बाढी पहिरो पीडितको सहयोगार्थ एनआरएन अष्ट्रेलियाको स्ट्यान्ड
अरुण गौतम,
सिड्नी,४ अगस्त
बाढी र पहिरोले देशका विभिन्न जिल्लाहरूमा व्यापक धनजनको क्षति गरेको छ । सयौं परिवार विस्थापित छन् । तत्काल उद्धार र राहत नपुग्दा उनीहरूको बिचल्ली भएको छ । मुख्य तथा सहायक राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु सास्ती खेप्न बाध्य छन् । एनआरएनए अष्ट्रेलियाले यस वर्ष पनि बाढी पीडित नेपालीहरुको सहयोगका लागि आह्वान गरेको छ ।
एनआरएनए अष्ट्रेलियाले विज्ञप्ति जारी गर्दै नेपालमा गएको बाढीमा पीडित बनेकाहरुको सहयोगका लागि अष्ट्रेलियावासी नेपालीहरुमा आह्वान गर्दै नेपालको विपत्तिमा एकजुट हुन आग्रह गरेको छ । अष्ट्रेलियाका सबै राज्यहरुमा रहेका आफ्ना कमिटीहरुमार्फत सहयोग संकलनलाई तिव्रता दिइने एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले बताउनुभयो । “हरेक राज्यमा रहेका एनआरएन अष्ट्रेलिया राज्य समितिका संयोजकहरुलाई नै यस कार्यको लागि पनि संयोजन गर्ने जिम्मा दिईएको छ । विगतमा जस्तै यस पटक पनि नेपालमा आइपरेको प्राकृतिक विपत्तिमा हामी सबै नेपालीले साथ रहनेछ । देशलाई दुख्दा हामीलाई पनि दुख्छ, त्यसैले यो अभियान थालेका हौं ।” यसैगरी एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले एनआरएनए अष्ट्रेलियाको खाता नम्बर ०३२००६३०७९८२ मा आफ्नो नाम उल्लेख गरेर सहयोग रकम जम्मा गर्न अष्ट्रेलियावासी नेपाली समूदायलाई आह्वान गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया