प्रभु बैंकको खुद नाफामा उल्लेख्य सुधार
काठमाडौं २१ साउन २०८१
प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो। प्रकाशित वित्तीय विवरणमा बैंकको अघिल्लो आर्थिक वर्षको खुद नाफा २८ करोड उल्लेख छ। जबकी गत आर्थिक वर्ष प्रकाशित अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।
प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया