भारत विश्वकै ठूलो दूध उत्पादक बन्दै

जेनेभा  २८ असार ।

भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक राष्ट्र बन्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य एवम् कृषि सङ्गठन (एफएओ) र आर्थिक विकास तथा सहयोगका लागि सङ्गठन (ओईसीडी)ले तयार पारेको ‘एग्रिकल्चरल आउटलुक २०१७–२०२६’ शीर्षकको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । प्रतिवेदनअनुसार सन् २०१७ देखि सन् २०२६ सम्मको दशकमा विश्वको जनसङ्ख्या ७ अर्ब ३० करोडबाट बढेर ८ अर्ब २० करोड पुग्नेछ । कुल जनसङ्ख्यामा भारत र उपसहारा अफ्रिकाको अंश ५६ प्रतिशत हुनेछ । सो अवधिमा भारतको जनसङ्ख्या करीब २० करोडले बढी १ अर्ब ५० करोडमा पुग्नेछ ।

सन् २०२६ सम्ममा भारतले चीनलाई उछिनेर सबैभन्दा धेरै जनसङ्ख्यायुक्त देश बन्नेछ । उच्च जनसङ्ख्या वृद्धिका कारण भारत र उपसहारा अफ्रिकी देशले विश्वव्यापी मागमा उच्च वृद्धिमा योगदानसमेत दिनेछन् । प्रतिवेदनअनुसार २१ औं शताब्दीको एक चौथाइ समय व्यतीत  हुँदासम्म भारतको दूध उत्पादन झण्डै तेब्बर हुनेछ । ‘समीक्षा अवधिमा भारतको दूध उत्पादक ४९ प्रतिशतले बढ्नेछ, सो अवधिमा भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक हुनेछ, यसको उत्पादन अहिलेको दोस्रो ठूलो उत्पादक यूरोपेली सङ्घको भन्दा एकतिहाइ धेरै हुनेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१७ देखि सन् २०२६ सम्मको अवधिमा विश्वको गहुँ उत्पादन ११ प्रतिशतले बढ्नेछ । सो अवधिमा गहुँ खेती हुने क्षेत्रमा भने १ दशमलव ८ प्रतिशतले मात्रै वृद्धि हुनेछ । सो अवधिमा १५ मेट्रिक टनसहित गहुँ उत्पादनको वृद्धिमा भारतले सबैभन्दा धेरै योगदान दिनेछ ।

पाकिस्तान र चीनले समेत यसमा ६ मेट्रिक टन र ५ दशमलव ५ मेट्रिक टनको योगदान दिने बताइएको छ । समीक्षा अवधिमा धान उत्पादनसमेत ६६ मेट्रिक टन बढ्ने अनुमान छ । सो अवधिमा भारत, इण्डोनेशिया, म्यानमार, थाइल्याण्ड र भियतनामको धान उत्पादनमा उच्च वृद्धि हुने बताइएको छ । अघिल्लो दशकमा उच्च रहेको विश्वव्यापी खाद्य वस्तुको मूल्य आउँदो दशकमा न्यून रहने प्रतिवेदनमा भनिएको छ । उदीयमान बजारमा खाद्य वस्तुको मागवृद्धि सुस्त रहने र खाद्य बजारमा जैविक इन्धन नीतिले पार्ने प्रभाव घट्दा खाद्य वस्तुको मूल्य न्यून रहने अनुमान गरिएको हो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया