प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा तिमिला
काठमाडौं, २४ पुस
प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विश्वराम तिमिला नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले पुस २१ गते मंगलबारदेखि लागू हुने गरी तिमिलालाई नियुक्त गरेको हो ।
कम्पनीले तिमिलालाई सीईओ नियुक्त गरेर बीमा समितिमा पठाएकोमा समितिले पुस १७ गते बिहीबार स्वीकृति दिएकाे थियाे ।
बीमा क्षेत्रमा करिब ४ दशक बिताएका तिमिला यस अघि नेको इन्स्योरेन्सको सीईओ थिए । नेको इन्स्योरेन्सका सीईओबाट अवकाश पाएका उनी ६ महिनाको कुलिङ्ग पिरियड सकिएपछि प्रिमियरमा प्रवेश गरेका हुन् ।
सन् १९८१ मा उनी ओरियन्टल इन्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । सन् १९९६ मा सिनियर म्यानेजरको रुपमा नेको इन्स्योरेन्स प्रवेश गरेका थिए ।
यस अघिका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्तिक मसान्तदेखि कार्यकाल समाप्त भए पछि कम्पनीमा उक्त पद रिक्त थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया