बेपत्ता अल्ट्रालाइट विमान एक वर्षपछि फेला परेपछि….

पोखरा २९ कार्तिक

एक वर्षअघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट (विमान) आइतबार फेला परेको छ।  विसं २०७२ असोज २१ गते पोखरा विमानस्थलबाट उडेपछि हराएको सो अल्ट्रालाइट माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोँचमा टुक्राटुक्रा परेको अवस्थामा फेला परेको हो।  समुन्द्री सतहदेखि करिब १२ हजार फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा अल्ट्रालाइट फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए।  उनका अनुसार पोखरा विमानस्थलबाट उडेको ९ एन एउल आई कलसाइनको अल्ट्रालाइटलाई रसियन पाइलट ५० वर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए भने दक्षिण अफ्रिकी महिला ४० वर्षीया एलिजावेथ वेल त्यसमा यात्रारत थिइन्।  शरिरको हड्डी, खप्पर तथा दाँत र जहाजको पाङ्ग्रासहित केही भाग सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। अल्ट्रालाइटको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको अवस्थामा फेला परेको छ भने मानव कङ्काल वरपर छरिएको अवस्थामा सङ्कलन गरेर ल्याइएको हो।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरा विमानस्थलको संयुक्त टोलीले हेलिकप्टरमा गएर अल्ट्रालाइट र मानव कङ्काल सङ्कलन गरी ल्याएको र डिएनए परीक्षण गरी कङ्काल आफन्तलाई बुझाइने प्रवक्ता बज्राचार्यले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया