बिहीवारदेखि बन्द शेयर बजार आजदेखि खुल्ने

काठमाडौं १८ असार  ।

बिहीवारदेखि बन्द रहेको धितोपत्र बजार आइतवार देखि खुल्ने भएको छ । धितोपत्र दलालहरूको कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयपछि कारोबार नै बन्द गरेर विरोधस्वरूप आन्दोलनमा उत्रिएको स्टक ब्रोकर एशोसिएशन अफ नेपाल र सरकारबीच सहमति भएपछि कारोबार खुल्ने भएको हो ।

करदाता सेवा कार्यालयले बुधवार केही ब्रोकर कम्पनीलाई विगत ४ आर्थिक वर्षदेखिको भ्याट बुझाउन पत्र लेखेपछि ब्रोकर एशोसिएशनले बिहीवारको कारोबार बन्द गराएको थियो । शुक्रवार एशोसिएशन र अर्थ मन्त्रालयका राजस्व सचिवबीच भएको छलफलमा व्यवसायीहरूको समस्या समाधान गर्ने सहमति भएको एशोसिएशनका महासचिव सन्तोष मैनालीले बताए ।

एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मीका अनुसार उक्त छलफलमा अर्थ मन्त्रालयले हालसम्म भएको बेरुजु फछ्र्योट गर्न प्रक्रियाअनुसार फाइल अघि बढाउने र अब कसरी तथा कहिलेदेखि जाने भन्ने विधि तय नभएसम्म ब्रोकरले यथास्थिति अनुसार काम गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि शुक्रवार दिनभर एशोसिएशनले नेप्से, नेपाल धितोपत्र बोर्ड र आन्तरिक राजस्व विभागसँग छलफल गरेको थियो ।

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले अर्थ मन्त्रालयले अहिले कारोबार सुचारू गर्दै गर्न र विवादको विषय छलफलबाट टुङ्ग्याउन भनेकाले ब्रोकरहरूलाई पनि सोही जानकारी दिइएको बताए । आजको अभियान दैनिकमा खबर छ

उक्त जानकारीपछि ब्रोकरहरू कारोबार खोल्न सकारात्मक भएको उनको भनाइ छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ कार्यालयबाट काम शुरू भएको औपचारिक उद्घाटनको कार्यक्रममा उनले यस्तो बताएका थिए । कारोबार बन्द हुँदा पर्न गएको असुविधाप्रति ब्रोकर एशोसिएशनले दुःख व्यक्त गरेको छ । उसले सहमति भएअनुसार समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया