‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार


काठमाडौं ७ फागुन २०८१ । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो ।
करिब ३४ करोड लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा ७० लाख र दोस्रो चरणमा रु साढे दुई करोड गरी रु तीन करोड २० लाखको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो । उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै रु ७० लाखको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ ।

पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो । गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको छ ।
दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको छ । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाख बजेट विनियोजना गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको छ । समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे«, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया