प्लास्टिक झोला बोक्नेलाई जरिवानाबाट उठ्यो तीन लाख
काठमाडौं २२ असार
मापदण्ड विपरीत प्लास्टिक झोला उत्पादन गर्ने उद्योग र प्रयोग गर्ने पसललाई गरिएको जरिवानाबाट तीन लाख २० रुपैयाँ हजार राजस्व संकलन गरिएको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागले २०७२ वैशाख १ गतेदेखि हालसम्म गरेको अनुगमनका क्रममा १७ वटा उद्योग तथा पसललाई कारबाही गरेको हो। विभागले हालसम्म ३८ क्विन्टल मापदण्ड विपरीतका प्लास्टिक झोला जफत गरेको छ।
व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिको २०७१ साल भदौ ९ गतेको वैठकले २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गर्न निर्देशन दिएको थियो। सिंहदरबारभित्र २०७१ भदौदेखि तथा काठमाडौं उपत्यकामा तोकिएको मापदण्ड विपरीतका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाइएको र काठमाडौँ उपत्यका बाहिर समेत ३० माइक्रोनभन्दा कम मोटाइका झोला प्रतिबन्धित गरिएको छ।
वातावरण विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठले वैशाख १ गतेदेखि हालसम्मको अवस्थालाई हेर्दा प्लास्टिकको प्रयोग अत्यन्त कम हुँदै गएको बताए। विभागले काठमाडौं उपत्यकालाई पूर्ण रूपमा प्लास्टिक झोला मुक्त गर्न माइकिङ गर्नुका साथै अन्य प्रचारप्रसारका कार्यक्रम समेत गर्दै आएको छ। मानवीय स्वास्थ्य, समुदाय, सहरी सौन्दर्य र वातावरणमा दीर्घकालीन रूपमा पर्ने असरलाई न्यूनीकरण गर्न प्लास्टिक झोलाको प्रयोगमा कडाइ गरिएको विभागले जनाएको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया