बाख्राको घाँटीको लुर्को होइन एमालेः प्रधानमन्त्री ओली

सुर्खेत २६ जेस्ठ
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाख्राको घाँटीमा झुण्डिएको लुर्को नभएको बताएका छन् । एमाले लुड्को नभइ कस्तुरीको वास्नादार बिना भएको उनको भनाइ छ । सुर्खेतमा पार्टीले आयोजना गरेको आमसभालाई मंगलवार सम्वोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
जिल्लाभरबाट भाषण सुन्नकै लागि भएका कार्यकर्तालाई देखेपछि उत्साहित बनेका प्रधानमन्त्री ओलीले भने, ‘एमाले बाख्राको घाँटीमा झुण्डीएको लुर्को होइन, कुनै काम नलाग्ने । एमाले त कस्तुरीको बिना हो, जो टाढाबाटै बास्ना आउँछ ।’
एमालेको काम गर्ने शैली देखेर मान्छेहरु अत्तालिएको भन्दै ओलीले अब सबै कस्तुरीको बिना खोज्दै आउने बताए । कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेकै कारण एमाले कस्तुरीको बिना जस्तै वास्नादार बनेको टिप्पणी गरे । बजेटपछि केही दलहरु बाख्राको लुर्को जस्तै कुनै काम नलाग्ने बनेको उल्लेख गरे ।
उनले भने, ‘एमालेकै सरकारले बृद्धभत्ता दोब्बरले बढाएको छ, अब तपाईंहरु लामो समयसम्म बाँच्नुस् । धेरै बाँचेर भत्ता खानुपर्छ, किन चिन्ता मान्नु पर्यो र ?’ एमाले नै जनताको सच्चा अभिभावक भएको भन्दै प्रधानमन्त्री ओलीले कोही पनि भोकै नमर्ने दाबी गरे ।
उनले थपे, ‘धनी बन्नेभए काम गर्नुस्, काम गर्न पनि सक्नुहुन्न भने चिन्ता मान्नु पर्दैन । हामी कसैलाई पनि भोकै मर्न दिन्नौं, घरमा नै चामल पु¥याउने छौं ।’
ठट्यौली शैलीमा सम्वोधन गरेका ओलीको भाषण सुनेपछि आमसभाका सहभागीहरुले हाँस्दै ताली बजाएका थिए । सुर्खेतको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अब सुर्खेतमा विकासको मुल फुट्छ, सरकारले आधुनिक र सुन्दर सहर विकास गर्नेछ । सुर्खेत हेर्नका लागि मान्छेहरु अब टिकट काटेर आउनेछन्, होटल पनि बुकिङ गर्नेछन् ।’
विकासको युग प्रारम्भ भएको बताउँदै उनले अगाडि थपे, ‘अहिले त सुरुवात मात्र गरेका छौं, तपाइँहरु हेर्दै जानुस् । त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुको दैनिकी फेरिनेछ । पहिला शिलान्यास गर्यो, त्यो निर्माण पूरा भएपछि उद्द्धाटन गर्यो‍ । फेरि शिलान्यास हुन्छ, त्यसपछि उद्घाटन । अब देशमा यस्तै हुनेछ ।’ उनले नेपालको विकासका लागि आवश्यक पर्ने बजेट दुनियाँको कुनैपनि स्थानबाट रकम जुटाएर छरिदिने समेत घोषणा गरे । अन्नपूर्ण online बाट..

 

फेसबुकबाट तपाईको प्रतिक्रिया