् भनेर कूटनीतिक मर्यादाविपरीत कुरा गर्ने ? अन्तर्राष्ट्रिय मामिलामा भारतसँग निकट सहकार्य गर्ने भन्ने संयुक्त वक्तव्यमा उल्लेख गराएर नेपालको पञ्चशीलका सिद्धान्त, पारस्परिक लाभ, असंलग्न परराष्ट्र नीतिविपरीत काम कसैले पनि गर्दैनन् । नेपालको परराष्ट्र नीति भारत वा कुनै मुलुकसँग बाँधिँदैन । त्यसरी बाँधिने कुराले सार्वभौम राष्ट्रको भूराजनीतिमा प्रतिकूल असर पार्छ ।

४. जेमा पनि हस्ताक्षर गर्ने ?
दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा उल्लेखित केही बुँदामा कूटनीतिक सन्तुलन नमिल्ने गरी अपमानजनक बुँदा रहेको छ । दुवै देशका परियोजनाबारे नेपाल सरकार र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गर्ने भनेर असन्तुलित र अपमानजनक बुँदामा प्रधानमन्त्रीले हस्ताक्षर गर्नुभएको छ । यसले नेपाल सरकारको प्रोटोकलको ख्याल गरेको देखिएन, मर्यादा पनि भएन ।

५. विशेष दूत पनि पठाउनुभयो, त्यो केका लागि ?
केका लागि विशेष दूत ? नयाँ सरकार बनेकामा धन्यवाद दिन ? अरू विशेष अवस्था के परेको थियो नेपालमा र विशेष दूत पठाउनुपर्ने बाध्यता आइलाग्यो प्रधानमन्त्रीज्यूलाई ?

६. संविधान संशोधन किन ?
संविधान संशोधनका विषयमा बाहिर प्रचार गरिएको छ, दलहरूका बीचमा यो विषयमा छलफल गर्नुपर्दैन ? के विषयमा किन संविधान संशोधन गर्ने हो प्रस्ट्याउनुपर्दैन ? प्रतिपक्षले नमाने पनि दुईतिहाइ पुर्‍याउने र पेलेर संविधान संशोधन गर्ने रे भन्ने सुनिन्छ, यो के भनेको ? प्रतिपक्षीविना संविधान संशोधन कसरी सम्भव छ ? प्रतिपक्षको सहमतिविना सर्वस्वीकार्यताको अर्थ त मैले शब्दकोशमा पनि देखेको छैन ।

७. कसरी चुनाव हुन्छ ?
संविधान कार्यान्वयनमा यो सरकार गम्भीर छैन । अबको १३ महिनाभित्र तीनवटा निर्वाचन गर्नुपर्ने भए पनि सरकार मौन छ, दंग छ र मस्त छ । उसले चुनाव गराइन्छ त भनेको छ । तर, न कार्यतालिका छ, न कानुन नै निर्माण भएका छन् । अनि कसरी हुन्छ निर्वाचन ?

८. फरार अभियुक्त भेट्न राजकीय प्रबन्ध मिलाउनुपर्छ ?
विनातयारी र योजना त्यस्तो भेटघाट हुन सक्दैन । त्यस्तो भेटघाटका लागि राजकीय भ्रमणको प्रबन्ध मिलाउनुपर्छ, प्रधानमन्त्रीज्यू ?

९. कुरा मिलाएको भनेको के हो ?
एमालेले कसैलाई उक्साइरहनु आवश्यक छैन । एमाले आफ्नै गतिमा हिँड्ने पार्टी हो, कसको कोसँग कनेक्सन छ, कुरा मिल्छ भन्नेमा एमालेलाई चासो छैन । लडाकु प्रकरणमा सर्वोच्च अदालत, अख्तियारजस्ता निकायसँग कुरा मिलाएको भन्ने बाहिर आएको छ । यो कानुनी राज्य र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कुरा हो । यस विषयमा पनि प्रधानमन्त्रीले संसद्मा भन्नुपर्छ, कुरा मिलाएको भनेको के हो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया