बादलले पार्टी छाडे, कार्यालय छोडेनन्

काठमाडौं ९ जेस्ठ

–नेकपा क्रान्तिकारी माओवादी विभाजन गरेका नेता रामबहादुर थापा बादलको समूह नेकपा माओवादी केन्द्रमा एकीकृत भएको छ । तर, बहुमत सदस्यसहित बाहिरिएका बादलले पहिलेको पार्टी कार्यालय भने छाडेका छैनन् ।

नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ । अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित गरेका थिए । त्यसपछि उनी वैद्यलाई छाडेर पार्टी एकतामा गएका थिए ।

भाडाको घर भए पनि बुद्धनगरको कार्यालयले राजनीतिक महत्त्व बोकेको भन्दै बादल पक्षले नछाड्ने जनाएको छ । बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले कार्यालय पनि आफ्नै हुने भन्दै उसले वैद्य पक्षलाई कार्यालय सार्न आग्रह गर्ने भएको छ ।

नेता सावित्रीकुमार काफ्लेले जनवादी केन्द्रीयतालाई मान्ने हो भने बहुमतका आधारमा कार्यालय आफूहरूको भएको बताए । ‘किरणजीहरूलाई केही दिनका लागि मात्रै यहाँ कार्यालय सञ्चालन गर्न दिएका हौँ,’ काफ्लेले भने, ‘नैतिकता हुने हो भने उहाँले अल्पमतमा परिसकेपछि पार्टी कार्यालय र पार्टीको नामसमेत छाड्नुपर्छ ।’ वैद्यले आवश्यक ठानेमा कार्यालयका फर्निचर दिन सकिने बादल पक्षको भनाइ छ ।

‘हामी कार्यालय छाड्दैनौँ,’ काफ्लेले भने । तर, वैद्य पक्षका सचिवालय सदस्य रामसिंह श्रीषले कार्यालयका विषयमा कुराकानी नै नभएको बताए । ‘उहाँहरू अर्को पार्टीमा मिसिन गइसकेपछि कार्यालयका विषयमा विवाद गरेर के अर्थ रहला र रु’ उनले भने ।

कार्यालयको दोस्रो तलामा वैद्य र नेता सिपी गजुरेलको कोठा छ । पहिलो तलामा भने बादल, देव गुरुङलगायत नेताको कोठा छ । ‘माथिल्लो तलामा रहेका नेताहरू एकातिर र तल्लो तलामा रहेका नेताहरू एकातिर रहेका कारण पनि अहिले फ्ल्याट भाडामा लिएर बसेकोजस्तो र सहज देखिएको छ,’ वैद्य पक्षका एक नेताले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

– See more at: http://www.ratopati.com/aakhabar/51827/#sthash.QnFo3dYf.dpuf

फेसबुकबाट तपाईको प्रतिक्रिया