बहुआयामिक व्यक्तित्वका धनी साहित्यकार स्व.आनन्दसिद्धि तुलाधर
स्वयम्भू शाक्य
मानिस भएर मानिसको आदर, सत्कार र सम्मान गर्नु नै मानवीय धर्म हो । त्यसैले हेला गर्ने कार्य कसैलाई पनि गर्नु हुँदैन भन्ने मूल मानवीय शिक्षाका अनुयायी तथा समाजका सुधारक स्व.आनन्दसिद्धि तुलाधरको जन्म वि.सं.१९९१ साल श्रावण १२ गते काठमाडौंको किलागलमा भएको थियो । पिता मोहनसिद्धि तुलाधर माता चन्द्रमाया तुलाधरका तीन सन्तानमध्ये ज्येष्ठ सन्तानको रुपमा जन्म भएका स्व.आनन्दसिद्धि तुलाधरले नेपालभाषा साहित्यमा गीत, कथा, कविता, निबन्ध, हाइकु र नियात्रा जस्ता विविध विधामा आफ्नो कलम चलाई एक अविष्मरणीय गुण लगाउनु भएको छ । वि.सं.२०१६ सालमा असन धालासिकोका तुल्सीरत्न तुलाधरकी छोरी हिरानानी तुलाधरसंग बैवाहिक सम्बन्ध बाँधिएका बौद्ध उपासक तथा साहित्यकार स्व.आनन्दसिद्धि तुुलाधरका एक छोरी र तीन छोराहरु छन् । नेपालभाषा साहित्यका चिरपरिचित कथाकार दिव्या ताम्राकार उहाँका छोरी हुन् भने छोराहरुमा सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर, नेपालभाषा तथा बौद्ध धर्मका जागरुक उपासक अरुणसिद्धि तुलाधर र चिकित्सक प्रा.डा.आभूषणसिद्धि तुलाधर हुन् ।
बौद्ध धर्मप्रति अगाध श्रद्धाले गर्दा बौद्ध उपासक बन्नु भएका स्व.आनन्दसिद्धि तुलाधर युवा बौद्ध समूहका संस्थापक सदस्य र सल्लाहकार समेत हुनुभएको थियो भने धर्मोदय सभा र धर्मकीर्ति विहार संरक्षण कोषका आजीवन सदस्य रही बौद्ध जागरणका अभियानमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको थियो । ने.सं.११४२ मा सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकाय तथा महिला साहित्यकार मञ्चको आयोजनामा आयोजित बौद्ध कथा प्रतियोगितामा समाजका सचेतक स्व.आनन्दसिद्धि तुलाधरद्वारा लिखित “हृदय परिवर्तन” नामक कथाले पहिलो स्थान हासिल गर्नुभएको थियो ।
नेपालभाषा साहित्यलाई अबल बनाउन विविध विधामा आफ्नो मातृभाषाबाट साहित्य सृजना गर्नुभएका स्व.आनन्दसिद्धि तुलाधरले नेपालभाषा साहित्यका कविकेशरी चित्तधर हृदयको सम्झनामा समर्पित गर्नुभएको “लिजः” (संस्मरण, कथा र कविता संग्रह) नामक पुस्तक नेपालभाषा परिषद्बाट प्रकाशित गरी वि.सं.२०७६ चैत्र १ गतेका दिन उक्त पुस्तकको विमोचन समेत गर्नु भएको थियो । नेपालभाषा साहित्य क्षेत्रमा अत्याधिक चर्चाको विषय बनेको उहाँको थुप्रै कालजयी कृतिहरुमा “लिजः” पुस्तक प्रकाशन पश्चात रचना गर्नुभएको कथाहरुमा त्रास (ने.सं.११४०), विस्थापित क्वःत (ने.सं ११४०), हेरामायाया म्ह्याय्पिं बौया ख्वाः स्वःमवल (ने.सं. ११४०), सूर्यमिला इहिपा (ने.सं. ११४१), सिरपा (ने.सं. ११४१), हृदय परिवर्तन (ने.सं. ११४३), गथांमुगः (ने.सं. ११४३), चिरं तिट्ठतु सद्धम्मो (ने.सं.११४२ बौद्ध कथा) छन् भने संस्मरणमा पासा कमलप्रकाश मल्लया लुमन्ति (ने.सं.११४३) छन् । त्यसै प्रकारले कविताहरुमा मचाबलय्या मोहनिया लुमन्ति, भिन्तुना (ने.सं. ११४३), त्रिसंयोगया स्वांया पुन्हि (ने.सं. ११४१), हलिं मांभाय् हना न्हि (ने.सं.११४२), मचाया ख्वाः, मृत्यु, गुरु पुजा (ने.सं.११३७) लगायत लेखहरुमा चन्द्रानन्द नेवाः (ने.सं.११४०, प्रकाशित ने.सं.११४२), ङत उदाय् खुगू कवःया दिगुख्यः (ने.सं.११४३) र समालोचनामा खालु ब्वनाः र चिपनिपया खँ लगायत २५० वटा भन्दा बढी हाइकु रचना गर्नुभएको थियो । त्यस्तै उहाँलाई सम्मान तथा अभिनन्दनकारुपमा कनकचैत्य महाविहार (ने.सं.११३१), ङत तुलाधर समिति (ने.सं.११३२), युवा बौद्ध समूह (ने.सं.११३५), ज्ञानमाला हीरक जयन्ती समारोह समिति (ने.सं.११३६), आशा सपूmकुथि गुथि (ने.सं.११३७) नेपालभाषा साहित्य व म्ये ब्वज्या (ने.सं.११३८), धर्म विजय पदनम् सम्मान (ने.सं.११३९), पद्मचैत्य विहार बुटवल (ने.सं.११४२), उदाय समाज (ने.सं.११४३), ङत तुलाधर समिति (ने.सं.११४३) ले समेत सम्मानित तथा अभिनन्दन गर्नुभएको थियो ।
गीतकार स्व. आनन्दसिद्धि तुलाधरद्वारा रचित ब्याँचुली लय्को “स्वांया पुन्हिया म्ये” नामक गीत बुद्ध सम्बत् २५६६ मा गायक प्रबोध कसाःले गाउनु भएको थियो भने अन्य गीतहरु हालसम्म जनसमक्ष आउन सकेको छैन ।
The ancient practice of self-isolation का विषयमा सन् 2020 April 14 मा BBC टेलिभिजन लाई दिएको अन्तर्वातामा कोरोनाको कालमा मात्र होइन Isolation नेपालमा परापूर्व कालदेखि नै नेवार समाजमा प्रचलित प्रथा हो । पहिला नेवारहरु ल्हासामा ब्यापार गरी सिधै घरमा प्रवेश गर्न पाउँदैनथ्यो । १२-१३ दिन जति काठमाडौंको असन स्थित “यताचपा” भन्ने पाटीमा बस्ने गरिन्थ्यो र त्यसपछि मात्र आ–आफ्नो घरमा जाने चलन थियो । यसको मुख्य कारण रोग नसरियोस् र धार्मिक तथा सामाजिक रितिथितिको रुपमा शरीर समेत पवित्र गर्नु थियो भनी स्व.आनन्दसिद्धि तुलाधरले The ancient art of self-quarantine को रुपमा प्राचीन कालदेखि नै चलिआएका नेवार समाजको चलनलाई उजागर गर्नुभएको थियो ।
स्कूल जीवनमा पितालाई कवि केशरी चित्तधर हृदयले “धर्मदूत” र “धर्मोदय” पत्रिका पढ्न दिनुहुन्थ्यो । त्यही पत्रिका आफु पनि पढ्ने र आमाले समेत पढेर सुनाउने भएकोले यही नै साहित्य सृजनाको स्रोत बनी पन्घ्र वर्षको उमेरदेखि साहित्य सृजनातर्फ अग्रसर भएको देखिन्छ । वि.सं. २००९ सालमा हनुमानढोकाको नासलचोकमा च्वसापासाको आयोजना मा भएको वृहत नेपालभाषा साहित्य सम्मेलन हेर्न गएदेखि साहित्यप्रति भावना जागृत भएको थियो । तीन दिनसम्म भएको उक्त सम्मेलनमा कुञ्जबहादुर सिंह र परमानन्द बज्राचार्यले उद्घोषण गर्नुभएको थियो ।
वि.सं.२०४० सालदेखि युवा बौद्ध समूहमा संलग्न भई बौद्ध जागरण अभियानमा लागेका बौद्ध अभियन्ता स्व.आनन्दसिद्धि तुलाधरले वि.सं.२०४७ सालमा धर्म निरपेक्षता आन्दोलनमा युवा बौद्ध समूह मार्फत आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । ध्यानकुटी बिहारमा बौद्ध जागरण शिविर, कीर्तिपुरस्थित श्री कीर्तिमण्डप बिहारमा जनजाति युवाहरुलाई प्रवजित गरी विदेशमा शिक्षा, ठिमी बिहारमा पञ्चशीलको अभियान, लम्जुङ्ग जिल्लाको बेशी शहरमा बैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती समारोह, बौद्ध जागरण अभियानमा सम्यक चिन्तन, लुम्बिनीमा राष्ट्रिय बौद्ध सम्मेलनमा उद्घाटन गर्दा गुंला बाजा बजाएर गुंला बाजाको संस्कृति स्वदेश तथा विदेशमा समेत प्रचार प्रशार गर्न ठूलो योगदान गर्ने समाजका चिन्तक तथा संस्कृतिप्रेमी स्व.आनन्दसिद्धि तुलाधरले अन्य थुप्रै अभियानमा अगुवाको भूमिका निभाएका थिए ।
समाजको यथार्थ चित्रण गर्न सक्ने कुशल सिद्धहस्त समालोचक तथा बहुआयामिक व्यक्तित्वका धनी साहित्यकार स्व.आनन्दसिद्धि तुलाधरले आफु ल्हासामा तीन वर्ष बस्दा देखे भोगेका कुराहरुलाई संस्मरण स्वरुप “जितः लुमंगु ल्हासाया खँ” नामक बहुचर्चित नियात्रालाई समावेश गरिएको “लिजः” पुस्तकमा पाँच वटा संस्मरण, छविस वटा कथा र चौविस वटा कविताहरु समावेश गरिएका छन् । ने.सं.१०७५ मा बीस वर्षको उमेरमा ल्हासामा जांदा भोगेका सास्ती र आनन्दका क्षणलाई सम्झना गरी रचेका उक्त संस्मरणमा नदिको किनार हुँदै पर्वतको बीच बाटोमा घोडाबाट जाँदा जीउ नै नभए जस्तो डरलाग्दो विकट बाटो, त्यसमाथि पनि ठाउँ-ठाउँमा डकैटी लाग्ने, झारा गल्लीमा अझ धेरै लुटपाट हुने भएकोले पेस्तोल बोकेर हिड्नुपर्ने र ब्रम्हपुत्र नदीको कहाली लाग्दो यात्राको वर्णन गरिएको छ । पन्ध्र जना मान्छे र २÷४ वटा घोडा अटाउने काठ तथा छालाको डुङ्गाबाट ब्रम्हपुत्र नदी टर्नुपर्ने उक्त डुङ्गाको अगाडि भागमा घोडाको मुखको आकृति भएकोले त्यस डुङ्गालाई ल्हासाका नेवारहरुले “श्यामकर्ण घोडा” भनिन्दो रहेछ । इतिहासलाई केलाउने हो भने १२औैै शताव्दीका सिंहकल्प नगरका सिंहसार्थ बाहु (चकंद्यः) सबै भन्दा पहिले तिव्बत पुग्ने व्यतिm मानिन्छ । ल्हासाको नारी रुपी यक्षणी राक्षसबाट बच्न त्यहाँबाट भागेर यही श्यामकर्ण डुङ्गामा बसेर ब्रम्हपुत्र नदी टरी नेपाल आएका थिए । हाल थँबही (ठमेल)मा अवस्थित विक्रमशील महाविहारमा चकंद्योको नामले प्रसिद्ध छ भनी ऐतिहासिक किम्बदन्ती रहेको देखिन्छ । ल्हासामा नेवारहरु गयो भने त्यहाँका नेवारहरुले सत्कार गर्ने चलन छ , जुन एक सभ्य संस्कृतिको रुपमा लिन सकिन्छ । साहु जुन पालामा (समूहमा) सदस्य भएको छ त्यही पालामा आपूm पनि सदस्य हुनुपर्ने नियम छ । “ननेवाः” भनी पालामा सदस्य नभएका भर्खर आएका नेवारहरुलाई भन्ने गरिन्छ । त्यसबेला आठ वटा पालाहरुमा छुसिंस्या पाला, झ्वाला पाला, घोरास्या पाला, छुतिघं पाला, छोकम्बु पाला, तरुस्या पाला, घंगस्या पाला र कुम पाला हुन् । नेवारहरुलाइ सबैभन्दा पहिला पालामा लगी देउता दर्शन गराइसकेपछि सदस्यता दिने काम गरिन्छ । यसरी सदस्यता दिंदा पहिला किताब जस्तो ढोग्न लगाइन्छ । वास्तवमा त्यो किताब होइन, जुत्तालाई किताब जस्तो बनाएर ढोग्न लगाएको हो । त्यस्तै प्रसाद भनी जमेको रगत दिने गरिन्थ्यो । वास्तवमा त्यो नयाँ सदस्य हुन आउनेहरुलाई केही हँसीमजाक गरेको मात्र हुन्थ्यो र त्यसपछि सदस्य बनाउने गरिन्थ्यो । ल्हासामा पनि नेवारहरुको आफ्नै संस्कृति अनुसार दशैं, तिहार, पाहाँच¥हे, सिथि नखः, देशीपुजा, माघे सङ्क्रान्ती लगायत थुप्रै चाडपर्वहरु मनाउने गरिन्छ । यसरी चाडपर्वहरु मनाउँदा केही चाडपर्वहरुमा नेवारहरुको पुरानो बाजा नाय्खिं बजाउने पनि चलन देखिन्छ, जुन एउटा गौरवको कुरा हो । दशैंमा दशमीका दिन सबैजना मिली दशैं मान्ने र सबै पालाहरुको आ–आफ्नो खड्ग बोकेर नगर परिक्रमा गर्ने गरिन्थ्यो । तिहारमा आ–आफ्नो पालाका सदस्यहरु म्हपुजा गरी भोज खाने चलन थियो भने लक्ष्मी पुजाका दिन पसल अगाडि मण्डप लेखी बत्ती बाल्ने चलन थियो ।
The Festival of Light को रुपमा एकाईस दिनसम्म लामा भिक्षुहरुले धार्मिक उत्सव गर्ने गरिन्छ जसलाइ “मुलाम” भनिन्छ । धेरै बौद्ध मूर्ति र ठूल ठूला गुम्बाहरु रहेको ल्हासामा “हामुचि गुम्बा” अलि सानो छ जहाँ अंशुवर्माकी छोरी भृकुटी ल्हासाका राजा स्रङ्गचङ्ग गम्पोसंग विवाह गरेकी भृकुटी ताराको मूर्ति छ । त्यसबेला बाटो बाटोमा गोली र पेस्तोल पनि बेच्ने गरिन्थ्यो । नेवाःहरुले आफ्नो ब्यापार ब्यावसायका लागि पसल बहालमा लिएर विभिन्न सामानहरु बेच्ने गरेता पनि घर भने कसैको हुँदैनथ्यो । गंगाबहादुर राजकर्णिकारको एउटा मात्र हलुवाई पसल थियो भने फोटोग्राफरमा तेजमान ताम्राकार एकजना मात्र थिए । ल्हासाको कानून बडो कडा थियो । पैसा सापटी लिएर फिर्ता नगरेको भनी जनताहरुलाई विभिन्न यातना दिने गरिन्थ्यो । त्यसबेला अपराधीलाई कोर्दा लगाउनुका साथै काठमा प्वाल पारी हातखुट्टा र घाँटीमा समेत हलचल गर्न नसक्ने गरी अमानवीय यातना दिने गरिन्थ्यो भनी ल्हासाको स–वर्णन गर्दै आपूm तीन वर्ष बसेर फर्केको र ६-७ वर्ष पछि अधिकांश नेवारहरु ल्हासामा पसल बन्द गरी नेपाल आएको तथ्यलाई समेत “लिजः” पुस्तकमा उजागर गरेको देखिन्छ ।
साहित्यकार स्व.आनन्दसिद्धि तुलाधरको अर्को बहुचर्चित संस्मरण “भोत देय् मिंनःगु व ई” पनि एक हो । वि.सं.२०१७ साल वैशाख महिनातिर बनेपामाथि खम्पु भन्ने ठाउँमा साथीको विवाहमा जन्ती गएर फर्किंदा बनेपामा तीन घण्टा भएको आगलागीले एक सय भन्दा बढी घर जलेर पाताल भएका थिए । नवदुर्गाको कोप भयो भनी स–साना सुंगुरको पाठो आगोमा फालिएको त्यो दारुण दृश्य र बनेपामा नेपाल बैंकमा मात्र एउटा टेलिफोन रहेको र उक्त टेलिफोन पनि बिग्रेकोले भक्तपुर र काठमाडौंका दमकललाई सम्पर्क गर्न नसकेको पीडालाई बनेपालीको दुर्भाग्यको रुपमा स–विस्तार वर्णन गरिएको छ ।
“लुमन्तिं साला यंकूबलय्” नामक संस्मरणमा वि.सं.२०१२ सालमा अन्दाजी बीस वर्षको हुँदा त्रिचन्द्र कलेजमा आइ.ए.पढिरहेको समयमा ल्हासामा फुफुको देवरको पसलमा काम गर्न पठाउने घर सल्लाह भएको थियो भनी आफ्नो बितेका पानाहरु पल्टाउँदै पढाइको लागि साथीहरु जहाँ गयो त्यहीं गएर पढ्न जान्थे । संस्कृत पढ्न मासंगल्लीका राजबैद्य नीलबज्र बज्राचार्य (इतिहासकार स्व.धनबज्र बज्राचार्यका पिता), रत्नकाजी गुर्जु (पण्डित दिब्यबज्र बज्राचार्य) र संस्कृत पाठशाला पढ्न जान्थे । वि.सं.२००४ सालतिर अंग्रेजी पढ्न क्षेत्रपाटी ब्वनेकुथि र पछि पद्मोदय हाइस्कूलमा ६ कक्षामा भर्ना भई पढ्न थालियो । त्यबेला Class VII लाई Fourth class, Class VIII लाई Third Class, Class IX लाई Second Class र Class X लाई Class X भनिन्थ्यो । Class X पछि SLC भनिन्थ्यो । जुद्धोदय स्कूल हाल न्यूरोड स्थित नेपाल बैंकसंगै एउटा टहरामा थियो । जुन राणा समयमा तबेला थियो । त्यही बेला टेस्ट पास गरियो । साथीहरुको लैलैमा इलामबाट S.L.C. दिन झापा हुँदै इलाम गइयो । झापामा औलो थियो । इलामको एउटा प्राइमरी स्कूलमा मासिक पन्घ्र रुपैयामा पढाउन थाले र केही समय पछि बुबा इलाममा आई काठमाडौं ल्याइयो । घरमा आए पनि ज्वरो आई औलोले छोडेको थिएन । पछि S.L.C. पास गरेपछि त्रिचन्द्र कलेजमा आई.ए.पढेर पास नहुँदै ल्हासा गइयो । जसको कारण थियो त्यसबेलाको राजनीतिले आफ्नो छोरामा प्रभाव पर्ला भन्ने आमाबुबालाई परेको पीर । आफ्नो घरको चोकमा चन्द्रानन्द नेवाःको घर थियो । त्यहाँ पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य र शम्भुराम श्रेष्ठ लगायत अन्य थुप्रै राजनीतिज्ञहरुको विचार विमर्श गर्ने थलो थियो । पछि त्यही पार्टीको झण्डा बोकी आफुले पनि जिन्दावाद र मुर्दावादको नारा लगाएकोले ल्हासा पठाइएको अनुभूति भयो भनी आफ्नो संस्मरणमा उल्लेख गर्नुभएको छ । तत्कालीन तानाशाही सरकारले नेपालभाषा, नेवार संस्कृति र नेवार जातिलाई दमन गर्ने उद्देश्यले नेपालको राजनैतिक ब्यक्तित्व र नेपालभाषा साहित्य तथा भाषासेवी स्वः प्रेमबहादुर कसाःलाई पुराना हस्तलिखित ग्रन्थहरु संग्रह गरी बिक्री गर्ने गरेको झुठो आरोप लगाई जेल सजाय दिएको यथार्थ चित्रण प्रस्तुत गर्नुभएको थियो । प्रा.डा. कमलप्रकाश मल्ल आइ.ए.पढ्दा विद्यार्थी युनियनमा लागी उहाँको घरको बैठक कोठामा कार्ल माक्र्स र एंगेल्सको तस्वीर राखिएको थियो । वि.सं. २००९÷२०१० साल तिर साहित्य सम्मेलन भएको थियो । उक्त सम्मेलन कमलप्रकाश मल्लको घरको चोकमा काठको गोदाम माथि मञ्च बनाएर उद्घोषण कमलप्रकाश मल्ल आपैmले गर्नुभएको थियो । अतिथिका रुपमा कविकेशरी चित्तधर हृदय, केदारनाथ न्यौपाने, हृदयचन्द्र सिंह प्रधान र कृष्णचन्द्र सिंह प्रधान थिए भनी साहित्य अनुरागी स्व.आनन्दसिद्धि तुलाधरले संस्मरण गर्नु भएको देखिन्छ ।
“लिजः” पुस्तकमा छबिस वटा कालजयी कथाहरुमध्ये “जिगु कोत” एक उत्कृष्ट कथा हो । मैले लगाइरहेको कोट राम्रो भएर होला, साथीभाईहरुले Harrish Tweed (Branded fabric ) को कोट भनी धेरै तारिफ गर्थे । त्यो कोट ज्बचचष्कज त्धभभम कपडाको कोट त थियो, तर बाटोमा बेचिरहेको कोट थियो । एकदिन भोटाहिटीको बाटोमा बेचिरहेको कोट राम्रो लागेकोले किन्न मन लाग्यो । तर जोरीपारीले देख्ला भनी त्यसै छोडेर आइयो । भोली त्यही ठाउँमा गई हेर्दा त्यो पसल त्यहाँ थिएन । भुईँ पसल सबै रत्नपार्कको खुलामञ्चमा राख्न दिइएकोले त्यहीं गएर हेर्न गएँ । एउटा पसलमा कोटको डंगुरमा हिजोको कोटको बाहुला देखेँ । चारैतिर हेर्दा कोही चिनेको मान्छे थिएन । हत्तरपत्तर त्यो कोट निकालेर लाएँ । कोट ठीकै लाग्यो । किनेर लगी घरमा ऐना हेरी कोट लगाउँदा राम्रै लाग्यो । त्यो कोट लगाउँदा साथीभाइहरुले ज्बचचष्कज त्धभभम कपडाको कोट सिलाएर लगायौ भन्दै तारिफ गर्थे भनी बहुतै सुक्ष्म र मनोबैज्ञानिक तरिकाबाट सरल भाषामा यथार्थपरक सामाजिक चित्रण गर्नुभएको छ ।
“लिजः” पुस्तकमा चौबिस वटा कविताहरु जन्मेदेखि आजसम्म जिउँदै छन् । त्यसैले ती जिउँदा कविताहरुमध्ये कविता–कविता भएर बाँचेका दुई कविताहरु “क्यब थुवाःयात” र “गंगालालया ख्वबि” नामक कवितामा राष्ट्र, राष्ट्रियता र देशप्रेमका अथाह माया बोकेको देखिन्छ । भनिन्छ, नेपाल आपैmमा सुन्दर बगैचा हो । त्यो बगैचा भित्र थुप्रै जातका सुगन्धित पूmलहरु फुलेका छन् । जहाँ मैत्री र करुणाको वास छ त्यहाँ रीस, राग, लोभ र मोहको पूmल रोप्नु हुँदैन भनी “क्यब थुवाःयात” कवितामा कविले प्रतीकात्मक रुपमा चेतनाको ज्योति बाल्न खोजेको देखिन्छ । हामीलाई थाहा छ, शहीद गंगालालको आँशु अहिले सम्म सुकेका छैनन् । देशको रक्षा र मुक्तिका लागि, देशको सुख, शान्ति र समृद्धिका लागि यदि कसैले भाँजो हाल्छ भने शहीद गंगालालको आँशु रक्तबीज बनेर थुप्रै थुप्रै योद्धाहरु जन्मिने छन् । नवशासकहरुलाई एकै दिन ढालेर देशभक्तिका गीतहरु गउने छन् । तसर्थ स्व.आनन्दसिद्धि तुलाधरले “गंगालालया ख्वबि” कवितामा नव शासकहरुलाई खबरदारीको सन्ेदश दिन खोजेका छन् ।
अन्तमा हामी यो भन्न सक्छौं कि बौद्ध उपासक तथा साहित्यकार स्व.आनन्दसिद्धि तुलाधर समाजका एक सचेतक हुन् । आफ्नो जीवनमा देखे, भोगेका र सुनेका कुराहरुलाई लिपिबद्ध गरी नेपालभाषा साहित्यमा आशालाग्दो तरिकाबाट विविध विधामा आफ्ना भावनाका अनुभूतिहरु छरेको देखिन्छ । भनिन्छ, आनन्दको पर्यायवाची शब्द सुख र खुशी हो । सिद्धिको अर्थ आफैमा पूर्णता । तसर्थ साहित्यकार स्व.आनन्दसिद्धि तुलाधर त्यस्तो साहित्यकार हुन् जो आपैmमा सुखी र सिद्धित्वले भरिएका छन् । तसर्थ सरल जीवनमा रमाउने र पञ्चशीललाई आत्मसाथ गर्ने बौद्ध उपासक तथा नेपालभाषा साहित्यका अग्रणी तथा यशश्वी प्रतिभा स्व.आनन्दसिद्धि तुलाधरको भौतिक शरीर मिति २०८० साल कार्तिक २५ गते ९० वर्षको उमेरमा यो संसारबाट सदाका निम्ति बिदा लिएर जानुभएता पनि उहाँका अमर अनमोल कृतिहरु आजपनि नदी जस्तै बगिरहेका छन् । बौद्धिक कसरत मात्र होइन बौद्ध उपासकको भूमिकाले प्राणी जगतको कल्याण होस् भनी प्रार्थना गरीरहेका छन् । अपितु बहुआयामिक तथा समाजका सचेतक स्व.आनन्दसिद्धि तुलाधरका साहित्यिक चिन्तनलाई मनन गर्दै मलाइ भन्न मनलाग्यो – साहित्य प्रकृतिसंग बग्न सक्नु पर्दछ । हृदयसंग जोड्न सक्नु पर्दछ । आफ्नो गन्तव्य खोज्न सक्नु पर्दछ । समाजलाई हिंडाउन सक्नु पर्दछ । अस्तु ।
प्रकासित मिति २०८१-१-१३
फेसबुकबाट तपाईको प्रतिक्रिया